प्रदेश २ को नाम र राजधानीमा सहमति नजुटेपछि विशेष समिति गठन
प्रदेश २ को नाम र राजधानीको विषयमा दलीय सहमति नजुटेपछि प्रदेश सभाले विशेष समिति गठन गरेको छ।
मंगलबार बसेको प्रदेश सभा बैठकले सभामुख सरोज यादवको नेतृत्वमा १६ सदस्यीय समिति गठन गरेको हो। सभामुख यादवले प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम ७३ (क) को उपनियम ९ र नियम ७३ (ख) को उपनियम ९ बमोजिम प्रदेशको नाम र राजधानीको प्रस्ताव अध्ययन गर्न दलीय सहमतिका आधारमा समिति गठन गरेका हुन्।
समितिको उपसभापतिमा उपसभामुख उपमा देव, सदस्यमा कांग्रेसबाट उपेन्द्रप्रसाद कुशवाहा र शिवचन्द्र चौधरी, नेकपा (एमाले)बाट किशोरी साह कमल र शारदादेवी थापा छन्।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)बाट जगतप्रसाद यादव र दिलीपकुमार साह, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट परमेश्वर साह र सुरिता साह, राष्ट्रिय जनता पार्टी (राजपा) विन्देश्वरप्रसाद यादव, नेकपा (एकीकृत समावादी)बाट शत्रुधन महतो, सुन्दरबहादुर विश्वकर्मा र सावित्रीदेवी साह, जनता समाजवादी पार्टी (जसपा)बाट शैलेन्द्रकुमार यादव र सञ्जयकुमार यादव सदस्य छन्।
समितिले प्रदेश सभामा नामकरण र राजधानीका लागि पेश भएका प्रस्ताव अध्ययन तथा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरी प्रदेश सभामा निर्णयार्थ पेश गर्नेछ। यसका लागि समितिलाई १५ दिनको समयावधि दिइएको छ।
समितिले आफ्नो कार्य सम्पादन गर्ने क्रममा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रतिनिधिसँग सहयोग लिन सक्ने सभामुख यादवले जानकारी दिए।
अहिले प्रदेशको नामकरणका लागि चार वटा प्रस्ताव पेश भएका छन्। जसमा ‘मधेश प्रदेश’, ‘मिथिला–भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेश प्रदेश’ नाम प्रस्ताव गरिएका छन्। त्यस्तै, नामका लागि जनकपुरधाम र वीरगञ्ज पनि प्रस्ताव गरिएका छन्।
नाम र राजधानीमा सहमति जुटाउन समिति गठन भएसँगै सभामुख यादवले प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका छन्।