प्रहरीले जोगाउन नसकेका दुई मूर्ति
ललितपुरको कुम्भेश्वर मन्दिरको सुरक्षाका लागि अस्थायी प्रहरी पोस्ट र सीसी क्यामेरा जडान गरिए पनि मूर्ति चोरीको क्रम रोकिएको छैन।
रातको १२ः३० बजे। एक जना अन्दाजी ३० वर्षका युवक ललितपुरस्थित कुम्भेश्वर (बङ्गलामुखी) मन्दिरको मूल गेटमा पुग्छन्। सेतो–कालो रङ्गको ज्याकेट, निलो पाइन्ट र हेल्मेट लगाएका ती व्यक्ति हतास मुद्रामा मन्दिर नजिक पुग्छन्। मन्दिरको मुख्य प्रवेशद्वारमा उभिएर दायाँ–बायाँ हेर्छन्, अनि बायाँतिरको मिसाहिटीतर्फ ओरालो लाग्छन्। मिनेट नबित्दै नारायणको मूर्ति उठाएर ज्याकेटभित्र हाल्छन् र दगुर्छन्।
यो घटना २७ मंसीरमा भएको मूर्ति चोरीको हो। घटना विवरण चाहिं मन्दिर परिसरमा रहेको सीसी क्यामेराको। मन्दिरको सुरक्षाका लागि तीन जनाको प्रहरी टोली समेत राखिएको छ। तर, उक्त घटना भोलिपल्ट बिहान पूजा गर्न आउने स्थानीयबासीले पत्ता लगाएका थिए।
१२ र २९ वैशाख २०७२ को भूकम्पले मन्दिरका तीन तला क्षतिग्रस्त भएपछि टोल सुधार समितिले प्रहरीको सुरक्षा माग्यो। कुम्भेश्वर टोल सुधार समितिका अध्यक्ष अरोजकुमार खड्गीका अनुसार, क्षतिग्रस्त मन्दिरमा जोखिम बढेपछि मन्दिर परिसरमा चार वर्षअघि अस्थायी प्रहरी पोस्ट राखिएको थियो। पोस्टमा तीन प्रहरी खटिएका छन्, दुई जवान र एक हवल्दार। “मन्दिरको जीर्णोद्धार शुरू भएपछि ऐतिहासिक र पुरातात्त्विक वस्तुको संरक्षणका लागि मंगलबजार प्रहरीबाट मन्दिर परिसरमै अस्थाई प्रहरी पोस्ट राखिएको हो,” उनी भन्छन्, “तर, प्रहरी भएर पनि हाम्रा देउता हामीले बचाउन सकेनौं।”
प्रहरी सुरक्षाकै बीचबाट दुई वर्षमा कुम्भेश्वरबाट दुई वटा मूर्ति चोरी भइसकेका छन्।
यसअघि २ मंसीर २०७६ को राति यहींबाट कुबेरको मूर्ति चोरी भएको थियो। त्यसपछि सुरक्षाकर्मी मात्रै पर्याप्त हुँदैन भनेर नौ स्थानमा सीसी क्यामेरा पनि जडान गरियो।
मन्दिरको सुरक्षाका लागि खटिएका हवल्दार रामनन्द पालका अनुसार, २७ मंसीरमा मूर्ति चोरी हुँदा दुई जना प्रहरी कांग्रेस महाधिवेशनको सुरक्षा व्यवस्थापनमा खटिएका थिए। उनी भन्छन्, “एक जना मन्दिरभित्रै रहे पनि १२ बजेपछि ड्युटी सकिन्छ, सोही समयमा चोरी भएछ।” हवल्दार पाल यस घटनाले आफूहरूलाई लज्जित बनाएको स्विर्कार्दै थप सचेत बन्ने प्रतिबद्धता व्यक्त गर्छन्।
मंगलबजार वृत्तका प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठ यो घटनाले थप चुनौती बढेको बताउँछन्। “दुई वर्षअघि चोरी हुँदा सीसी क्यामेरा नभएर अनुसन्धानमा समस्या भइरहेको छ,” उनी भन्छन्, “अहिले सबै विवरण सीसी क्यामेरामा कैद छ, हामी अनुसन्धानमै छौं।”
मूर्ति संरक्षणकै लागि सीसी क्यामेरा जडान गरेकोे, प्रहरी नै मन्दिरमा बस्दै आए पनि चोरी नरोकिएपछि स्थानीयबासीको मनमा संशय देखिन्छ। स्थानीयबासी नन्द महर्जन भन्छन्, “सीसी क्यामेरा, प्रहरी कोही नहुँदा मूर्ति यस्तोविधि हराउँदैनथ्यो। यहाँ ‘रक्षक नै भक्षक’ पनि हुन सक्छ, गम्भीर छानबिन हुनुपर्छ।”
