प्राणी र पृथ्वीबारे चिन्तन गर्दागर्दै बिदा भएका दुई हस्ती
जैविक विविधता शब्दावलीका प्रणेता जीव वैज्ञानिकद्वय एडवार्ड ओ. विल्सन र थोमस ई. लभ्जोयले जीव विज्ञानमा विशिष्ट योगदान गर्दै पृथ्वीमा निम्तिरहेको सङ्कटबारे खबरदारी गरिरहे।
सन् १९७० को दशकको मध्यतिर दुई मेधावी अमेरिकी जीव वैज्ञानिक एडवार्ड विल्सन र थोमस लभ्जोय लन्च खाएर जीवजन्तुबारे आफ्नो अध्ययन तथा अनुभव साट्दै थिए। तत्कालीन समयमा पृथ्वीमा जीवजन्तुको बृहत् संसार, प्रजातिको सङ्ख्या र विविधतालाई बुझाउने सरल र एकल शब्द प्रयोगमा थिएन। उनीहरूले खोजेको शब्दावली थियो, ‘बायोलोजिकल डाइभर्सिटी’ अर्थात् जैविक विविधता।
लभ्जोयले सन् १९८० मा यो शब्दावली पहिलो पटक प्रयोग गरे। उक्त शब्दको छोटो रूप बायोडाइभर्सिटी सन् १९८७ मा प्रयोगमा आयो र व्यापकता लियो। जैविक विविधता शब्दावलीको शुरूआत गरेको र यसलाई व्यापक बनाएको श्रेय यी दुई वैज्ञानिकलाई जान्छ। उनीहरूले यो शब्द व्यापक मात्र बनाएनन्, यसको मर्मलाई जीवन्त बनाउँदै पृथ्वीमा आइरहेको सङ्कटप्रति खबरदारी पनि निरन्तर गरिरहे।
जीव विज्ञानमा विशिष्ट योगदान गरेका विल्सनलाई ‘डार्विनका उत्तराधिकारी’ तथा आजको युगका डार्विन भनियो। त्यस्तै, संरक्षणमा पुर्याएको योगदान बापत लभ्जोयलाई ‘गडफादर अफ बायोलोजिकल डाइभर्सिटी’ सम्बोधन गरियो। दुःखद संयोग, जैविक विविधता शब्द र त्यसभित्रको भावलाई व्यापक बनाउने यी दुई वैज्ञानिकले सन् २०२१ डिसेम्बरको अन्तिम साता एक दिनको अन्तरालमा संसार छाडे। लभ्जोयको २५ डिसेम्बरमा ८० वर्षको उमेरमा र ९१ वर्षीय विल्सनको २६ डिसेम्बरमा निधन भयो।
विकासवादी जीव विज्ञानका ‘पायोनियर’ विल्सन
सन् १९२९ मा अमेरिकाको अलावामा राज्यमा जन्मेका विल्सनले १९५५ मा हार्वर्ड विश्वविद्यालयबाट कीट विज्ञानमा विद्यावारिधि गरे। त्यसपछि ४६ वर्षसम्म हार्वर्डमै प्राध्यापन गरेका उनले कीटबारे अध्ययन गर्नुका साथै आफ्नो अनुसन्धानलाई मानिसहरूमा लागू गरे।
उनी सानै उमेरदेखि प्रकृति र प्रजातिप्रति जिज्ञासु थिए। विद्यालयमा छँदै उनले एउटा बाह्य प्रजातिको कमिला पत्ता लगाएका थिए। विविध जातिका कमिलाको अनुसन्धान गर्दै जाँदा उनले कमिलाको प्रजातीय विविधता, सामाजिक संरचना र आनीबानीको मिहिन अध्ययन गरे। त्यस क्रममा उनी एक्लैले ४०० भन्दा बढी प्रजातिका कमिला पत्ता लगाए, तिनको वैज्ञानिक नामकरण पनि गरे। यो तथ्यबाट जीव विज्ञानप्रति उनको लगाव बुझ्न सकिन्छ।
कमिलाको सामाजिक संरचनाका बारेमा उनले गरेको अध्ययन जीव विज्ञानको क्षेत्रमा प्रसिद्ध छ। कमिलाको बानीको अध्ययनबाट शुरू गरेका उनले मानिसको प्रकृतिसम्म अध्ययन गरे। जसबारे उनका पुस्तक सोसियोबायोलोजी (सन् १९७५) र अन ह्युमन नेचर (१९७८) मा लेखिएको छ। यद्यपि, यी दुवै पुस्तकका विषयवस्तु विवादरहित छैनन्।
विल्सनले जीव विज्ञानको एक क्षेत्रमा काम गरेर जति योगदान गरे, त्योभन्दा बढी योगदान जैविक विविधताको सङ्कटबारे विश्व समुदायलाई सचेत बनाउन गरेका छन्। सयौं प्रजाति सधैंका लागि लोप भएको आफ्नै आँखाले देखेका उनी पृथ्वी सबै प्राणीको साझा घर हो भन्ने मान्यता राख्थे। जलवायु परिवर्तनको जोखिमबाट प्राणी र पृथ्वीको जीवन बचाउने हो भने अहिलेको संरक्षण कार्य पर्याप्त नभएको उनको जिकिर थियो। उनले सन् २०१६ मा प्रकाशित पुस्तक हाफ अर्थ मार्फत पृथ्वीको आधा भाग जैविक विविधता संरक्षणका लागि छुट्याउनुपर्ने प्रस्ताव समेत गरेका थिए।
