झ्याप्प–झ्याप्प बत्ती किन जान्छ? घिसिङ भन्छन्– ट्रान्सफर्मरले लोड धानेन
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माग एक्कासि बढेकाले घरिघरि बत्ती जाने समस्या देखिएको बताएका छन्।
शुक्रबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले यो वर्ष मात्र काठमाडौं उपत्यकामा करीब १०० मेगावाट विद्युत्काे माग बढेको बताएका हुन्।
“माग बढ्नु स्वाभाविक हो, बढ्ने अनुमान पनि थियो,” उनले भने, “तर, एकै पटक अत्यधिक माग हुँदा प्रणालीमा समस्या देखिएको हो।” घिसिङले विद्युत् पर्याप्त भएको हुँदा सक्दो खपत गर्न आग्रह पनि गरे।
घिसिङले यो ठूलो समस्या नभएको र समस्या देखिएको स्थानमा समाधान गर्दै गइरहेको बताए। उनका अनुसार, हाल काठमाडौं उपत्यकामा ‘पिक आवर’मा विद्युत्काे माग झण्डै ५०० मेगावाट पुग्छ।
माग बढेपछि फिडर लाइन र ट्रान्सफर्मरमा समस्या देखिने घिसिङले बताए। उपत्यकामा करीब ३८ सय ट्रान्सफर्मर रहेको र ५०–६० वटामा समस्या देखिएको उनको भनाइ छ।
‘पिक आवर’, त्यो पनि बेलुका २ घण्टाको समयमा अत्यधिक माग भए पनि रातको समयमा काठमाडौं उपत्यकाको विद्युत् माग १०० मेगावाटमा झर्छ।
उपत्यकामा धेरैजसो ट्रान्सफर्मर २०० केभीएका छन्। माग बढेका स्थानमा ३०० केभीएका ट्रान्सफर्मर राख्न थालिएको घिसिङले बताए। उनले भने, “३०० केभीएले पनि नधान्ने अवस्था आएको ठाउँमा दुई वटा ट्रान्सफर्मर जडान गरेका छौं।” माग घटबढका कारण वेलावेला बत्ती जाने गरेकोमा घिसिङले माफी समेत मागे।
धेरै माग हुनु सकारात्मक भएको भन्दै कार्यकारी निर्देशक घिसिङले यो गुणस्तरीय विद्युतीकरणको लागि अवसर भएको बताए। उनले भने, “हामीले चार वर्षदेखि काठमाडौं उपत्यकामा २००० मेगावाटको माग धान्ने गरी काम गरिरहेका छौं।”
गुणस्तरीय विद्युत्कै लागि काठमाडौं उपत्यकाका नौ स्थानमा सबस्टेशन निर्माणको काम भइरहेको घिसिङले बताए।
घिसिङले हिउँदको समयमा काठमाडौं उपत्यका लगायत पहाडी भेगमा र गर्मीमा तराई भेगमा विद्युत्काे माग बढी हुने बताए।