अपाङ्गता भएका व्यक्तिलाई विपद्मा कसरी जोगाउने?
विपद्पछिका राहत र पुनःस्थापना चरणमा अपाङ्गता भएकाहरूको जीवनयापन सहज बनाउन विशेष प्रविधि तथा आर्थिक लगानी आवश्यक पर्छ। विपद् सामना गर्न गरिने सबै मानवीय सहायता तथा सामाजिक सुरक्षा प्रणालीलाई अपाङ्गतामैत्री बनाउन जरुरी छ।
कसैलाई जन्मंदै अपाङ्गताको दुर्भाग्य आइलाग्छ भने कसैलाई प्राकृतिक वा गैरप्राकृतिक प्रकोपका कारण जीवनको कुनै कालखण्डदेखि अपाङ्गताको सास्तीपूर्ण जीवन भोग्न बाध्य हुनुपर्छ। आफ्नो कुनै दोष नभए पनि हाम्रो समाजमा अपाङ्गता भएका मानिसले सबलाङ्गहरूबाटै थप पीडा भोग्ने गरेका छन्। समुदायमा अपाङ्गता सम्बन्धी चेतनाको अभाव र अनगिन्ती भ्रमहरू छन्।
अपाङ्गता भएकाहरूले पनि विभिन्न विभेद खप्नुपर्छ र सामान्य अवस्थामा पनि आधारभूत सुविधा विना बाँच्नु परिरहेको छ। सामाजिक बेवास्ता र अवहेलनाबाट उनीहरूको जीवन झन् कष्टकर बन्दै जान्छ। आफ्नै शारीरिक, मानसिक चुनौती त छँदै छन्, सामाजिक कुरीति र आर्थिक कारणहरू अपाङ्गता भएकाहरूलाई अनुकूल परिवेश तयार गर्न बाधक भइरहन्छन्।
सन् १९७० को दशकमा विश्वको कुल जनसङ्ख्याको करीब १० प्रतिशत अपाङ्गता भएका मानिसहरूको आँकडा अनुमान गरिएको थियो। तर सन् २०११ मा विश्व ब्यांक र विश्व स्वास्थ्य सङ्गठनले प्रकाशन गरेको अपाङ्गता सम्बन्धी प्रतिवेदनमा अपाङ्गता भएकाहरू १५ प्रतिशत पुगेकाे अनुमान गरिएको छ। ३०/४० वर्षमा अपाङ्गताको अनुपात यति धेरै बढ्नुमा प्राकृतिक प्रकोप, युद्ध र दुर्घटना लगायत मानवजन्य घटना मुख्य कारक हुन्। रोगव्याधि र प्रकोपका घटनाहरूका कारण विश्वमा विभिन्न प्रकारका अपाङ्गता भएका मानिसहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ। प्रकोपले अपाङ्ग बनाउँछ र अपाङ्गताकै कारण प्रकोपको सामना गर्न थप कठिन हुन्छ।
अपाङ्गताका कारण विपद् सामना गर्न मुख्यतः तीन किसिमले थप कठिनाइ पर्छ। पहिलो, उनीहरूलाई प्रकोप तथा तिनबाट जोगिन गर्नुपर्ने पूर्व तयारी सम्बन्धी जानकारीमा उनीहरूको पहुँच हुँदैन। देख्न, सुन्न, अरूसँग संवाद गर्न वा राम्ररी हिंडडुल गर्न नसक्ने अवस्थाका मानिसले अरूको सहयोग विना प्रकोपका बारेमा जान्न र तिनबाट बच्न अपनाउनुपर्ने आवश्यक जानकारीबाट वञ्चित हुनुपर्छ। परिणाम स्वरूप उनीहरूले प्रकोपको बारेमा उचित जानकारी नपाउन सक्छन्।
३०/४० वर्षमा अपाङ्गताको अनुपात यति धेरै बढ्नुमा प्राकृतिक प्रकोप, युद्ध र दुर्घटना लगायत मानवजन्य घटना मुख्य कारक हुन्। रोगव्याधि र प्रकोपका घटनाका कारण विश्वमा विभिन्न प्रकारका अपाङ्गता भएका मानिसहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ। प्रकोपले अपाङ्ग बनाउँछ र अपाङ्गताकै कारण प्रकोपको सामना गर्न थप कठिन हुन्छ।
