धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न नयाँ प्रक्रिया शुरू
अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न फेरि अर्को सूचना प्रकाशित गरेको छ।
यसअघिको प्रक्रियालाई रद्द गर्दै मन्त्रालयले १५ दिनको समय दिएर बिहीबार अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको हो। धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकाले योग्यता पुगेका इच्छुक नेपालीबाट आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ। योग्य आवेदकलाई अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी आवेदन दिन भनिएको छ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम योग्यता पुगेको, उच्च नैतिक चरित्र भएको, कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन या कानून क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन्।
बोर्डमा अध्यक्ष पदका लागि मन्त्रालयले ११ कात्तिकमा आवेदन आह्वान गरेको थियो। त्यसमा १२ जनाले आवेदन दिएका थिए। तर, उक्त प्रक्रिया रद्द भएको छ।
यसअघि मन्त्रीस्तरीय निर्णयबाट १९ असोजमा बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय छनोट समिति गठन गरिएको थियो। तर, समितिमा राष्ट्रिय योजना आयोगका तर्फबाट उपाध्यक्ष डा. विश्व पौडेलले प्रतिनिधित्व गरेका थिए। तर, उक्त छनोट समितिले काम गर्न नपाउँदै १३ मंसीरमा बसेको मन्त्रिपरिषद् बैठकले फेरि अर्को समिति गठन गर्ने निर्णय गरेको थियो।
नयाँ छनोट समितिमा पनि योजना आयोगका उपाध्यक्ष पौडेल नै संयोजक छन्। मन्त्रिपरिषद्को निर्णय बमोजिम अर्थ मन्त्रालयले छनोट समिति गठनका लागि अर्थ हेर्ने सदस्यको नाम तोकी पठाउन योजना आयोगलाई पत्र लेखेको थियो। आयोगले गत आइतबार आयोगका उपाध्यक्ष पौडेलले नै अर्थ मामिला हेर्दै आएको पत्र अर्थ मन्त्रालयलाई पठाएको थियो।
जस अनुसार, पौडेलको संयोजकत्वमा छनोट समिति गठन गरिएको हो। समितिका अन्य दुई सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी र विज्ञ सदस्यमा नेपाल स्टक एक्सचेन्जका पूर्व अध्यक्ष जीवनाथ धिताल छन्।
नयाँ प्रक्रिया शुरू भएसँगै यसअघि बोर्डको अध्यक्ष बन्न आवेदन दिएका १२ जनाको आवेदन रद्द भएको छ। अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि उनीहरूले फेरि आवेदन दिनुपर्नेछ।
यसअघि, बोर्डका कार्यकारी निर्देशन निरज गिरी र उपकार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्जका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल राष्ट्र ब्यांकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक कृष्णप्रसाद आचार्यले आवेदन दिएका थिए। त्यस्तै, केशवप्रसाद श्रेष्ठ, अनिल पौडेल, रमेश हमाल, जीवन अमगाईं, हेमन्त बस्याल र अम्बिका लामिछानेले बोर्डको अध्यक्षका लागि आवेदन दिएका थिए।
सर्वोत्तम शेयर प्रकरणमा परेर धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना पदबाट बर्खास्त भएसँगै तीन महीनादेखि बोर्डमा अध्यक्ष पद रिक्त छ।