स्थानीय तह निर्वाचनको तयारी र सुरक्षाबारे छलफल
स्थानीय तहको निर्वाचनबारे सोमबार गृह मन्त्रालयमा सुरक्षा निकाय र सरोकारवालासँग छलफल गरिएको छ।
गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा भएको छलफलमा सरोकारवाला निकायका प्रमुखको उपस्थित थियो। गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार, बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचन र स्थानीय तहको निर्वाचनमा सुरक्षा सरोकार र आवश्यक पर्ने स्रोतसाधनबारे छलफल भएको छ।
“आसन्न राष्ट्रिय सभाको निर्वाचनमा गरिने सुरक्षा व्यवस्था र आउँदै गरेको स्थानीय तहको निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोतसाधनको आकलन तथा व्यवस्थापनबारे छलफल भयो,” प्रवक्ता कोइरालाले भने।
बैठकमा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकै पटक गर्ने कि दुई पटक गरेर गर्ने भन्ने विषयमा छलफल भएको उनले बताए। गृहमन्त्री खाँणसँग सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनमा मतदाता र मतपेटिकाको सुरक्षाबारे धारणा राखेका थिए।
अर्थसचिव मधु मरासिनीले निर्वाचनका लागि आवश्यक पर्ने बजेट र सरकारसँग रहेको बजेटबारे जानकारी गराएका थिए। संघीय मामलामन्त्री राजेन्द्र श्रेष्ठले निर्वाचनका लागि आवश्यक पर्ने कर्मचारी र मन्त्रालयका तर्फबाट उपलब्ध गराउन सकिने कर्मचारीबारे जानकारी गराएका थिए।
छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्रेष्ठ, गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव वेगेन्द्रराज शर्मा पौडेल, अर्थसचिव मरासीनी, संघीय मामला तथा सामान्य प्रशासन सचिव सुरेश अधिकारी, परराष्ट्र सचिव भरत शर्मा पौड्याल, नेपाली सेनाका रथी बालकृष्ण कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, गृहको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख मुकुन्दप्रसाद निरौला, प्रवक्ता प्रदीपकुमार कोइराला र नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख डा. भीष्मकुमार भुसाल लगायत उपस्थित थिए।