‘प्रचण्डजीले महाधिवेशन हलमा कान समातेर उठबस गर्नुपर्थ्याे ’
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनबारे विभिन्न टिप्पणी भइरहेका छन्। दाहालसँग लामो समय एउटै कमिटीमा रहेर काम गरेका नेता गोपाल किराती भने यो प्रतिवेदनको शीर्षकसँगै सहमत छैनन्। उनी भन्छन्, “प्रतिवेदनको साङ्गोपाङ्गो पढ्दा यसको शीर्षक ‘एक्काइसौं शताब्दीमा नेपाली समाजवादको संसदीय र दलाल पूँजीवादको बाटो’ भने हुन्छ।"
दाहाल आत्मालोचित भएको भनिएको प्रतिवेदन भूतकालमा सीमित भएको किरातीको टिप्पणी छ। माओवादी कम्युनिष्ट पार्टी नेपालको अध्यक्ष रहेका किरातीसँग हिमालखबरले गरेको संवादको सम्पादित अंशः
नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले विगतका गल्तीप्रति आत्मालोचना गरेका छन्, अब तपाईंहरू मिल्ने सम्भावना छ?
आत्मालोचना ठीक छ, तर भूतकालका लागि मात्र। दाहालको आत्मालोचनाले माओवादी केन्द्र भूतकालमा बाँच्न खोजेको देखिन्छ। तर, कम्युनिष्ट पार्टी भविष्यका लागि बाँच्नुपर्छ। हिजो यो–यो कारणले बिग्रियो भन्ने कुरा भूतकालका लागि ठीक छ। भविष्यका लागि त्यसको कुनै औचित्य छैन। उहाँको प्रतिवेदनमा एक्काइसौं शताब्दीमा नेपाली समाजवादको बाटो शीर्षक राखिएको छ। तर, त्यसको खास अर्थ एक्काइसौं शताब्दीमा नेपाली समाजवादको संसदीय र दलाल पूँजीवादको बाटो हो।
दाहाल आत्मालोचना गर्ने ठाउँमा कसरी पुगे होलान्?
पूँजीवादी पार्टीका नेताहरूले आत्मालोचना गर्नु पर्दैन, किनभने कार्यकर्तालाई खर्चपर्च व्यवस्थापन गरिदिएको हुन्छ। साम्यवादी तथा कम्युनिष्ट पार्टीमा त्यो गर्न सकिंदैन। गल्ती कमजोरी गरिएकामा आत्मालोचना गर्नुपर्छ नभए पार्टी सुधार हुँदैन। कार्यकर्ता-नेताबीच सम्बन्ध सुधारको अन्य उपाय हुँदैन। तर, अहिले आएर दाहालले किन गर्नुभयो? यो मूल प्रश्न हो।
अहिले उहाँ त्यसो गर्न बाध्य हुनुहुन्छ। खर्चले सबैलाई खरीद गर्न पनि पार नलाग्ने, उहाँले जे चिताएर केपी ओलीलाई लगेर पार्टी बुझाउनुभयो र माओवादी छोड्नुभयो।हामी माओवाद छोड्न सकिंदैन भनेर गएनौं। पार्टी पुनर्गठनको प्रक्रियामा लाग्यौं। तर, निर्वाचन आयोगले हाम्रो नाम खाइदियो। उहाँले माओवादी केन्द्रलाई विघटन गरेर, त्यागेर जानुभएको हो। तर, अदालतले बोकाइदियो। अहिले छोड्न पनि मिलेन। त्यसो हुनाले उहाँका लागि माओवादी केन्द्र चरम अनिच्छाको पार्टी हो। कार्यकर्तालाई देखाउन उहाँले त्यसो गर्नुभएको हो।
दाहालले त माओवादीलाई कांग्रेस र एमालेभन्दा फरक पार्टी बनाउँछु भनेका छन् नि?
प्रचण्डजीले जे भन्दै र गर्दै हुनुहुन्छ त्यो गलत हो। यदि उहाँले भनेकै गर्नुहुन्थ्यो भने त देश र जनतासँग सार्वजनिक आत्मालोचना गर्नुपर्थ्यो। र, महाधिवेशन हलमा नहुने काम गरियो भनेर कान समातेर उठबस गर्नुपर्थ्यो। हामीले त्यो सुझाव पनि दिएका थियौं। यो त केवल कार्यकर्तालाई भुलाउने दाहालको एउटा ‘ट्याक्टिस’ मात्र हो र अझै उहाँ माओवादी छोड्ने तयारीमा हुनुहुन्छ। उहाँको प्रतिवेदनले माओवादी छोडेर हिंड्न ठूलो ठाउँ राखिदिएको छ। त्यसै गरी सर्वहारा वर्गको सांस्कृतिक रूपान्तरणको प्रतिबद्धता आउनुपर्थ्यो। संविधानको पुनर्लेखन गर्ने कुरा प्रतिवेदनमा आउनुपर्थ्यो। त्यो पनि छैन।
त्यसै गरी देशद्रोही एमसीसी खारेज गर्ने प्रतिबद्धता आउनुपर्थ्यो। परिमार्जन भन्नुभएको छ। उहाँले भन्दै आउनुभएको उत्तराधिकारी र नेतृत्व हस्तान्तरणको विषयमा पनि उहाँ मौन हुनुहुन्छ। जुन कुरा आउनुपर्थ्यो त्यो नआएपछि उहाँहरू क्रान्ति चाहनुहुन्न भन्ने पुष्टि हुन्छ।
सर्वोच्च अदालतको आदेशपछि दाहाल पुरानै अवस्थामा आए, एमालेसँग गरिएको एकता पनि टुङ्गियो। तर पनि, किन एक ठाउँमा बस्नुभएन?
