विद्युत् चुहावट १४ प्रतिशतमा झर्यो
नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महीनामा प्रणालीमा रहेको विद्युत् चुहावटलाई घटाएर १४.३५ प्रतिशतमा झारेको छ।
गत आर्थिक वर्षमा प्रणालीको चुहावट १७.१८ प्रतिशत थियो। प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानका कारण चार महीनामा विद्युत् चुहावट २.८३ प्रतिशतले घटाउन सफल भएको प्राधिकरणले जनाएको छ।
कात्तिकसम्म प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९.२४ प्रतिशत छ भने बाँकी प्रसारण तथा उत्पादनतर्फको हो। गत वर्ष कात्तिकसम्म वितरणतर्फको चुहावट १२.०१ प्रतिशत थियो। गत आर्थिक वर्षको चार महीनाको तुलनामा यस वर्ष वितरणतर्फको चुहावट २.७७ प्रतिशतले कम हो।
प्राधिकरणले चालू आर्थिक वर्षमा विद्युत् चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ। पहिलो चार महीनामै लक्ष्यभन्दा कम चुहावट रहेकाले आर्थिक वर्षको बाँकी अवधिमा लक्ष्य पूरा हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ।
आव २०७२/७३ मा २५.७८ प्रतिशत रहेको विद्युत् चुहावटलाई घटाएर प्राधिकरणले आव २०७६/७७ मा १५.२५ प्रतिशतमा झारेको थियो। तर, आव २०७७/७८ मा चुहावट १.९१ प्रतिशतले बढेर १७.१८ प्रतिशत पुगेको थियो।
कार्यकारी निर्देशक घिसिङले चुहावट नियन्त्रण अभियान प्रभावकारी रूपमा चलाइएको, सबस्टेशनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायत कदमको परिणाम चुहावट नियन्त्रण भएको बताए।
“गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसूल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइएको छ,” उनले भने।
काठमाडौं उपत्यकामा जाडोमा र तराई क्षेत्रमा गर्मीमा चुहावट बढ्ने गरेको छ। प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर चालिएको अभियानलाई अझै सशक्त र प्रभावकारी बनाएर चालू आर्थिक वर्षको लक्ष्य हासिल गरिने बताए।