दोस्रो, उद्धार तथा राहतमा उनीहरूको पहुँच कम हुन्छ र मानवीय सहायतामा छुट्ने सम्भावना बढी हुन्छ। कतिपय शारीरिक र मानसिक अपाङ्गता भएका मानिसले आफूलाई के भइरहेको छ वा के सहायता चाहिएको छ भनेर सहजै भन्न सक्ने अवस्था हुँदैन। उनीहरूको आवश्यकता सहजै बुझेर सहयोग गर्न अरूलाई चुनौती हुन्छ। विपत्तिका बखतमा अपाङ्गता भएका मानिसहरूको विशेष ख्याल गर्न र तिनलाई समयमै सहायता गर्न सहायताकर्मी तथा अन्य सेवा प्रदायकहरूले विशिष्ट किसिमका तालीम पाएका हुँदैनन्। स्रोतसाधनको कमी पनि रहन्छ।
तेस्रो, प्रकोपबाट जोगिन उनीहरूले आफन्त तथा अन्य सहयोगीसँग परनिर्भर हुनुपर्ने अवस्था हुन्छ। सामान्य जीवनयापन गर्न समेत अरूमा निर्भर हुनुपर्ने अवस्था हो अपाङ्गता। विपद् उद्धारक निकाय वा समुदायका स्वयंसेवी समूहका सदस्यहरूले अपाङ्गता भएकालाई उद्धारमा प्राथमिकता दिनु जरुरी छ। तिनलाई उद्धार गर्ने उपयुक्त तालीम, उद्धार उपकरण र पूर्वाभ्यास सहितको तयारी सहयोगी क्रियाकलाप हुन्। यसो गरिएन भने अपाङ्गहरूले प्राथमिकता नपाउने सम्भावना ज्यादा हुन्छ।
शारीरिक रूपले अशक्त मानिसहरू प्रतिकूल वातावरणीय अवस्थाप्रति बढी संवेदनशील हुन्छन्। किनभने, उनीहरूको जोखिम सामना गर्ने क्षमता कम हुन्छ। उनीहरू तन्दुरुस्त मानिसभन्दा प्रकोपबाट बढी सताइने जोखिममा हुन्छन्। घाउ लागेको औंलामा ठेसैठेस भने झैं विपद् सामना गर्न उनीहरूलाई थप कठिनाइ आइलाग्छ। अर्थात्, अपाङ्गता भएकाहरूले विपद्बाट अरूले भन्दा बढी क्षति वा दुःख कष्ट बेहोर्नुपर्छ।
प्रकोपमा अपाङ्गता भएकाहरूको मृत्युदर सामान्य अवस्थाका मानिसको भन्दा कम्तीमा दुई गुणा बढी हुन्छ भन्ने कुरा सन् २००७ मा प्रकाशित विश्वको विपद् प्रतिवेदनले यो प्रस्ट पारेको छ। सन् २००४ डिसेम्बरमा इन्डोनेशिया छेउको समुद्रमा भूकम्प गएपछि सुनामी आयो। व्यापक तहसनहस र मृत्यु गराएको थियो। अपाङ्गता भएकाहरू यसको चपेटामा परेका थिए। श्रीलङ्काको एउटा अपाङ्ग आश्रमका १०२ जनामध्ये ४१ जना मात्र बाँचे।
कतिपयले समयमै सुरक्षित ठाउँमा जानेबारे थाहै पाएनन्। थाहा भए पनि आफैं सुरक्षित ठाउँमा जान सक्ने कतिपयको क्षमता थिएन। त्यही सुनामीमा अन्दमान टापुमा पोलियो रोगका कारण पक्षाघात भएका करीब सात सय मानिसले ज्यान गुमाएको अनुमान गरिएको छ। बसेको ठाउँबाट ती आफैं सुरक्षित ठाउँमा जान सकेका थिएनन्। इन्डोनेशियाको बन्दा आचेहमा एउटा आश्रममा बसेर विभिन्न विद्यालयमा पढिरहेका अपाङ्गता भएका १४५ बालबालिकामध्ये आधाभन्दा बढीको मृत्यु भएको थियो।
समाजमा अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण र उनीहरूमाथि गरिने व्यवहारमा व्यापक सुधार हुनुपर्छ। सामाजिक चेतना र संस्कारमा परिवर्तन गरेर मात्र यो सम्भव हुन सक्छ। अपाङ्गता पूर्व जन्मको पाप कर्मको फल होइन। भ्रामक र गलत धारणाहरू हटाउन विद्यालयका पाठ्यपुस्तक, धार्मिक प्रवचन, सत्सङ्ग र तालीममा अपाङ्गताबारे सत्य कुरा समावेश गर्न जरुरी छ।