सप्रेको दाहाल भएको भए हामी आयौं भनेर दगुर्दै जान्थ्यौं। तर, बिग्रेको प्रचण्ड भएको हुनाले हामी गएनौं।
दाहालले त अब हामी सुध्रिन्छौं भनेका छन् नि?
उहाँले प्रस्तुत गर्नुभएको प्रतिवेदनबाट उहाँ सुध्रिएको देखिन्न। यदि माओवादी केन्द्र सुधार गर्ने हो भने डाक्टरले मेजर अप्रेशन गर्नुपर्छ। अहिले त धामीझाँक्रीले झारफुक मात्र गर्ने काम भएको छ।
दाहालले त नेतृत्वमा बस्ने मेरो चाहना होइन। बाध्यताले अध्यक्ष बनेको हुँ भनिरहेका छन् नि?
त्यसो भए दाहाल बाहेक सबै त्यहाँ सदस्य बन्न मात्रै भर्ती भएका हुन् त? उनीहरूसँग सदस्य मात्रै हुने योग्यता छ। दाहाल मालिक र अरू सबै दास हुन्? मैले छोड्नै लागेको थिएँ, तर छोड्नै दिएनन् भन्नु रमाइलो कुरा हो। तर, मार्क्सवादी तर्क होइन। उहाँ पद छोड्न चाहनुहुन्न।
अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन हेर्दा क्रान्तिपछि प्रतिक्रान्ति देखिन्छ। त्यसका विविधमध्ये एउटा कारण पार्टी प्रमुखले राज्यसत्ता प्रमुख बनेपछि नमर्दासम्म पदमा बसिरहनु हो। नमर्दासम्म पदमा बस्ने र मरेपछि प्रतिक्रान्ति भएको देखियो। माओत्सेतुङ, लेनिनको मृत्युपछि पनि त्यही भएको देखिन्छ।
२०६४ को चुनाव हुनु ठीक १० दिन अगाडिसम्म पनि मतदानमा जाने कि नजाने भन्ने निधो थिएन। म उम्मेदवार भएर भोट माग्दै हिंडिरहेका वेला प्रचण्डजीको फोन नलागेपछि सोलुखुम्बुबाटै बाबुरामजीलाई फोनमा भोट हाल्ने कि नहाल्ने भनेर सोधेको थिएँ। वास्तवमा त्यति वेला जिम्मा नलिईकन चुनाव भाँड्ने भयानक योजना बनेको थियो।
सर्वहारा भनिनेहरू भन्दा यो मामिलामा पूँजीपतिहरू अगाडि देखिएका छन्। जस्तो अमेरिकामा एउटै व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति बन्न पाउँदैन। यसरी उनीहरूले आफूलाई बचाएका छन्। मुख्य र स्थापित नेता जीवित र सक्रिय हुँदै नेतृत्व हस्तान्तरण गर्नुपर्छ। र, मुख्य नेता वैचारिक काममा लाग्नुपर्छ। यो ३०–३५ वर्षमा पनि उत्तराधिकारी निर्माण गर्न नसक्नु त उहाँको समस्या हो नि त। दाहाल सिकिस्त बिरामी हुनुभयो वा निधन भयो भने माओवादी विघटन हुन्छ? हुँदैन। त्यसकारण म नै नेतृत्वमा बस्नुपर्छ भन्ने उहाँको अवैज्ञानिक र अमार्क्सवादी तर्क हो भन्ने हामीलाई लाग्छ। प्रचण्डजीको राजनीतिक प्रतिवेदन चिडियाखानाको समाजवाद वा समाजवादको चिडियाखाना हो। चिडियाखानामा को बस्छ? त्यहाँका सबै साथीहरूको जीवन चिडियाखानामा बस्न लायक हो त?
दाहालले नेतृत्वका लागि अघि बढ्नुस् भन्दा अरू सदस्यले नै नमानेको तर्क छ नि?
२०७१ सालमा बाबुराम भट्टराईलाई भन्नुभएको हो रे। बाबुरामजीले एक पटक केन्द्रीय समितिको बैठकमा मूल नेतृत्वमा बसेर काम गर्ने चाहना छ पनि भन्नुभएको थियो। तर, राम्रोसँग भन्नुभएन होला।
महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा चारबुँदे आत्मालोचना गरिएको छ। यहाँको बुझाइमा माओवादीले बाटो बिराएको कुन बिन्दुबाट हो?
