ग्लोबल आइएमई ब्यांकको निःशुल्क स्वास्थ्य शिविर
ग्लोबल आइएमई ब्यांक लिमिटेडले १५औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियान सञ्चालन गरेको छ।
१२ देखि १७ पुससम्म सञ्चालन हुने कार्यक्रम अन्तर्गत ब्यांकले सात वटै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्नेछ।
शिविरमा स्वास्थ्य परीक्षण, औषधि वितरण तथा भीआईए जाँच लगायतका सेवा निःशुल्क प्रदान गरिने ब्यांकले जनाएको छ।
नेपाल परिवार नियोजन संघको समन्वयमा हुने यस कार्यक्रम अन्तर्गत, कुनाथरी स्वास्थ्य चौकी, बराहताल, सुर्खेतमा १२ पुसमा सम्पन्न भएको छ।
देवानगञ्ज स्वास्थ्य चौकी, सुनसरीमा १४ पुसमा, प्राथमिक उपचार केन्द्र, गौशाला, महोत्तरीमा १५ पुसमा, जलजला अस्पताल तथा अनुसन्धान केन्द्र थवाङ, रोल्पामा १६ पुसमा सञ्चालन हुनेछ।
त्यसैगरी, श्रीकोट स्वास्थ्य चौकी, दोगडाकेदार, बैतडीमा १६ पुसमा, पारच्याङ स्वास्थ्य चौकी, नौकुण्ड रसुवामा र नौथर शेरा सामुदायिक स्वास्थ्य इकाइ भवन, दोर्दी, लमजुङमा १७ पुसमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुनेछ।
ब्यांकले यसअघि नै महिलालाई आर्थिक रूपमा सशक्त बनाउन मेरी उनीलाई मुद्धती बचत खाता सञ्चालनमा ल्याएको छ।