एनएमबि ब्यांकले स्वीस संस्था सिफेमसँग डेढ अर्ब ऋण लिंदै
एनएमबि ब्यांक लिमिटेडले स्वीस इन्भेस्टमेन्ट फन्ड इमर्जिङ मार्केट्स (सिफेम)सँग १ करोड २० लाख अमेरिकी डलर (करीब १ अर्ब ४४ करोड) रुपैयाँ ऋण लिने भएको छ।
सिफेमबाट पहिलो पटक नेपालमा लगानी भित्र्याउने गरी भएको सम्झौतामा सिफेम र स्वीस सरकार विकास सहयोग एसडीसी बीचको सहकार्यको महत्त्वपूर्ण भूमिका रहेको ब्यांकले जनाएको छ।
नेपाल स्वीट्जरल्यान्डको विकास सहयोगको प्राथमिकतामा पर्ने राष्ट्र हो। सिफेमबाट प्राप्त यस कर्जाका लागि एसडीसीले सिफेमलाई जोखिम बाँडफाँडका आधारमा सुविधा प्रदान गरेको छ।
उक्त कर्जा रकम ब्यांकले मुख्यतः लघु, साना तथा मझौला उद्यममा लगानी गर्ने प्रतिबद्धता गरेको छ।
एनएमबि ब्यांकले विगतमा अन्तर्राष्ट्रिय वित्त निगम, सीडीसी समूह, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष र सिम्बायोटिक्स लगायत संस्थाबाट ऋण लिएको थियो।