भारतले ट्याङ्कर रोकेपछि पेट्रोलियम पदार्थको अभाव
भारतले चारदिनदेखि नेपाल भित्रने ट्याङ्कर रोकेपछि पूर्वी नेपालका चार जिल्लामा पेट्रोलियम पदार्थको अभाव भएको छ ।
पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारले पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्कर रोकेको हो ।
भन्सारमा भर्खर शुरु गरिएको ‘अनलाइन इन्ट्री सिस्टम’ मा समस्या आएको भन्दै भारतीय भन्सारले ट्याङ्कर रोकेको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले बताए ।
उनका अनुसार मेचीका ५३ र विराटनगरका २० वटा ट्यांकर रोकिएका छन् ।
पेट्रोलियम पदार्थ नभएपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका ६० पेट्रोल तथा डिजलपम्प बन्द छन् ।
ति चार जिल्लामा मात्र दैनिक एक लाख लिटर पेट्रोल र तीन लाख लिटर डिजेल खपत हुने गरेको पौडेलले बताए ।
कम्प्युटर सिस्टमले काम नगरेको भन्दै ट्याङ्कर लामो समयसम्म अड्काएर राखेको हुँदा ‘म्यानुअल सिस्टम’बाट तथ्याङ्क राखेर भए पनि नेपाली ट्याङ्कर छाडिदिन भारतीय भन्सारलाई आग्रह गरिएको नेपाल आयल निगमले जनाएको छ ।