भारत-चीन वार्ताभित्रको राजनीति
द्विपक्षीय वार्तामा चिनियाँँ पक्ष आफूलाई पार्टीको लाइनबाट कत्ति पनि विमुख नगरी प्रक्रियागत रूपमा एकल धारणाका साथ प्रस्तुत हुन्छन् भने भारतीयहरू अनुभवहीन र आफ्नो व्यक्तिगत धारणाले ग्रसित हुन्छन्।
विगतका केही वर्षमा भारत र चीनबीच भएको सीमा विवादले निम्त्याएको द्वन्द्वले भू-राजनीतिक गतिरोध उत्पन्न भएसँगै चीनको विदेश नीति पेचिलो बन्दै गएको देखिन्छ। चीनले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ अभियान शुरू गरेपछि भारतका छिमेकी मुलुकमा चीनको प्रभाव विस्तार भएको छ।
भारतले बीआरआईको विरोधमा प्रश्न उठाएपछि यसका पक्ष तथा विपक्षमा दुवै देशमा अनेकौं संवाद तथा छलफल भए। हालै प्रकाशित विजय गोखलेको पुस्तक ‘द लङ गेमः हाउ द चाइनिज निगोसिएट विथ इन्डिया’ लाई पनि त्यसैको निरन्तरता मान्न सकिन्छ।
चीनका लागि पूर्व भारतीय राजदूत रहिसकेका कूटनीतिज्ञ गोखलेको यो पुस्तकले यसअघि प्रकाशित अन्य कृतिहरूमा जस्तै चिनियाँँहरूको भारतीय पक्षसँग वार्ता गर्ने शैलीलाई सविस्तार व्याख्या गरेका छन्। चिनियाँ पक्षसँग वार्तामा बसेका पूर्व कूटनीतिज्ञको अनुभवहरूको सङ्ग्रह भए पनि पुस्तकले दक्षिणएशियामा चीनको भूमिकामाथि विवेचना गरेको छ। पुस्तक पढ्दै जाँदा यस्तो लाग्छ, मानौं पुस्तकमा वर्णित घटना विवरण विश्वविद्यालयको कूटनीतिक अध्ययनको कक्षाका लागि तयार पारिएका नोट हुन्।
गोखलेले भारत र चीनबीच भएका ६ वटा द्विपक्षीय वार्ताका सन्दर्भलाई उठाएका छन्। जुन वार्ता तत्कालीन तिब्बतसँग जोडिएको भारत-चीन सीमा विवाद मिलाउन भएका सन् १९५० बैठकदेखि पाकिस्तानका अन्तर्राष्ट्रिय आतङ्ककारी मौलाना मसुद अजहरको केसलाई अन्तर्राष्ट्रियकरण गर्ने सन् २००९ भारतको कदमसम्म लम्बिएको छ। आफ्नो टिप्पणी प्रस्तुत गर्ने क्रममा गोखलेले सैद्धान्तिक पक्षदेखि लिएर सूक्ष्म पक्षसम्मको विवेचना गर्न भ्याएका छन्।
जवाहरलाल नेहरू भावनामा बगेर मन्त्रिपरिषद्मा कुनै छलफल नै नगरी तिब्बत चीनमा गाभ्ने कदमलाई विश्व समुदायको कुनै टिप्पणी नै नआउँदै मान्यता दिन आतुर हुन्छन्।
लेखक गोखलेको भनाइमा भारत र चीनबीच केही सम्झौता हुनुपूर्वका वार्ता दशकौंसम्म लम्बिएका थिए। आफ्नो पक्षमा माहोल नबनेसम्म वार्तालाई जानाजान लम्ब्याउनु ‘चिनियाँँ पक्षको वार्ताको विशेषता’ नै भएको उनको बुझाइ छ।