जीव विज्ञान र जैविक विविधताका विविध आयाममा विल्सनका दुई दर्जन पुस्तक प्रकाशित छन्। जैविक विविधता र जीवको क्रमिक विकासका तथ्यहरू सरल भाषामा प्रस्तुत गर्न सक्ने उनको खूबी जो कोही वैज्ञानिकमा पाइँदैन। उनले दुई पटक पुलिट्जर पुरस्कार पाएका थिए।
जीव विज्ञानभित्रका दुई मुख्य विधा सामाजिक जीव विज्ञान (सोसियोबायोलोजी) र द्वीप जैविक भूगोल (आइल्यान्ड बायोजियोग्राफी)का प्रणेता विल्सन नै हुन्। ‘बायोफिलिया’, ‘सेन्टेनालियन एक्स्टिङ्सन’ जस्ता अवधारणालाई व्यापक बनाएको श्रेय पनि उनैलाई जान्छ।
सन् १९६७ मा विल्सन र अर्का जीव वैज्ञानिक माक आर्थरले संयुक्त रूपमा प्रतिपादन गरेको ‘द्वीप जैविक भूगोलको सिद्धान्त’ जीव विज्ञानमा एउटा कोशेढुंगा मानिन्छ। यो सिद्धान्तले टापुहरूमा कुन कुन प्रक्रियाबाट प्रजातिको सङ्ख्या निर्धारण हुन्छ भन्ने बताउँछ। संरक्षित क्षेत्र निर्माण गर्न तथा वासस्थान खण्डीकरणको प्रभाव बुझ्न यो उपयोगी छ।
विल्सनका पुस्तकहरूमा जीव विज्ञानप्रति उनको बृहत् ज्ञान त झल्किन्छ नै, जैविक विविधता लोप हुँदै गएको पाटो र पृथ्वीमा विकासको असरबारे गहिरो चिन्ता देखिन्छ। उनका पछिल्ला पुस्तकहरूले संसारलाई जैविक विविधताको विनाशप्रति गम्भीर बन्न र मानव जाति तथा समग्र जीवजन्तुको भविष्यप्रति चिन्तनशील रहन आह्वान गरेका छन्।
‘जीव वैज्ञानिक–राजनीतिज्ञ’ लभ्जोय
सन् १९४१ मा अमेरिकाको न्यूयोर्कमा जन्मेका लभ्जोयले १९७१ मा यल विश्वविद्यालयबाट जीव विज्ञानमा विद्यावारिधि गरे। दक्षिण अमेरिकाको अमेजन क्षेत्रमा गरेको लामो अध्ययन र संरक्षण कार्यमा योगदानका लागि उनी प्रसिद्ध छन्। सन् १९८० को दशकमा उनले विश्वमा प्रजाति विलुप्तताको दर हिसाब गरी एक्काइसौं शताब्दीमा जैविक विविधतामा कसरी ह्रास आउँछ र प्रजातिहरू लोप हुन्छन् भनी प्रक्षेपण गरेका थिए।
उनले वन विनाश र खण्डीकरणले जीवजन्तु र पारिस्थितिकीय प्रणालीमा पार्ने दीर्घकालीन असरबारे अध्ययन गरे। वन खण्डीकरणले प्रजातिलाई प्रतिकूल असर पार्ने, आगलागी बढाउने, कार्बन उत्सर्जनको मात्रा बढाउने र समग्र पर्यावरणलाई नै असर पार्ने उनको अध्ययनले देखाएको थियो।
जीवनकालभर अमेजन जंगलको अध्ययन र वन्यजन्तु संरक्षणमा उनले नेतृत्वदायी भूमिका खेले। अध्ययनको नतीजा मार्फत संरक्षणका लागि अमेरिकामा नीतिगत परिवर्तन गराउन समेत उनले राजनीतिक वृत्तसँग मिलेर काम गरे। पाँच दशक लामो अनुसन्धानका क्रममा उनले संरक्षण सम्बन्धी कार्य गर्दै विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) सहित धेरै संस्थाको नेतृत्व गरे।
अध्ययन क्षेत्रमा धूलोमैलो खेल्नेदेखि उच्च राजनीतिक तहमा लबिइङ गर्दै संरक्षण कार्यमा लाग्न सक्ने लभ्जोयको खूबीको चर्चा गर्दै सहकर्मी विलियम लरेन्सले उनलाई ‘जीव वैज्ञानिक–राजनीतिज्ञ’ भनेका छन्। त्यस्तै, पाँच दशक सँगै काम गरेका रस मित्तरमियरले उनलाई जैविक विविधता संरक्षण र जलवायु परिवर्तनबारे विश्वको ध्यानाकर्षण गर्न सफल ऐतिहासिक र शीर्ष व्यक्तित्व भनेका छन्।
लभ्जोयले अमेजन क्षेत्रमा गरेको योगदानको कदर गर्दै ब्राजिल सरकार र अन्य संस्थाहरूले थुप्रै पदक र सम्मान दिएका छन्। ‘अर्डर अफ रियो ब्रान्को’ पदक प्राप्त गर्ने उनी पहिलो वातावरणवादी हुन्।
जीवन पर्यन्त पर्यावरण र जैविक विविधताको अध्ययन तथा संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेका यी दुई वैज्ञानिकको निधनले पर्यावरण र पृथ्वीको संरक्षण क्षेत्रमा ठूलो क्षति पुगेको छ। उनीहरूका अध्ययन–अनुसन्धान, पुस्तक र लेखहरूले भने जैविक विविधताको संरक्षणमा अग्रसर हुन प्रेरित गरिरहनेछन्।