सर्लाहीमा पनि लगाइयो कर्फ्यू
प्रहरी भ्यानको ठक्करबाट युवकको मृत्यु भएपछि सर्लाहीमा तनाव उत्पन्न भएको छ। स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ।
इलाका प्रहरी कार्यालय, बयलवासको भ्यानको ठक्करबाट स्थानीय व्यापारी ३० वर्षीय रामकुमार महतोको ११ पुसमा मृत्यु भएको थियो। घटनाको छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गर्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन्।
उनीहरूले १२ पुसमा पनि विरोध प्रदर्शन गरेका थिए। स्थानीय व्यापारीले प्रहरी कार्यालय घेराउ गरेका थिए भने प्रहरीको भ्यानमा आगो लगाएका थिए।
आज पनि बिहानैदेखि प्रदर्शन जारी छ। प्रदर्शनकारी तोडफोडमा उत्रिएपछि प्रहरीले बल प्रयोग गरेको छ। यस क्रममा झडप भएको छ। झडपमा केही स्थानीय घाइते भएका छन्।
तनाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको हो। स्थानीय प्रशासनले आज अपराह्न ३ बजेदेखि भोलि साँझ ७ बजेसम्म कर्फ्यू लगाएको हो।
यो अवधिमा कुनै किसिमको भेला हुन, बाहिर हिंडडुल गर्न तथा राजनीतिक गतिविधि गर्न नपाउने गरी रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार, इलाका प्रहरी कार्यालय, केशरगञ्जदेखि पूर्व ईश्वरपुर नगरपालिका-४ सागरनाथ टोलसम्म र पश्चिममा ईश्वरपुर नगरपालिका-४ रामपुर टोलसम्म तथा उत्तर ईश्वरपुर नगरपालिका-५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर नगरपालिका-९ खोेरिया टोलसम्म कर्फ्यू लगाइएको छ।
त्यस्तै, अर्को जिल्ला सिरहामा जनमत पार्टीको प्रदर्शनका कारण बिहानैदेखि कर्फ्यू लगाइएको छ।