मुखमा संविधान, दिमागमा विद्रोह भन्नु गलत थियो भन्ने विवेचना सही हो। त्यो मोहन वैद्य र नेत्रविक्रम चन्दहरूलाई तिमीहरूले गर्दा बिग्रियो भन्नुभएको हो। यो २०६४ साउनमा बालाजुमा बसेको बैठकको निर्णय हो। शान्ति प्रक्रियामा आइसकेपछि विद्रोहमा जान आवश्यक र जरुरी थिएन। किनभने, हामी संविधानसभामा जाँदै थियौं। पार्टी ज्यादै अनुशासित भएकाले हामी पनि चूप लागेर बस्यौं।
२८ चैत २०६४ को चुनाव हुनु ठीक १० दिन अगाडिसम्म पनि मतदानमा जाने कि नजाने भन्ने निधो थिएन। म उम्मेदवार भएर भोट माग्दै हिंडिरहेका वेला प्रचण्डजीको फोन नलागेपछि सोलुखुम्बुबाटै बाबुरामजीलाई फोनमा भोट हाल्ने कि नहाल्ने भनेर सोधेको थिएँ। वास्तवमा त्यति वेला जिम्मा नलिईकन चुनाव भाँड्ने भयानक योजना बनेको थियो। यो कुराको वाईसीएलका टीम कमान्डरहरूलाई सङ्केत गरिएको पनि थियो।
२०६६ सालमा माधव नेपाल प्रधानमन्त्री भएका वेला गरिएको हडताल बेकार थियो। त्यो हडतालदेखि पार्टी विघटनमा गयो। सिपी गजुरेलले भोजपुरको ट्याम्केका यसरी कब्जा गर्ने भन्दा हामी हाँस्यौं पनि। कति कार्यकर्ता त रिसाए पनि। अधिकतम प्रगतिशील संविधान जारी गर भनेर हडताल गरेको भए परिस्थिति बेग्लै हुने थियो। 'कठपुतली सरकार राजीनामा दे' भनेर हडताल गर्नाले लाखौं कार्यकर्ताले दुःख पाए र रित्तो हात फर्कनुपर्यो। पार्टी विघटन त्यहींबाट शुरू भयो।
वैद्य र विप्लवमा वाम विसर्जनवाद देखियो। संविधान बनेपछि बाबुराम मार्क्सवाद छोडेर जानुभयो। त्यो चाहिं दक्षिणपन्थी अवसरवाद हो। प्रचण्डले माओवादी केन्द्र लगेर केपी शर्मा ओलीको भाँडामा हालिदिनुभयो। वाम विसर्जनवादबाट शुरू भएको माओवादी पार्टी विघटनले प्रचण्ड र बाबुरामको दक्षिणपन्थी विसर्जनवादमा पुगेर पूर्णता पायो।
२०६६ सालमा माधव नेपाल प्रधानमन्त्री भएका वेला गरिएको हडताल बेकार थियो। त्यो हडतालदेखि पार्टी विघटनमा गयो।
पूर्व माओवादीहरूलाई एकता गरेर नयाँ शिराबाट पार्टी निर्माण गर्ने भनिएको छ। यो सम्भव होला?
२०४० सालतिर सुनेको एउटा कथा सुनाउन चाहन्छु। काठमाडौंको ठमेलमा एउटा पुरानो घर रहेछ। घरमा तलमाथि गर्न सजिलो होस् भनेर एउटा ढुङ्गा राखिएको रहेछ। त्यही ढुङ्गामा टेकेर मान्छेहरू तल-माथि गर्दा रहेछन्। एक दिन एक जना जापानी त्यहाँ आएछन्। ढुङ्गा राम्रोसँग नियालेपछि घरधनीसँग त्यो ढुङ्गा मागेछन्। घरधनीले नदिने कुरा गरेछन्। जापानीले १५ सय रुपैयाँ दिन्छु भनेछन्। यो २०४० सालभन्दा पहिलाको कुरा हो। त्यति वेला १५ सय भनेको धेरै रकम हो। १५ सय नै पाउने भएपछि घरधनी ढुङ्गा दिन तयार भएछन्।
भोलिपल्ट १५ सय रुपैयाँ बुझाएर त्यो जापानीले ढुङ्गा हथौडाले फोड्न थालेछन्। त्यो ढुङ्गाभित्र बहुमूल्य प्रज्वलित वस्तु रहेछ। त्यो जापानीले लिएर गएछन्। आफूहरूले सामान्य ठानिरहेको ढुङ्गामा बहुमूल्य वस्तु भेटिएपछि घरधनी र छिमेकीहरू सबै आश्चर्यचकित भएछन्। ढुङ्गा त बहुमूल्य पो रहेछ भनेर जापानीले फुटाएको ढुङ्गा जोडजाड गर्न थालेछन्। हो, ठीक त्यसै गरी प्रचण्डहरूले अरूले बहुमूल्य वस्तु लगिसकेको ढुङ्गा जोडजाड गरिरहेका छन्। अब त्यहाँ बहुमूल्य वस्तु छैन। बरु त्यो बहुमूल्य वस्तु हामीसँग छ।