नेपालमा विद्युत्ः नपुग्ने होइन खेर जाने जोखिम
ऊर्जा उपयोग हुने प्रविधिमा माग सृजना र विद्युत् खपतका नयाँ बजार खोज्न नसक्ने हो भने बढ्दो बिजुली उत्पादनले नोक्सान बढ्ने आकलन गरिएको छ।
लोडसेडिङमुक्त अभियानका क्रममा नेपाल विद्युत् प्राधिकरणले जोड दिएको नारा हो, ‘एलईडी बत्ती बालौं, विद्युत् खपत कम गरौं’ । यो नाराको अन्तर्य नविन प्रविधिको उपयोगमा प्रेरित गर्नेभन्दा ज्यादा उपभोग घटाउने उद्देश्यबाट निर्देशित छ ।
विद्युत्काे उच्च माग र न्यून उत्पादनले प्राधिकरणको आपूर्ति व्यवस्था लामो समयदेखि खलबलियो । विद्युत्काे माग र आपूर्तिको तालमेल मिलाउन सकेको भन्दै अहिले पनि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ प्रशंसाका पात्र बनिरहेका छन् । तर, यो सदाशयता कायम राख्न अब उनले नयाँ चुनौतीको सामना गर्नुपर्नेछ ।
तोकिएको योजना अनुसार काम भए यही आर्थिक वर्षमा १५८ र आगामी वर्ष ११४९ मेगावाट क्षमताका आयोजनाबाट उत्पादन हुने बिजुली केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । यसमध्ये ३९.६५ मेगावाट गएको वैशाख अघि नै जोडिइसकेको छ ।
२ जेठ १९६८ मा काठमाडौंको फर्पिङबाट बिजुली बालेको देशले त्यसयताको १०८ वर्षमा जम्माजम्मी उत्पादन गरेको भन्दा बढ्ता बिजुली पछिल्ला यी दुई वर्षमा उत्पादन हुँदैछ ।
उत्पादन बढ्दा त्यसलाई खपत गर्ने गरी माग सृजना गर्न नसक्ने हो भने विद्युत् प्राधिकरणले घाटा व्यहोर्ने जानकारहरू बताउँछन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सह–प्रवक्ता गोकर्णराज पन्थ भन्छन्, “अब हामीले नीतिगत हस्तक्षेप मार्फत माग सृजना गर्न नलाग्ने हो भने बिजुली खेर जाने अवस्था आएको छ ।”
अर्को वर्ष माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन थालेपछि नेपालको कुल मागभन्दा बिजुलीको उत्पादन बढी हुने उनको भनाइ छ ।
असाध्यै माग बढेको समयमा केही घण्टाका लागि भारतबाट ६०० मेगावाटसम्म विद्युत् आयात भए पनि यो हिउँदको सरदर विद्युत् आयात ४०० मेगावाटको हाराहारी रह्यो ।
एक वर्षपछि अर्थात् अर्को असारसम्म राष्ट्रिय ग्रीडमा १२६७ मेगावाट बिजुली थपिएपछि देशलाई चाहिनेभन्दा बढी विद्युत् आपूर्ति हुन्छ । यसरी बढ्दो विद्युत् उत्पादनको खपत गर्न सरकारले आगामी बजेट र कानूनी व्यवस्थाहरूको संशोधन मार्फत माग सृजना गर्नुपर्ने पन्थ बताउँछन् ।
कहाँ खोज्ने बजार ?
नेपालमा जाडो याममा र भारतलाई गर्मीमा बढी बिजुली चाहिने भएकाले दुई देशले मौसम अनुसार विद्युत्को साटासाट गर्ने गरेका छन्, जुन व्यवस्थालाई ‘इनर्जी ब्याङ्किङ’ भनिएको छ ।
गर्मी याममा भारतमा पङ्खा, कुलर, रेफ्रिजेरेटर जस्ता विद्युतीय उपकरणको प्रयोग व्यापक हुने भएकाले बिजुलीको माग उच्च हुन्छ । तर हाम्रो तराई क्षेत्रमा निकै कम मानिसले यस्ता उपकरण खरीद गर्ने सामथ्र्य राख्छन् । बरु, उच्च क्रयशक्ति भएका अधिकांश नेपाली काठमाडौं, पोखरा जस्ता पहाडका शहरमा केन्द्रित भएकाले पनि जाडो याममा भने हीटर लगायतका कारण बिजुलीको माग बढ्छ ।
दुई देशमा बिजुलीको उत्पादनमा पनि त्यस्तै बेमेल छ । भारतले ७६ प्रतिशत विद्युत् कोइलाबाट उत्पादन गर्ने भएकाले त्यहाँको विद्युत् उत्पादन वर्षैभरि समान हुन्छ । तर, नेपालले खोलानालाको पानीबाट विद्युत् निकाल्ने हुँदा वर्षात्मा ज्यादै बढी र हिउँदमा अत्यन्त कम बिजुली उत्पादन हुन्छ ।
