कैलालीमा बढे आपराधिक घटना
पछिल्ला वर्ष कैलालीमा आपराधिक घटनाको सङ्ख्या बढेको देखिन्छ। जानकारहरू सामाजिक व्यवहार परिवर्तन गर्दा र आर्थिक उन्नतिलाई मात्रै सफलता ठान्ने प्रवृत्ति त्याग्दा यस्ता घटना कम गर्न सकिने बताउँछन्।
३ पुसमा कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको अमरावती सामुदायिक वनमा शव फेला पर्यो। दासकी श्रीमती धर्म दासले श्रीमान् २ पुस साँझ साथीकहाँ जाने भन्दै घरबाट हिंडेको बताउँछिन्। उनका अनुसार, राति करीब २ बजे कमल साउदले पठाएको भन्दै सुवित साउद र बमे बोहरा आएर घर समेत खानतलासी गरेका थिए।
३ पुसमा धर्मको मोबाइलमा एउटा अडियो रेकर्ड आयो। जसमा ‘एक-दुई दिनमा खबर पाइहाल्नुहुन्छ। घाँटी अलग छ। शरीर अलग छ। हामी बोर्डर पारि छौं,’ लगायत कुरा सुन्न सकिन्छ। अडियो सुने लगत्तै उनले नजिकैको इलाका प्रहरी कार्यालय पुगेर पुगेर श्रीमान् खोजिदिन निवेदन दिइन्। प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको बताएको छ।
दिल्लीमा चौकीदारी गरेर बस्न दास कहिलेकाहीं मात्र घर आउँथे। धर्म दासका अनुसार, उतै बस्ने भएकाले यता उनको कोहीसँग दुश्मनी भएको याद छैन। दासका आमाबुबा दिल्लीमै मजदूरी गर्छन्।
दासकी श्रीमतीले ६ जना विरुद्ध जाहेरी दिएकी छन्। जाहेरी परेका मनोज भण्डारी, कमल साउद, सुवित साउद, बमे बोहरा, विवेक सिंह र कर्णलाल विक फरार छन्। दासको शव फेला परेको जङ्गल तारबारले घेरिएको छ। तर, केही ठाउँमा तारबार चुँडाएर लागूऔषध दुर्व्यसनीहरूले आवतजावत गर्न सहज बनाएका छन्।
बढ्यो अपराध
यसअघि कैलाली लम्कीका भूपेन्द्र बडुवालको गत २३ कात्तिकमा हत्या भएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, घटनामा २१ जना विरुद्ध जाहेरी परेको छ। १२ जनालाई पक्राउ गरिएको र ९ जना अझै फरार छन्। १२ जनामध्ये ३ जना २६ मंसीरमा धरौटी तिरेर रिहा भइसकेका छन्।
बडुवालको हत्या दुई आपराधिक समूहको आपसी मनमुटावका कारण भएको प्रहरीको निष्कर्ष छ। यी दुई समूहका सदस्य विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलाली र काठमाडौंमा समेत ज्यान मार्ने उद्योगमा ६ वटा र हातहतियार तथा खरखजाना सम्बन्धी दुई वटा मुद्दा दर्ता भएको छ।
लम्की, चिसापानी, टीकापुर क्षेत्रमा नदीजन्य पदार्थ तथा वन पैदावारको ठेक्कापट्टामा आफ्नो वर्चस्व कायम गर्न बडुवालको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, एसपी वेदप्रकाश जोशीले बताए।
गत आर्थिक वर्ष २०७७/०७८ मा मात्रै कैलालीमा कर्तव्य ज्यानका नौ वटा घटना दर्ता भएका छन्। जसमध्ये टीकापुरमा दुई, लम्कीमा दुई र जानकीमा एक गरी पाँच वटा घटना एउटै क्षेत्र आसपासका देखिन्छन्।
यसअघि २०७४ मा टीकापुरमै होली कार्यक्रममा सहभागी २१ वर्षीय करन थापाको खुकुरी प्रहार गरी हत्या गरिएको थियो।
२०७६ असोजमा लम्कीमा खुकुरी प्रहारबाटै लम्कीचुहा–२ का अन्दाजी ३१ वर्षीय कृष्णबहादुर बुढामगर घाइते भएका थिए। २०७७ साउनमा लम्कीचुहा नगरपालिका–१ मा २८ वर्षीय रमेशबहादुर शाहीमाथि खुकुरी प्रहार भएको थियो। सैलुनमा कपाल काटेर बाहिर निस्कने क्रममा उनीमाथि सात-आठ जना रहेको समूहले आक्रमण गरेको थिए।