बढाइयो सुरक्षा
२० मंसीर मध्यरातमा मात्रै काठमाडौंको नागार्जुन नगरपालिका–३, हल्चोकस्थित आकाश भैरव मन्दिरबाट आकाश भैरवको मूर्ति चोरी भएको थियो। २७ मंसीरमै टंगालबाट नारायणको मूर्ति चोरी भयो। यसरी उपत्यकामा मूर्ति चोरीको सङ्ख्या बढेसँगै पाटनमा सुरक्षा बढाइएको छ।
अहिले मंगलबजार क्षेत्रमा रातको १२ देखि ३ बजेसम्म सिभिल प्रहरी खटिएका छन्। विशेष गरी मठमन्दिर र हिटीहरूमा प्रहरीले सुरक्षा निगरानी बढाएको छ। “यसअघि पनि यस्ता घटना भएका थिए, अहिले पनि भइरहेकै छन्,” प्रहरी निरीक्षक श्रेष्ठ भन्छन्, “त्यस कारण हामी थप सचेत भएका छौं।”
चोरी भएपछि खोजीमा लाग्नु कानूनी प्रक्रिया नै हो। तर, चोरी नै हुन नदिने प्राथमिकताका साथ सुरक्षा निकाय अगाडि बढ्नुपर्ने सम्पदा पुन:स्थापना अभियानका प्रवक्ता रोशन मिश्रको आग्रह छ। “विशेष गरी सुरक्षाकर्मीले ऐतिहासिक र पुरातात्त्विक वस्तुको महत्त्वलाई आत्मसात् गर्नुपर्छ,” उनी भन्छन्, “कुन वस्तु सम्पदा हुन् र ती हुनु वा नहुनुले कति महत्त्व राख्छ भन्ने चेत हरेक सुरक्षाकर्मीमा भए सम्पदा बचाउन उनीहरू अझै सक्रिय हुन्छन्।”
‘जति मानिस त्यति मूर्ति, जति घर त्यति मन्दिर’ भनेर चिनिने मुलुकमा सुरक्षाकर्मी एक्लैले सबै ऐतिहासिक र पुरातात्त्विक वस्तु जोगाउन नसक्ने संस्कृतिविद् गोविन्द टण्डन बताउँछन्। “तर यो भन्दैमा प्रहरीलाई आफ्नो जिम्मेवारी नै पूरा नगर्ने छूट छैन,” उनी भन्छन्, “ऐतिहासिक वस्तु जोगाउनु इतिहास बचाउनु हो, यसमा सर्वसाधारणदेखि राज्य सबै सचेत हुनैपर्छ।”
स्वाभाविक रूपमा ऐतिहासिक सम्पदाको संरक्षण गर्ने जिम्मेवारी सबैको हो। सुरक्षाकर्मीको विशेष भूमिका हुने भए पनि सम्पदा संरक्षणमा स्थानीयबासी जागरुक हुनैपर्छ। स्थानीयबासीको सक्रियताले भूकम्पले क्षतिग्रस्त हुँदा पनि थुप्रै सम्पदाको जगेर्ना भएको उदाहरण हामीकहाँ प्रशस्त छन्।
काठमाडौं उपत्यका संरक्षण कोषका निर्देशक रोहित रञ्जितकार स्थानीयबासीको सक्रियताले नै भूकम्पपछि पाटन दरबार क्षेत्रका हजारौं पुरातात्त्विक वस्तु जोगाउन सफल भएको उदाहरण पेश गर्छन्। “प्रहरी मात्र होइन, सुरक्षा प्रविधि, सर्वसाधारण, अभियन्ता सबै एकजुट भएर हजारौं वस्तु जोगायौं,” उनी भन्छन्, “त्यस वेला पाटन क्षेत्रमा एउटा मूर्ति वा वस्तु पनि हराएको थिएन।”
चोरिएका नारायण र कुबेर भगवान्को इतिहास
कुम्भेश्वर मन्दिर परिसरमा कुम्भेश्वर महादेव, उन्मत्त भैरव, गौरीकुण्ड, हारती, मनकामना, केदारनाथ, बद्रीनाथ पर्दछन्। परिसरभित्र पोखरी पनि छ। रसुवाको गोसाइँकुण्डलाई कुम्भेश्वर मुहानको स्रोत मानिन्छ।
