बिजुलीको माग बढ्ने बित्तिकै वितरण प्रणालीले थेगेन, आपूर्तिको सुनिश्चिततामा झन् संशय
नेपाल विद्युत् प्राधिकरणका अधिकारीले देशमा बिजुलीको पर्याप्त उत्पादन हुन थालेकाले विद्युतीय ऊर्जामा भर पर्न सर्वसाधारणलाई आग्रह गर्दै आएका छन्। तर, बिजुली उत्पादन भएर मात्रै सर्वसाधारणको घरमा बिजुली आउने सुनिश्चितता नहुने पुष्टि मंगलबार र बुधबारको विद्युत् आपूर्तिमा भएको अवरोधले गरेको छ।
चिसो बढेसँगै हिटर, एसी लगायत विद्युतीय उपकरणका कारण पछिल्ला दिनमा साँझ-बिहान बिजुलीको माग बढिरहेको छ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार, मंगलबार साँझ विद्युत् प्रणालीमा १ हजार ६९९ मेगावाट बिजुली माग भयो। यो अहिलेसम्मकै उच्च माग हो।
बुधबार पनि विद्युत् माग १ हजार ५१७ मेगावाट पुग्यो। तर, चिसो बढेर बिजुलीको माग बढ्ने बित्तिकै देशको विद्युत् वितरण प्रणालीले राम्ररी काम गर्न सकेन। काठमाडौं उपत्यका सहित कैयौं ठाउँमा झ्याप-झ्याप बत्ती गयो। विभिन्न स्थानमा त १६ घण्टाभन्दा धेरै अवधिसम्म पनि बिजुली आएन।
बिजुलीको माग करीब १ हजार ७०० मेगावाट पुग्ने बित्तिकै कमजोर संरचनाले माग थेगेन। जसका कारण कैयौं स्थानमा बिजुलीका ट्रान्सफर्मर जले, तार चुँडिए।
प्राधिकरणका प्रवक्ता भट्टराई मौसमी प्रणालीमा आएको फेरबदलसँगै कैयौं स्थानको ट्रान्सफर्मर जलेको, फ्युज उडेको, तार चुँडिएको र अरू प्राविधिक समस्याका कारण विद्युत् आपूर्तिमा समस्या आएको बताउँछन्। “विद्युत् आपूर्तिलाई सुचारु गर्ने प्रयास भइरहेको छ, छिटै समाधान हुन्छ,” भट्टराईले भने।
बुधबारको विद्युत् माग थेग्न विद्युत् प्राधिकरणका आयोजनाबाट ४८० मेगावाट, सहायक कम्पनीबाट ४४७ मेगावाट, स्वतन्त्र ऊर्जा उत्पादकका परियोजनाबाट ४३७ मेगावाट तथा नपुग बिजुली भारतबाट १४३ मेगावाट आयात गरिएको थियो। हिउँद लागेसँगै खोलामा पानीको बहाव घटेका कारण अहिले दैनिक ३०० मेगावाटसम्म अपुग बिजुली भारतबाट आयात गर्नुपर्छ।
नेपालमा करीब २ हजार मेगावाट जडित क्षमताका जलविद्युत् आयोजना सञ्चालनमा छन्। करीब ३ सय मेगावाटका आयोजना निर्माणाधीन भएकाले एकाध वर्षभित्रै तिनको निर्माण सकिन्छ। तर, यत्रो परिमाणमा विद्युत् उत्पादन भए पनि सर्वसाधारणको घरमा विश्वसनीय विद्युत् प्रसारण हुने सुनिश्चितता भने छैन।
सर्वसाधारणको घरमा उत्पादन भए जति बिजुलीको माग नै भए पनि प्राधिकरणको पुरानो र जीर्ण वितरण प्रणालीले सुनिश्चित बिजुली पुर्याउन सम्भव छैन। बिजुलीको माग थपिने बित्तिकै प्रणालीले नथेगेर ट्रान्सफर्मर जल्ने, तार जल्ने लगायत समस्या निम्तिन्छन्।
यसले भविष्यमा बिजुलीको माग बढेको अनुपातमा विद्युत् आपूर्ति हुन सक्ला त भन्ने संशय पनि उत्पन्न भएको छ। तर, प्राधिकरणका प्रवक्ता भट्टराई प्राधिकरणले अहिले वितरण प्रणालीमा रहेका समस्या समाधानका लागि ट्रान्सफर्मरहरू फेर्ने, प्रसारण र वितरण लाइन विस्तार गर्ने, जमीनमुनिबाट तार बिछ्याउने लगायत काम गरिरहेको बताउँछन्।