५ देखि ११ वर्षका बालबालिकाका लागि ८४ लाख खोप खरीद गरिंदै
सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन अमेरिकी कम्पनी फाइजरसँग संवाद अघि बढाएको छ।
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि फाइजर खोप खरीद प्रक्रिया अघि बढाइएको बताए। महाशाखाका अनुसार, ५ देखि ११ वर्षसम्मका बालबालिकालाई दुई डोज लगाउन ८४ लाख खोप आवश्यक पर्छ।
विश्व स्वास्थ्य सङ्गठनले ५ वर्षभन्दा माथिका बालबालिकालाई फाइजर खोप लगाउन सकिने बताएको छ। त्यसैले खोप नपाएका ५ वर्षभन्दा माथिका बालबालिकालाई लक्षित गरेर खोप खरीद गर्न लागिएको मरासिनीले बताए। “खोप खरीदको लिखित सम्झौता भइसकेको छैन, तर अहिलेसम्मको संवादले छिटै सम्झौता हुने देखिएको छ,” मरासिनीले भने।
अहिले सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइरहेको छ। विद्यार्थीलाई विद्यालयमै खोप लगाउन थालिएको छ।
त्यस्तै, अहिलेसम्म दुई करोड ३१ लाख ७१ हजार ९७७ डोज खोप लगाइसकिएको छ। जसमा एक करोड ३१ लाख ७५ हजार ५९७ जनाले पहिलो डोज र ९९ लाख ९६ हजार ३८० जनाले पूर्ण खोप लगाइसकेका छन्।