५ मंसीर २०७८ मा मात्रै लम्कीचुहा–१ खुन्टीखेतका दिनेश नेपालीमाथि खुकुरी प्रहार भएको थियो। बिहेमा नाचगान गरिरहेका वेला उनको कोखामा खुकुरी प्रहार गरेको थियो।
गत आर्थिक वर्ष २०७७/०७८ मा मात्रै कैलालीमा कर्तव्य ज्यानका नौ वटा घटना दर्ता भएका छन्। जसमध्ये टीकापुरमा दुई, लम्कीमा दुई र जानकीमा एक गरी पाँच वटा घटना एउटै क्षेत्र आसपासका देखिन्छन्।
लोकेन्द्र बडुवालका बुबा डम्बर बडुवाल लम्की, टीकापुर र चिसापानीबाट गिट्टी, बालुवाको निकासी हुन थालेपछि आपराधिक क्रियाकलाप बढेको बताउँछन्। उनका अनुसार, यो क्षेत्रमा पछिल्लो समय लागूऔषधका दुर्व्यसनी पनि बढेका छन्।
लगातारका आपराधिक क्रियाकलापले यो क्षेत्र जोखिमपूर्ण बन्दै गएको प्रहरी प्रवक्ता जोशीले बताए। “पछिल्ला केही वर्षको तथ्याङ्कले यहाँ अपराध बढेको देखाउँछ,” उनले भने, “तर, प्रहरी यस्ता क्रियाकलाप नियन्त्रणका लागि प्रतिबद्ध भएरै लागेको छ।”
किन बढ्दै छ अपराध
प्रहरी प्रवक्ता जोशीका अनुसार, प्रविधिको गलत प्रयोग, जसरी पनि धन कमाउने मानसिकता लगायत कारण आपराधिक घटना बढेका छन्। “परिवार, समाजले पनि कुलतमा फसेका, गलत मानसिकता राख्नेलाई सही सल्लाह दिएको पाइँदैन,” उनी भन्छन्, “सबैले सही परामर्श र सुझाव दिए धेरै कम गर्न सकिन्छ। जुन माध्यमबाट धन कमाएको भए पनि त्यसको खोजबिन नगरी सफलता ठान्ने सामाजिक मनोवृत्ति पनि बदल्नुपर्ने उनको सुझाव छ।
साथै, अपराधीलाई फितलो कारबाही, राजनीतिक पहुँचका आधारमा अपराधी छुटाउनु, ग्रामीण भेगमा प्रहरीको उपस्थिति नहुनु जस्ता घटनाले पनि अपराध बढेको जानकारहरू बताउँछन्। लम्की बहुमुखी क्याम्पसका सहायक प्रध्यापक महेशविक्रम थापा समाजमा आर्थिक संरचनालाई मात्र महत्त्व दिइने तथा मानवीय विकासलाई ओझेलमा पार्ने गरिएकाले अपराध बढेको बताउँछन्। “पछिल्लो पुस्ता छिटो आर्थिक लाभ प्राप्त गर्ने मनोवृत्तिले डिप्रेसनमा फस्ने, कुलतमा लाग्ने, प्राकृतिक स्रोतमा द्वन्द्व गर्ने लगायत क्रियाकलाप बढेको छ,” उनी भन्छन्, “नियन्त्रणका लागि यस्ता गतिविधिलाई सामाजिक मुद्दाकै रूपमा लिएर अगाडि बढ्नुको विकल्प छैन।”
लम्की चुहा नगरपालिका-३ वडाध्यक्ष भक्तबहादुर चलाउनेले अपराध गर्ने व्यक्तिलाई राजनीतिक संरक्षण हुनु, मुख्य अपराधी पक्राउ पर्न नसक्नु, स–साना अपराधमा पक्राउ परेकाहरू मिलापत्र मार्फत छुटकारा पाउनुले घटना बढ्दै गएको बताउँछन्। उनी भन्छन्, “कैलालीमा खुला सिमाना भएकाले सीधै भारतीय गिरोहसँग सम्पर्क हुन सजिलो भएकाले पनि अपराध बढेको जस्तो लाग्छ।” चलाउने दुई देशका प्रशासनिक निकाय बसेर संयुक्त छलफल गर्ने र एकअर्कालाई सहयोगी भूमिका निर्वाह गरे अपराध कम गर्न सकिने धारणा राख्छन्।
सामाजिक अगुवा गणेश ढकाल जिल्लामा रहेका सुधार गृहलाई रचनात्मक बनाई दुर्व्यसनमा फसेकालाई सुरक्षित राख्ने प्रावधान हुनुपर्ने बताउँछन्। “लागूपदार्थ दुर्व्यसनीले बढी घटना घटाएको देखिन्छ,” उनी भन्छन्, “यसकारण सुधार गृहमा पर्याप्त समय राख्ने, परामर्श गर्ने र त्यहाँबाट फर्किनेलाई समाजले असल व्यवहार प्रदर्शन गर्नुपर्छ।” राज्य, समुदाय सबै मिले यस्ता घटना नियन्त्रण गर्न सकिने उनको भनाइ छ।