अमूर्त कलाको आरोह
वायु, सुगन्ध, स्वाद, पीडा, सुख, दुःख, खुशी आदि देखिने चिज होइनन्। यिनीहरू अनुभूत गरिने कुरा हुन्। यी विषयलाई जब स्रष्टाले आफ्ना रचना र सिर्जना मार्फत पोख्छन्, तब त्यहाँ अमूर्त कला वा अमूर्त कृतिको जन्म हुन्छ।
तीर्थ निरौला
कला तथा साहित्यमा ‘अमूर्त’ शब्द चल्न थालेको लामो समय भइसकेको छ। साधारण भाषामा जुन वस्तु वा पदार्थको मूर्त रूप हुँदैन त्यसलाई अमूर्त भनिन्छ, अर्थात रूपविहीन पदार्थ वा वस्तु अमूर्त वा अरूपण हो। यो ‘अमूर्तता’ प्रयोग नेपाली कला क्षेत्रमा पनि हुँदै आएको छ।
कला सिर्जनामा अमूर्तताको प्रयोगको पाँच दशक बितिसकेको छ। मूर्त वा यर्थाथवादी कला सिर्जनाको परम्परा रहेको अवस्थामा अर्मूत कलाका शुरूआती दिनमा यस कलालाई कला नै होइन पनि भनियो। अचेल त अमूर्त कलाको शैली तथा धार, मूर्तिकला र वास्तुकला मात्र सीमित नरहेर ग्राफिक्स हुँदै दैनिक जनजीवनका सामग्रीमा पनि विस्तारित हुन पुगेको छ।
अमूर्त कलाका जन्मदाता रसियाका वासिली कान्डिन्स्की हुन्। जसले सङ्घर्षपूर्वक यो सिद्धान्तलाई विश्व परिवेशमा परिचत गराए।
कलामा प्रयोग हुने अमूर्त कलाले कलाकारको अन्तरचक्षु र दर्शकको भावनालाई सम्बोधन गर्छ। देखिने वस्तु वा पदार्थभित्र निहित अनुभूतिजन्य संवेग र भाववेशी ज्वारवेगलाई यसले उजागर गर्छ।
वायु, सुगन्ध, स्वाद, पीडा, सुख, दुःख, खुशी आदि देखिने चिज होइनन्। यिनीहरू अनुभूत गरिने कुरा हुन्। यी विषयलाई जब स्रष्टाले आफ्ना रचना र सिर्जना मार्फत पोख्छन्, तब त्यहाँ अमूर्त कला वा अमूर्त कृतिको जन्म हुन्छ।
रसियन कलाकार वासिली कान्डिन्स्कीको कलाकृति।
अमूर्त कलाको जन्म फोटोग्राफीको आविष्कारपछि भएको हो। कम समयमा, कम खर्चमा प्राकृतिक, वस्तु वा व्यक्तिको प्रतिलिपि फोटोले सजिलै उतार्ने भएपछि कलाकारहरू आन्दोलित बने र आफ्नो अन्तर्भावलाई कसरी दर्शक समक्ष पुर्याउने भनेर नयाँ माध्यमको खोजी गर्न थाले। यही क्रममा अमूर्त विधाले जन्म लिन पुग्यो। जसको श्रेय कान्डिन्स्कीलाई जान्छ।
सन् १८६६ मा मस्कोमा जन्मेका उनी चिया व्यापारीका छोरा थिए। उनी प्रकृतिसँग रमाउन मन पराउँथे। शुरूआती दिनमा उनले विभिन्न शैली र वादका चित्र बनाए।
पूर्ण रूपमा अमूर्त कलाकै धारमा सन् १९१३ देखि बनाउन शुरू गरेका थिए। उनको कलामा सङ्गीतको प्रभाव हुन्थ्यो। कान्दस्कीको विचारमा उनको चित्रको रेखा र रङ एक ध्वनि हो। प्राध्यापनमा पनि संलग्न कान्डिन्स्कीका केही पुस्तक प्रकाशित छन्। कन्सर्निङ द स्पिरिचुअल इन आर्ट पुस्तकमा उनले अमूर्त कला र यसको सिद्धान्तको व्याख्या गरेका छन्। कान्डिन्स्कीका समकालीन कलाकारहरूमा वान डोस वर्ग र मोन्डियान हुन्। उनको मृत्यु ७८ वर्षको आयुमा भएको थियो।
