किन अराजक बन्दै छन् सीके राउत?
स्थानीय बासिन्दामाझ जनमत पार्टीको रवाफ बढाउन कार्यकर्ताहरू स्थानीय तहका अनियमितता र ढिलासुस्तीका विषय समातेर कानून विपरीत गतिविधि गर्दै छन्।
पृथक्तावादी गतिविधि छाडेर मूलधारको राजनीतिमा होमिएको भनिए पनि तराई–मधेशमा सीके राउत नेतृत्वको जनमत पार्टीको अराजकता उस्तै छ। स्थानीयमाझ पार्टीको रवाफ बढाउन कार्यकर्ताहरू स्थानीय तहको अनियमितता र ढिलासुस्तीका विषय समातेर कानून विपरीत गतिविधि गर्दै छन्।
जनकपुरमा राउत बस्दै आएको क्षेत्रमा वर्षाको पानीले सडक हिलाम्य हुने समस्या महीनौंदेखि थियो। स्थानीयले सम्बद्ध निकायमा पटक पटक गुनासो गरे पनि सुनुवाइ नभएको अवस्थाको फाइदा उठाउँदै जनमत पार्टीका कार्यकर्ताले गत कात्तिक ४ गते खानेपानी तथा ढल निकास कार्यालयका कर्मचारी राजेश्वर कुशवाहालाई दुर्व्यवहार गरे।
उनलाई मोसो दलेर शहर घुमाइयो। यो घटनापछि त्यस क्षेत्रमा रातारात ग्राभेल हालेर सडक बनाइयो, तर राउतको शैलीको पनि तीव्र आलोचना भयो। स्थानीय प्रशासनले राउतका केही कार्यकर्तालाई पक्राउ गरेर मुद्दा चलायो। उनीहरू धरौटीमा छुटिसकेका छन्।
केही दिनअघि सिरहाको औरही गाउँपालिकामा मलखाद वितरणमा ढिलाइ भएपछि आक्रोशित स्थानीयले लुटेर लगे। लुटपाटमा संलग्न केहीलाई स्थानीय प्रशासनले पक्राउ गरेर मुद्दा चलायो। यस विरुद्ध स्थानीयले गरेको चक्काजाममा जनमत पार्टीका कार्यकर्ता घुसेर जथाभावी तोडफोड मच्चाउन थाले। त्यसलाई रोक्न प्रहरीले बल प्रयोग गर्दा झडप र निषेधाज्ञासम्मको अवस्था सिर्जना भयो।
जनकपुरस्थित राराब क्याम्पसमा समाजशास्त्र विषय अध्यापन गराउँदै आएका अजय यादव समाजमा राजनीति र राजनीतिक दलप्रति बढ्दो वितृष्णाले अराजकताको रूप लिएको बताउँछन्। “मधेश आन्दोलन हुँदा जनतालाई अनेकौं आश्वासन बाँडियो, त्यो पूरा नभएपछि निराश भएका जनतालाई आफ्नो पक्षमा तान्ने प्रयासमा जनमत पार्टी लागेको छ,” उनले भने। जनमत पार्टीको आन्दोलनमा बौद्धिक वर्ग नभई ग्रामीण भेगका जनता मात्र रहेको यादवको बुझाइ छ। “आन्दोलनमा जाँदा अधिकार पाइन्छ भन्ने विगतको अभ्यास रहेकाले यहाँ पनि त्यही सोच अभिव्यक्त भएको हो,” उनले भने।
पूर्व सांसद सरिता गिरी पनि जनताका मूलभूत समस्या समाधान हुन नसक्दाको उकुसमुकुसलाई जनमत पार्टीले समातेको ठान्छिन्। “जनताका समस्या समाधान गर्न जिम्मेवार निकाय अगाडि आए त्यो आफैं मत्थर भएर जाने हो, नत्र जनता सडकमा आउँछन् नै,” उनले भनिन्।
प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले कुनै पनि दललाई शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार हुँदाहुँदै अराजक रूपमा प्रस्तुत हुन नहुने भन्दै त्यस्तालाई अविलम्ब कारबाही गर्नुपर्ने बताए। नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता समेत रहेका उनले भने, “शान्तिपूर्ण माध्यमले राजनीतिक गतिविधि गर्ने छूट संविधानमै छ, तर अराजकतालाई कतै छूट दिन मिल्दैन।”
प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साहले कानून विपरीत कार्य गर्ने कसैलाई पनि छूट नदिइने बताए। “सुरक्षाको विषयमा विभिन्न निकायसँग प्रदेश सरकारले छलफल गरेको छ,” उनले भने, “अराजकता मच्चाउनेलाई कुनै हालतमा छूट दिन हुँदैन।”
प्रदेश सभा सदस्य एवं लोकतान्त्रिक समाजवादी पार्टीकी नेत्री रानी शर्मा तिवारीले राउतको पार्टीले अघि सारेका माग र आन्दोलनको शैली सही नभएको बताइन्। “यसमा सहभागी व्यक्तिहरूलाई हेर्दा आन्दोलनको माग र शैलीबारे केही थाहा नभए जस्तो देखिन्छ,” उनले भनिन्।
जनमत पार्टी निकट प्रेस सङ्गठनका अध्यक्ष बीपी साहले आफ्ना मागको सुनुवाइ नभएपछि आन्दोलन सफल बनाउन प्रतिवाद मात्रै गरेको बताए। “शान्तिपूर्ण राजनीति गर्ने अधिकारमा हस्तक्षेप भएपछि प्रतिवाद हुनु स्वाभाविक हो,” उनले भने।