पुस्तकको शुरूआत चीनले तिब्बतलाई आफूमा गाभ्दा भारतसँग उसले गरेको समझदारी राम्रो कूटनीतिक प्रयास भएको गोखलेको बुझाइबाट अघि बढ्छ। जवाहरलाल नेहरू भावनामा बगेर मन्त्रिपरिषद्मा कुनै छलफल नै नगरी तिब्बत चीनमा गाभ्ने कदमलाई विश्व समुदायको कुनै टिप्पणी नै नआउँदै मान्यता दिन आतुर हुन्छन्। गोखलेको तर्क छ, नेहरूको त्यो कदमले विश्व समुदायमाझ उनको छवि केही समयका लागि चर्चित भयो, तर कालान्तरमा ‘न चीनसँग भारतको सम्बन्ध सुमधुर हुन सक्यो न त उत्तरी नाका सुरक्षित हुन सक्यो’ (पृ. २१)।
गोखलेले चीनको अल्झाउने र गाल्ने रणनीतिबाट भारत सन् २००० मा पनि झस्किएको बताएका छन्। जब भारतले सन् २००८ को मुम्बई बम हमलाको जिम्मेवार पाकिस्तानी आतङ्कवादी मसुद अजहरलाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा आतङ्कवादी करार गर्ने प्रस्ताव लग्यो सो प्रस्तावमाथि समर्थन गर्न चीन अनिच्छुक देखियो।
गोखलेको तर्क छ, भारतको सो प्रस्ताव स्वीकार्न चीन किन तयार भएन भने चीन र पाकिस्तानको आर्थिक सम्बन्ध प्रगाढ हुँदै गएको थियो। यस पटक पनि चीनले वर्षौं कुराइदिन सक्थ्यो। तर, भारतले अन्तर्राष्ट्रिय दबाब उच्च बनायो। यद्यपि, प्रस्ताव पारित गराउन पनि भारतलाई झण्डै एक दशक लाग्यो।
पुस्तक भारत र चीनको द्विपक्षीय वार्तामा केन्द्रित भए पनि पाठकले नेपाली सन्दर्भको प्रतिध्वनि पाउन सक्छन्।
पुस्तकमा भारत र चीनका वार्ताकारहरूले वार्ताको टेबुलमा आफूलाई कसरी प्रस्तुत गर्छन् भन्नेबारे पनि विवेचना गरिएको छ। गोखलेको मतमा, वार्तामा चिनियाँँ पक्ष आफूलाई पार्टीको लाइनबाट कत्ति पनि विमुख नगरी प्रक्रियागत रूपमा एकल धारणाका साथ प्रस्तुत हुन्छ। उता भारतीयहरू भने अनुभवहीन हुन्छन् र वार्तामा आफ्नो व्यक्तिगत धारणाले ग्रसित हुन्छन्।
कसरी भिन्न संस्कृतिका मान्छेहरूबीच वार्ता हुँदा एकअर्काको संस्कृति र उनीहरूको व्यवहार जान्न महत्त्वपूर्ण हुन्छ भन्ने कुरा यसबाट बुझ्न सकिन्छ। गोखलेले एक अन्तर्वार्तामा यस खाले वार्ता प्रक्रियालाई धारणा र दृष्टिकोणको बेमेल बताएका छन्।
पुस्तक भारत र चीनको द्विपक्षीय वार्तामा केन्द्रित भए पनि पाठकले नेपाली सन्दर्भको प्रतिध्वनि पाउन सक्छन्। विदेश नीति तथा परराष्ट्र मामलाका जिज्ञासुहरूलाई यो पुस्तक अन्तर्राष्ट्रिय मुलुकहरूबीचको वार्ताको समीक्षात्मक खाका र रणनीतिका लागि उपयोगी छ।
पुस्तक: द लङ गेमः हाउ द चाइनिज निगोसिएट विथ इन्डिया
लेखकः विजय गोखले प्रकाशकः भिन्टेज बुक्स पृष्ठः २०० मूल्यः ६९९ (भारु)