गहुँको बीउ बाँड्न ढिलाइ हुँदा चर्किएको विवादले सिरहामा कर्फ्यू
सिरहामा स्थानीय प्रशासनले आज बिहान ५ बजेदेखि दुई दिन कर्फ्यू जारी गरेको छ।
कर्फ्यूका समयमा कुनै किसिमको भेला हुन, बाहिर हिंडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जनाएका छन्। प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा आदेश उल्लङ्घन गरेमा कारबाही गर्ने चेतावनी दिइएको छ।
यसको शुरूआत भने गहुँको बीउ वितरण गर्ने विषयबाट भएको हो। सिरहाको औरही गाउँपालिकाले गहुँको बीउ वितरण गर्न ढिलाइ गरेपछि स्थानीय किसान गोदाममा पुगेका थिए।
उनीहरूले गाउँपालिकाको गोदामबाटै बीउ लगेका थिए। त्यसपछि प्रहरीले बीउ लग्ने किसानलाई पक्राउ गरेको थियो।
किसानलाई पक्राउ गरेको विरोधमा सीके राउत नेतृत्वका जनमत पार्टीले सिरहा बन्दको आह्वान गर्यो। किसानलाई रिहाइ गर्न माग गर्दै जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गर्दै आएका छन्।
यही क्रममा जनमत पार्टीका कार्यकर्ताले सिरहाको गोलबजारमा एउटा ट्रकमा आगजनी गरेका छन्। दुई दर्जनभन्दा बढी सवारी साधनमा तोडफोड गरेका छन्।
यो क्रम बढ्दै गएपछि स्थानीय प्रशासनले आज बिहानदेखि भोलि साँझ ७ बजेसम्म कर्फ्यू जारी गरेको हो। पूर्वमा बलानखोलाबाट पश्चिममा कमला नदीसम्मको पूर्व–पश्चिम राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर–दक्षिण ५०० मिटर आसपासको क्षेत्रसम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कवारीले जानकारी दिए।
त्यस्तै, सिरहाको चोहर्वाबाट सिरहा सडकखण्डको पिकेराज इन्टरप्राइजेज (पेट्रोल पम्पसम्म) तथा सो मार्ग समेत तथा ५०० मिटर पूर्व–पश्चिम आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको छ।
जनमत पार्टीले केही दिन अघिदेखि सिरहा जिल्लामा गरिरहेको आमहडताल र चक्काजामका कारण सर्वसाधारणमा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी कुनै किसिमको भेला हुन, बाहिर हिंडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (२) र (३) बमोजिम कर्फ्यू लगाउनुपरेको प्रजिअ कवारीले जनाएका छन्।
यो अवधिमा राष्ट्रिय लोकमार्ग र सिरहा-चोहर्वा सडकखण्डमा यातायात भने सञ्चालन हुनेछन्।