अपाङ्गता भएहरूलाई विपद्बाट बचाउन स्वयंसेवक र उनीहरूलाई उद्धार, तालीम तथा पूर्वाभ्यास गराइरहनुपर्छ। पूर्व सूचना प्रणाली भएका ठाउँमा प्रकोपको खबर पुगेपछि अरूभन्दा अगावै अपाङ्गता भएका, वृद्धवृद्धा, बालबालिका, बिरामी, गर्भिणी तथा सुत्केरीलाई सुरक्षित ठाउँमा जाने, लैजाने कार्यविधि लागू गर्नुपर्छ। अपाङ्गलाई विपद् सामना गर्न साथ दिन परिवारका सदस्य, विपद् उद्धारक, सार्वजनिक सेवाका कर्मचारी तथा आश्रयस्थलका सहयोगी संलग्न हुन्छन्। उनीहरूले अपाङ्गलाई आवश्यक पर्ने विशिष्ट सहयोग गर्ने पर्याप्त ज्ञान, सीप जान्नु र सोप्रति प्रतिबद्ध रहनु अति महत्त्वपूर्ण हुन्छ। कार्यविधिलाई नियमित रूपमा परीक्षण र सुधार गर्नुपर्ने हुन्छ।
अपाङ्गता भएका व्यक्तिलाई विपद्को अवस्थामा थप असुरक्षाको जोखिम हुन्छ। विपद्पछिका राहत र पुनःस्थापना चरणमा अपाङ्गता भएकाहरूको जीवनयापन सहज बनाउन विशेष प्रविधि तथा आर्थिक लगानी आवश्यक पर्छ। विपद् सामना गर्न गरिने सबै मानवीय सहायता तथा सामाजिक सुरक्षा प्रणालीलाई अपाङ्गमैत्री बनाउन जरुरी छ।
समाजमा अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण र उनीहरूमाथि गरिने व्यवहारमा व्यापक सुधार अर्को आवश्यकता हो। सामाजिक चेतना र संस्कारमा परिवर्तन गरेर मात्र यो सम्भव हुन सक्छ। अपाङ्गता पूर्व जन्मको पाप कर्मको फल होइन। भ्रामक र गलत धारणाहरू हटाउन विद्यालयका पाठ्यपुस्तक, धार्मिक प्रवचन, सत्सङ्ग र तालीममा अपाङ्गताबारे सत्य कुरा समावेश गर्न जरुरी छ। विपद् पूर्व तयारी, प्रतिकार्य र पुनःस्थापना चरणमा गरिने सबै कार्यहरूमा अपाङ्गता भएका व्यक्तिका विशिष्ट आवश्यकता सम्बोधन गर्न उचित कानूनी प्रबन्ध गरिनुपर्छ।
नेपालको संविधानको धारा १८, २४, ३१, ३९, ४२, ४३ र ५१ का साथै अनुसूची–८ मा स्थानीय सरकारको एकल अधिकारको सूचीमा अपाङ्गहरूका मानव अधिकार, समानता, सामाजिक न्याय, शिक्षा तथा भेदभाव विरुद्धको हक स्थापित गरिएको छ। यी हकहरू कार्यान्वयन गर्न अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ र यस अन्तर्गत बनेको नियमावली, २०७७ मा कानूनी तथा संस्थागत व्यवस्था गरिएका छन्।
नियमावलीको नियम ३७ को खण्ड (घ)ले स्थानीय तहमा हुने विपद् व्यवस्थापन सम्बन्धी गतिविधिमा अपाङ्गता भएका व्यक्तिलाई सहभागी गराउने र यसका लागि पूर्व तयारी, खोज, उद्धार, राहत र विपद् पश्चात्का अवस्थामा अपाङ्गता भएका व्यक्तिको पहुँच सुनिश्चित गर्न आवश्यक तालीम र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, गराउने कुरा उल्लेख गरेको छ। साथै, खण्ड (ङ)मा विपद् पूर्व तयारीका चरणमा गरिने सामग्रीको भण्डारणमा अपाङ्गता भएका व्यक्तिका आवश्यकतालाई समेत मध्यनजर राखी त्यस्ता सामग्रीको छुट्टै सूची बनाई भण्डारण गर्ने व्यवस्था मिलाउने नियम छ।
