राजनीतिसँगै कृषिमा रमाउँदै नेता
राजनीतिको आडमा आर्थिक लाभ लिइरहेको आरोप लागिरहेको वेला कैलालीका केही स्थानीय नेता भने राजनीतिसँगै कृषिमा रमाइरहेका छन्।
कैलालीको टीकापुर नगरपालिका-२ का ४५ वर्षीय नेपबहादुर चौधरीको व्यावसायिक केराखेती छ। उनी राजनीतिमा पनि सक्रिय छन्। माओवादी सशस्त्र द्वन्द्वका वेला माओवादी सेनाको सातौं डिभिजन सचिव थिए।
१२ बिघा जमीनमा केराखेती गर्दै आएका उनी युद्धकालमै रूपा चौधरीसँग वैवाहिक बन्धनमा बाँधिए। रूपा २०६४ मा संविधानसभा सदस्य थिइन्।
२०६८ सालदेखि व्यावसायिक केराखेती थालेका चौधरी दम्पतीले स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा भाडामा लिई व्यवसाय सञ्चालन गरेका छन्। केराखेतीबाट वार्षिक एक करोड रुपैयाँसम्मको कारोबार हुँदै आएको नेपबहादुर बताउँछन्।
“राजनीति गर्नलाई पैसा चाहिन्छ, कुनै न कुनै काम त गर्नैपर्छ। त्यसैले हामीले केराखेती गरेका हौं,” उनी भन्छन्, “यो पेशामा मिहिनेतसँगै आम्दानी पनि छ। साथै, ठूलादेखि साना व्यापारीसँगको प्रत्यक्ष सम्पर्कले राजनीतिक जीवनलाई पनि कुनै असर हुँदैन।”
केही वर्षअघिसम्म पूर्ण रूपमा भारतीय केराको कब्जामा रहेको बजार पछिल्लो समय स्थानीय उत्पादनले ओगट्दै लगेको उनी बताउँछन्। “यहाँ उत्पादित केराले सुदूरपश्चिमका सबै जिल्लाका साथै नेपालगञ्ज, दाङ, सुर्खेत, पोखरा, काठमाडौंसम्म बजार पाउँदै गएको छ। अहिले कैलाली खास गरी टीकापुर क्षेत्र केराको ब्रान्ड बनिसकेको छ,” उनी भन्छन्, “मुग्लिनतिर सुन्तला बेच्दा गोरखाको सुन्तला भनेर बेचिन्छ। अत्तरियामा निगालीको सुन्तला भनेर बेचिन्छ। त्यसै गरी अब काठमाडौंमा पनि टीकापुरको केरा भनेर बेच्ने परिपाटी शुरू भइसकेको छ।”
यस्तै, कैलालीको गोदावरी नगरपालिकामा २२ बिघा जमीन भाडामा लिएर केराखेती गर्दै आएका लक्षीराम आचार्यले पहिलो वर्षमै लगानी उठाए। सबै खर्च कटाएर वार्षिक २० लाख रुपैयाँसम्म बचत गर्दै आएका उनी आठ वर्षदेखि यसमा आबद्ध छन्। राष्ट्रिय जनमोर्चाबाट राजनीति गरिरहेका उनी हालै नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्।
राजनीति गर्नेहरूलाई जनतासँग प्रत्यक्ष सम्पर्कमा बस्न जरुरी हुने उनको ठम्याइ छ। आफ्नो व्यवसायले धेरैलाई रोजगारी दिएकाले राजनीतिक क्षेत्रमा छवि राम्रो बनेको आचार्यको अनुभव छ।
कैलाली-कञ्चनपुरका केरा उत्पादक किसानले आम्दानी मात्रै गरेका छैनन्, नाम समेत कमाउन सफल छन्। अहिले टीकापुरका तीन जना किसान केराखेतीमा उत्कृष्ट किसानका रूपमा राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट सम्मानित भइसकेका छन्। केरा किसान तथा उद्यमी कालु हमाल, विनोद शाह र नेपाल एग्रिकल्चर फर्मका रामबहादुर कुँवर सम्मानित भएका हुन्।
यस्तै, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पूर्व सेक्रेटरी एवं कानून तथा न्याय विभागको जिम्मेवारी सम्हालिरहेका लम्कीचुहा नगरपालिका-१ का गणेश ढकालले ‘भूमिपुत्र पशुपन्छी तथा कृषि फार्म’ सञ्चालन गर्दै आएका छन्।
स्कूल पढ्दै गर्दा १८ वर्षको उमेरमा उनी माओवादी सशस्त्र सङ्घर्षमा लागे। अहिले राजनीति सँगसँगै आफ्नै चार कट्ठा जमीनमा ‘ड्रागन फ्रुट्स’ खेती गरेका छन्। युट्युबबाट यो फलबारे थाहा पाएपछि गत वर्षदेखि यतातिर लागेको उनी बताउँछन्।
‘ड्रागन फ्रुट्स’ एक पटक रोपेपछि २०औं वर्षसम्म त्यही बोटले फल दिइरहन्छ। साथै, एउटा बिरुवाले अरू सयौं बिरुवा उत्पादन गर्ने भएकाले नर्सरी व्यवसायका लागि पनि उपयुक्त हुने ढकाल बताउँछन्।
एकदेखि डेढ वर्षमा फल दिनुका साथै थोरै जमीनमा धेरै फलाउन सकिने र बजारका लागि कुनै समस्या नहुने देखेपछि उनी यो खेतीतर्फ आकर्षित भएका हुन्। कोभिड महामारीका वेला आर्थिक अभावले निकै समस्या झेल्नुपरेकाले थोरै लगानीमा आत्मनिर्भर हुने बाटो खोजेको ढकाल बताउँछन्।
सुदूरपश्चिम कृषि विकास निर्देशनालय, दिपायलको आव २०७७/७८ को तथ्याङ्क अनुसार, सुदूरपश्चिममा २ हजार १३६ हेक्टर क्षेत्रफलमा केराखेती गरिएको छ। जसमध्ये १ हजार ५६४ हेक्टरमा वार्षिक २३ हजार ९१७ मेट्रिक टन केरा उत्पादन भएको छ भने उत्पादकत्व १५.२९ मेट्रिक टन प्रति हेक्टर रहेको छ।
तथ्याङ्कले सुदूरपश्चिममा पनि सबैभन्दा बढी कैलालीमा ९१० हेक्टरमा केराखेती भएको देखाउँछ। जसको उत्पादन १५ हजार ११५ मेट्रिक टन छ।
त्यस्तै, कैलालीपछि कञ्चनपुरमा ५०० हेक्टरमा केराखेती भएको तथ्याङ्कले बताउँछ। जसको उत्पादन ५ हजार ८६३ मेट्रिक टन छ। बैतडीमा पनि १५ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको निर्देशनालयले जनाएको छ।