रसियन कलाकार वासिली कान्डिन्स्कीको कलाकृति।
अमूर्तवाद कलामा उत्रिन थालेपछि नै साहित्य क्षेत्रले यसलाई अङ्गीकार गरेको हो। विश्वमा अमूर्त चित्रलाई विभिन्न किसिमका दर्शकले आआफ्नै किसिमले हेर्ने, बुझ्ने र अनुभूति लिने गर्छन्।
जसले जसरी वा जुनै शब्दमा अभिव्यक्ति पोखे पनि आखिर अमूर्त कलामा स्वरूप हुँदैन। अमूर्त कलामा मान्छे होइन, मान्छेको अमूर्त परिवेश कोरिन्छ। फल होइन, फलको अमूर्त स्वाद दिइन्छ। हिउँ वा हिमाल होइन, कठ्याङ्ग्रिएको जाडोको अमूर्त स्वरूप सजाइन्छ।
साहित्य र अन्य विधामा अमूर्त मान्यताको प्रयोग कहिलेदेखि र के कसरी छरिएर रहेको छ त्यो किटेर भन्न सकिन्न, तर चित्रकलामा भने अमूर्तता सन् १९०१ को कान्डिन्स्कीको कला सङ्घर्षको समयदेखि भएको हो।
जीवनको अन्तिम अवस्थासम्म प्रायोगिक दृष्टिकोण र नयाँ खोजमा नै सङ्घर्षरत र क्रियाशील भएका कान्डिन्स्कीले कलाको पूर्णकालीन यात्रा ३० वर्षको उमेरपछि मात्र थालेको हुन्। उनले सन् १८९२ मा कानूनमा स्नातक गरेपछि आफ्नो कानूनी पेशालाई त्यागेर कला खोजमा लागे।
कलाको खोजीमा लागेका कान्डिन्स्की फ्रान्सका प्रभाववादी कलाकार मोनेको मास्कोमा भएको कला प्रदर्शनीबाट अत्यन्तै प्रभावित मात्र भएनन्, अभिव्यक्तिको नयाँ आयाम खोज्न सकिने सम्भावनाबारे पनि विश्वस्त भए। यही वेलादेखि उनमा प्रायोगिक चेतनाको प्रभाव पर्न थाल्यो।
उनी म्युनिच शहरमा कला अध्ययन गर्न थाले। उनको तीक्ष्ण बुद्धि देखेर सहपाठीहरू ईर्ष्या गर्थे र घमण्डी पनि भन्थे। उनी दिनरात काम गर्दै गए र निरन्तरको अभ्यासपछि सफलता हासिल गरे। अन्ततः उनी कहिल्यै भुल्न नसकिने विश्वप्रसिद्ध सिद्धान्तकार बने र विश्व कलाको दुनियाँमा अमूर्तवादका जन्मदाता कहलिए।
सागर मानन्धरको कलाकृति।
यति वेलै उनी केटीसाथी जेब्रिलसँग इटाली, पेरिस, स्वीट्जरल्यान्ड, अफ्रिका, अमेरिका लगायत थुप्रै मुलुक घुमे। उनलाई पैसाको खाँचो थिएन। यसरी विभिन्न देश घुम्ने क्रममा उनमा नयाँ नयाँ अनुभूति र आत्मबोध प्राप्त हुँदै गयो।
शुरूका दिनमा साथीहरूले विश्वास नगरे पनि समालोचकलाई राम्रो खुराक बनेको थियो। लेखकहरूले अमूर्त कलामाथि खूब लेखे। कामको गम्भीर प्रचारले क्रमशः वासिली कान्डिन्स्कीको प्रभाव समाजमा झन् झन् उकालो चढ्दै गयो। ख्याति चुलिंदै गयो। विश्वको आँखा उनीमाथि जम्न थाल्यो।
चर्चाको शिखर चुम्दै जाँदा उनले सङ्गीत धुन र ज्यामितीय स्वरूपलाई अमूर्त ढाँचामा रङ्ग्याउन थाले। उनको नयाँ शैलीका कामहरू देश विदेशमा प्रदर्शनी हुन थाले।