मन्दिर प्रवेशद्वारको बायाँतिर मिसाहिटी छ। जहाँ भगवान् नारायणको मूर्ति थियो। मिसाहिटीको निर्माण धर्मदेवले सन् १४१६ मा गरेको विश्वास छ। तर, नारायणको मूर्ति भने लिच्छविकालीन भएको मन्दिरका पुजारी माधवश्याम शर्मा बताउँछन्।
हरेक वर्ष साउनको शुक्लपक्षमा पञ्चदानका लागि यो हिटी प्रख्यात छ। त्यस वेला फुद्योः ‘अन्तिम देवता’ (पूजा गरिनेमध्ये मानिएका अन्तिम भगवान्)लाई बाजागाजा सहित पाटन क्षेत्र वरिपरि घुमाएर यहाँ ल्याइन्छ। बाटोमा भक्तजनले भिक्षुलाई पञ्चदान दिन्छन् र त्यसपछि एक वर्षसम्म कसैलाई पनि पञ्चदान दिइंदैन।
पुजारी शर्माका अनुसार, नारायणको मूर्ति भएको स्थानमा बौद्ध र हिन्दू धर्मावलम्बी दुवैले पूजा-आराधना गर्छन्। गोकर्ण औंशीका दिन यो हिटीमा स्नान गरेर नारायणको मूर्तिमा पानी चढाए गोकर्ण जानै नपर्ने कथन छ।
यस्तै, कुबेरको मूर्तिमा कुनै शिलालेख नभए पनि यसको आकृति र बनावटले लिच्छविकालीन हुन सक्ने कुम्भेश्वर टोल विकास समितिका अध्यक्ष खड्गी बताउँछन्।
बङ्गलामुखी मन्दिरछेउ कैलाश पर्वत बनाइएको छ। त्यही पर्वत चढ्ने स्थानको दायाँबायाँ द्वारपालका रूपमा दुई वटा कुबेरका मूर्ति राखिएका थिए। यसमध्ये एउटा चोरी भइसकेको छ। कैलाशको द्वारपालका रूपमा कुबेर राख्ने परम्परा छ। पुजारी शर्मा भन्छन्, “शोभा र शास्त्रले दुई भागमा राखिनुपर्छ भन्छ, तर चोरी भयो।”
जानकारहरूका अनुसार, कुम्भेश्वर मन्दिर क्षेत्रमा नेपालकै उत्कृष्ट मल्लकालका मूर्तिहरू छन्। जुनमध्ये एउटा उमा-महेश्वरको मूर्ति हो। ग्रन्थकार वीणा पौडेल कलाकृति उच्च भए पनि चोरी हुने डरकै कारण लुकाएर राख्नुपरेको बताउँछिन्। उनी भन्छिन्, “हाम्रो खोजमा पाटन दरबारका साथै कुम्भेश्वरमा ईसापूर्वको दोस्रो शताब्दीदेखिका मूर्ति पाइएका छन्।”
यसरी एक-दुई गर्दै हराउँदै जाँदा ऐतिहासिक अभिलेख नै सङ्कटमा पर्ने जोखिम देख्छन्, संस्कृतिविद् टण्डन। अहिले त्यस्ता मूर्ति चाहेर पनि कुनै कलाकारले बनाउन नसक्ने टण्डनको दाबी छ। उनका अनुसार, लिच्छविकालीन मूर्तिमा ढुङ्गाको पोलिस र चिप्लोपन बढी हुन्छ। जुन मल्लकालीन र अहिलेका मूर्तिमा पाइँदैन। उनी भन्छन्, “फेरि लिच्छविकालीन ढुङ्गा लोप भइसकेकाले मूर्तिमा त्यस वेलाको जस्तो सीप र जाज्वल्य अब सम्भव छैन।”
मूर्तिको सूचीकरण शुरूआत
ललितपुरको एक मात्र पाँचतले मन्दिर हो– कुम्भेश्वर। यो संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)ले विश्व सम्पदामा सूचीकृत गरेको पाटन दरबार क्षेत्रको नजिकै पर्छ। जहाँ ऐतिहासिक, पुरातात्त्विक र धार्मिक महत्त्वका वस्तु असङ्ख्य रहेको पुरातत्त्व विभागका निर्देशक दामोदर गौतम बताउँछन्। उनी भन्छन्, “हामीले अहिले उपत्यकामा सानादेखि ठूला मूर्तिको सूचीकरण गरिरहेका छौं।” सूचीकरणले चोरिएका मूर्ति विश्वको जुनसुकै कुनामा पुग्दा पनि हाम्रो भन्ने प्रमाण पुर्याउन सकिने गौतमको भनाइ छ।