इन्जिनियरको मृत्यु घटनाको छानबिन गर्न समिति गठन
सोलुखुम्बुको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनामा सोमबार इन्जिनियरको मृत्यु भएको घटनाको छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो। समितिका अन्य सदस्य भने तोक्न बाँकी रहेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ। ऊर्जामन्त्री पम्फा भुसालले दुर्घटनाप्रति चासो व्यक्त गर्दै तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएकी थिइन्।
दूधकोशी जलविद्युत् आयोजनाको परीक्षणका क्रममा पाइप विष्फोट हुँदा इन्जिनियर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको मृत्यु भएको थियो। घटनामा एक जना कर्मचारी घाइते भएका थिए। सरकारले मृत्यु भएका प्राविधिक कर्मचारीप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ।
साहस ऊर्जाले प्रवर्द्धन गरिरहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनामा पेनस्टक पाइपको हाइड्रोलिक परीक्षणका क्रममा पाइप फुटेको थियो। प्रवर्द्धक कम्पनीका अनुसार, पाइपको ज्वाइनमा परीक्षण गर्दा दुर्घटना भएको हो।