कान्डिन्स्कीको समयमा देशको शान्ति अवस्था ठीक थिएन। युद्धमय वातावरणले परिस्थिति सोचे जस्तो सामान्य नभए पनि सन् १९१८ मा उनी 'भिजुअल आर्टस् सेक्सन इन द पिपुल्स कमिसरियट' मा सदस्य बनाइए। त्यसै समय उनको सहभागितामा २२ वटा म्यूजियम स्थापना भए। र, दुई ठूला इन्स्टिच्यूट स्थापना भए। तर, इन्स्टिच्यूटलाई दीर्घकालीन बनाइएन।
कम्युनिष्ट सरकारको उतारचढावका कारण चल्दै गरेका इन्स्टिच्यूट बन्द भए। जसले कान्डिन्स्कीलाई ठूलो चोट पुर्यायो। बिरक्तिएका उनी जर्मनी पुगे। आफ्नी श्रीमती नीना एन्डिअस्कोसँग जर्मनीमा बस्दा साथी कलाकार पल लीले उनलाई धेरै सहयोग गरेका थिए।
जीवन राजोपाध्यायको कलाकृति।
जीवनको अन्तिम अध्यायमा उनी राजनीतिक कारणले जर्मनीबाट फ्रान्स पुगे र यसै ठाउँमा सिर्जनशील रही जीवन बिताउँदै जाँदा 'स्क्लेरोसिस' रोगको शिकार भए। अन्ततः उनलाई यही रोगले थिलथिलो पार्दै चुँडेर लग्यो।
नेपालमा अमूर्त कला
नेपालमा सर्वप्रथम २०१२ सालतिर गेहेन्द्रमान अमात्यले यो शैलीमा काम गरेका थिए। २०१६ सालमा उर्मिला गर्गले यस्तो कामको प्रदर्शन गरिन्। फ्रान्सबाट विधिवत् अध्ययन गरी नेपाल फर्किएका कलाकार लैनसिंह बाङ्देलले २०१९ सालमा अन्तर्राष्ट्रिय मान्यता अनुकूलको अमूर्त चित्र बनाई प्रदर्शनी गरेर इतिहास रचे।
गेहेन्द्रमान अमात्यको कलाकृति।
दार्जीलिङमा सन् १९१९ मा जन्मेका बाङ्देलको ककनीमा सम्पन्न भएको कार्यशाला एक उदाहरणीय कर्म थियो, जहाँ सिद्धिचरण श्रेष्ठ, गेहेन्द्रमान अमात्य लगायतको सहभागिता थियो। यसपछि आर्ट काउन्सिलमा एकल कला प्रदर्शनी भयो। बाङ्देलले सरस्वती सदनमा २०१९ सालमा नेपालमा पहिलो उल्लेख्य एकल अमूर्त कला प्रदर्शनी गरेका थिए।
शुरूआतका दिनमा गणेश मुखाकृतिमा कलाकारिता गर्ने उत्तम नेपालीका पछिल्ला सम्पूर्ण कृतिहरू अमूर्ततामा रङ्गिने गरेका थिए। २०४८–४९ सालतिरको सिर्जना ग्यालरीमा सम्पन्न उनको एकल कला प्रदर्शनीका चित्रहरूको शीर्षक ‘जिरो आवर’ राखिएको थियो। प्रायः बिन्दुमय बिम्ब उनका चित्र क्यानभासभित्र अटाउने गर्छन्। सपाट रङ र रेखाका लय घुमेका हुन्छन्।
कलाकार विजय थापा पूर्ण अमूर्तवादी कलाकार होइनन्। उनका प्रायः चित्रहरू अर्धअमूर्त शैलीमा सिर्जित भएका देखिन्छन्। उनका कलामा अर्धविषयवस्तुको छनक भेटिन्छ।
कलाकार कृष्ण मानन्धरका चित्रमा प्रकृति र सङ्गीतका लाक्षणिक अर्धआकार कोरिएका पाइन्छन्। प्रकृतिलाई अर्धअमूर्त शैलीमा ढाल्न सक्नु उनको चित्रका विशेषता हुन्। शुरूआतका दिनमा प्रकृतिको चित्र कोर्दै आएका जीवन राजोपाध्याय अहिले पूर्ण अमूर्त कलामा काम गरिरहेका छन्।