विदेश जानेहरूलाई चार अस्पतालमा कोरोना खोप
विदेश जानेहरूलाई जुनसुकै वेला पनि राजधानीका चार अस्पतालमा कोभिड-१९ विरुद्धको खोप लगाइने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेश जानेहरूका लागि खोप लगाउन चार अस्पताल तोकिएको जनाएको छ। छाउनीको वीरेन्द्र सैनिक अस्पताल, महाराजगञ्जको नेपाल प्रहरी अस्पताल, बलम्बुको सशस्त्र प्रहरी अस्पताल र टेकुको शहीद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा निःशुल्क खोप लगाउन पाइनेछ।
चारै अस्पतालमा जोन्सन एन्ड जोन्सन खोप लगाइनेछ। यो खोप एक डोज लगाए पुग्छ। खोप लगाउन पासपोर्ट र भिसा देखाउनुपर्नेछ।
अहिले देशभर खोप अभियान सञ्चालन भइरहेको छ। विभिन्न उमेर समूहसँगै १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाउन थालिएको छ। विद्यार्थीलाई विद्यालयमै खोप लगाउन थालिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, अहिलेसम्म दुई करोड ३१ लाख ७१ हजार ९७७ डोज खोप लगाइसकिएको छ। जसमा एक करोड ३१ लाख ७५ हजार ५९७ जनाले पहिलो डोज र ९९ लाख ९६ हजार ३८० जनाले पूर्ण खोप लगाइसकेका छन्।
यससँगै सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप लगाउन खरीद प्रक्रिया थालेको छ। उनीहरूका लागि ८४ लाख खोप ल्याइने भएको छ।