नेपालको विपद् व्यवस्थापन संघीय गृह मन्त्रालय र त्यस मातहतका अधिकारीहरूको तजबिजमा हुने गर्दछ। यो संस्थागत परिपाटीमा असहाय, अपाङ्गहरूलाई गर्नुपर्ने उचित व्यवहारका बारेमा यथेष्ट चेतना र प्रतिबद्धता जगाउन उचित अभिमुखीकरण नहुनाले उपयुक्त कानूनी व्यवस्थाका साथै भएका कानून लागू हुन सकेका छैनन्।
नेपाल सरकारको विपद् उद्धार तथा राहत मापदण्डमा घाइतेको निःशुल्क उपचारको व्यवस्था छ। तर, विपद् व्यवस्थापन ऐन र नियममा अपाङ्गता भएकाहरूलाई विपद्को जोखिम कम गर्न प्राथमिकता दिई आवश्यक प्रबन्ध गर्नुपर्ने अनिवार्य कानूनी व्यवस्था गरिएको छैन। राष्ट्रिय विपद् प्रतिकार्य कार्यढाँचामा समेत अपाङ्गमैत्री रणनीति र उपायहरू समावेश गरिएको छैन।
विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा निर्देशिकामा यी विषय समावेश भएका छन्, तर निर्देशिका अनुरूप योजना तर्जुमा भएको पाइँदैन। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०७७ सालदेखि मनसुन पूर्व तयारी योजना बनाउने गरेको छ। तर, यी योजनामा अपाङ्गताका सवालमा के गर्ने भन्ने विषय संलग्न छैन।
नेपालको विपद् व्यवस्थापन संघीय गृह मन्त्रालय र त्यस मातहतका अधिकारीहरूको तजबिजमा हुने गर्दछ। यो संस्थागत परिपाटीमा असहाय, अपाङ्गहरूलाई गर्नुपर्ने उचित व्यवहारबारे यथेष्ट चेतना र प्रतिबद्धता जगाउन उचित अभिमुखीकरण नहुनाले उपयुक्त कानूनी व्यवस्थाका साथै भएका कानून लागू हुन सकेका छैनन्। न त संविधानको व्यवस्था बमोजिम विपद् व्यवस्थापनको विकेन्द्रीकरण हुन सकेको छ।
सम्बन्धित तह र निकायबीच विपद् व्यवस्थापनको अधिकार, जिम्मेवारी र उत्तरदायित्वको बाँडफाँडमा सम्बन्धित अधिकारीहरूको अनिच्छा र प्रक्रियागत अवरोधले गर्दा विपद् व्यवस्थापनमा सुधार हुन सकेको छैन। जसको परिणाम अपाङ्गहरूले पाएको संवैधानिक र कानूनी अधिकारबाट वञ्चित हुनुपरेको छ।
आपत्कालीन अवस्थामा विभिन्न प्रकारले दुर्बल शारीरिक, मानसिक अवस्थामा रहेका मानिसहरूले भोग्नुपर्ने थप जोखिमबारे हरेक व्यक्ति सचेत र सजग हुन जरुरी छ। उचित कानूनी प्रबन्ध गर्ने, उद्धारकहरूलाई विशेष प्रशिक्षित गर्ने, समाजमा चेतना फैलाउने जस्ता उपायले सुधारको आरम्भ हुन सक्छ। अपाङ्गता भएकाहरूलाई न्यायोचित पुनःस्थापना गर्न स्थानीय सरकारको अग्रसरताका साथसाथै सबै तहका सरकारी निकाय, गैरसरकारी तथा निजी क्षेत्रको सहकार्य आवश्यक छ।
आपत्कालीन अवस्थामा उनीहरूको सुरक्षाका लागि हामी सबै थप जिम्मेवार बन्नुपर्छ। समाजमा सुरक्षित र संरक्षित भएर बाँच्न पाउने अपाङ्गहरूको आधारभूत अधिकार हो र उनीहरूले सो पाउने व्यवस्था गर्नु राज्य र समाजको दायित्वभित्र पर्छ।