दुई देशबीच माग र आपूर्तिको यही बेमेलको फाइदा लिन ‘इनर्जी ब्याङ्किङ’ मा दुवै देशले सैद्धान्तिक सहमति जनाइसकेका छन् । तर उक्त सहमति कार्यान्वयनको मोडालिटीबारे हालसम्म दुई पक्षबीच सघन छलफल हुनसकेको छैन । ऊर्जा मन्त्रालयका अधिकारीहरूका अनुसार यो सहमति कार्यान्वयनका लागि भारतले पनि आपूर्ति व्यवस्थापनबारे योजना बनाउनुपर्ने हुन्छ ।
दुई देशबीच हुने विद्युत् कारोबारका शर्त के हुन्छन्, कुन दरमा किनबेच हुन्छ, भुक्तानी कसरी हुन्छ भन्ने जस्ता मोडालिटी तयार हुनसकेको छैन ।
ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनको निर्माण अघि बढे पनि बुटवल–गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको मोडालिटी टुंगिएको छैन । जलविद्युत् प्रवद्र्धक ज्ञानेन्द्रलाल प्रधान ऊर्जाको असन्तुलित आपूर्तिलाई व्यवस्थापन गर्न उक्त ऊर्जा साझ्ेदारीलाई सकेसम्म छिटो कार्यान्वयनमा लैजान सरकारले प्रयास गर्नुपर्ने बताउँछन् ।
“हामीले आफूलाई बढी भएको बिजुली भारतलाई दिएर आवश्यक परेको बेला बिजुली लिने, बाँकीको पैसा लिन सक्छौं”, उनी भन्छन् । तर कतिपय विज्ञहरू विद्युत् बेच्ने नभई त्यसको उपयोग देशभित्रै गर्ने वातावरण बनाउनुपर्ने बताउँछन् । यसका लागि सवारी साधनदेखि भान्सासम्म खनिज इन्धनको विकल्पको रूपमा र औद्योगिक उत्पादनमा विद्युत्को प्रयोग गर्ने व्यवस्था गर्न सकिन्छ ।
बढ्नुपर्छ विद्युतीय सवारी
संसारको ठूलोमध्येको एक विद्युतीय कार उत्पादक ‘बीवाईडी चाइना’ सँगको सहकार्यमा साइमेक्स इन्कले दुई वर्षअघि नै काठमाडौंमा विद्युतीय शहरी रेलको सम्भाव्यता अध्ययन गरेको थियो ।
३ साउन २०७४ मा कम्पनीले मेट्रो रेलको तुलनामा स्काई रेल संचालन गर्दा २० प्रतिशत कम लागत पर्ने भन्दै प्रतिकिलोमिटर रु.३ अर्बको लागत अनुमान गरिएको प्रतिवेदन काठमाडौं महानगरपालिकालाई बुझाएको थियो ।
गत महीना मात्रै चिनियाँ कम्पनी ‘बेइजिङ चाइना एअर रेल ग्रुप’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेर काठमाडौंमा ‘स्काई रेल’ निर्माण गर्न आशय प्रस्ताव गरेका खबरहरू सार्वजनिक भए । कम्पनीले यसअघि चर्चामा आएका मेट्रो तथा मोनो रेलको तुलनामा सस्तो पर्ने र यातायात सहज हुने भन्दै प्रस्ताव पठाएको छ ।
यसअघि नै फ्रान्स सरकारले काठमाडौंमा शहरी केबलकार परियोजना संचालन गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा नेपाल सरकारले पूर्ण अनुदानमा परियोजना बनाउन माग गर्दै आएको छ भने फ्रान्सले सहुलियतपूर्ण ऋणमा परियोजना विकास गर्न आग्रह गरेकाले कार्यान्वयनमा ढिलाइ भइरहेको उक्त परियोजनाको समन्वय गरिरहेका श्यामकृष्ण श्रेष्ठ बताउँछन् । “छलफलमा दुई वर्ष बितिसकेकाले अब बीचको बाटोबाट समझ्दारी निकाल्ने कोशिश भइरहेको छ”, उनी भन्छन् ।
आकाशमा हुइँकिने मात्र होइन, सडकमा गुड्ने सार्वजनिक सवारी साधनलाई समेत विद्युतीय प्रणालीमा रूपान्तरण गर्नुपर्ने माग बढिरहेको छ । नेपाल वातावरण पत्रकार समूह, स्वच्छ ऊर्जा नेपाल र नेपाल विद्युतीय परिवहन संघले २ जेठमा संयुक्त विज्ञप्ति मार्फत यस्तो माग गरेका छन् ।
स्वच्छ ऊर्जा नेपालका अध्यक्ष भूषण तुलाधर भन्छन्, “रातको समयमा खेर जाने बिजुलीलाई भण्डारण गर्ने र त्यसैबाट बिजुली बस संचालन गर्दा ऊर्जा उपयोगमा समेत सन्तुलन ल्याउन सकिन्छ ।” राति बसको ब्याट्री चार्ज गरेर दिउँसो चलाउँदा डिजल र पेट्रोलको आयातमा भइरहेको अर्बौं खर्च कटौती गर्न सकिने उनी बताउँछन् । सरकारी प्रयोजनका लागि किन्ने गाडी सकभर विद्युतीय प्रविधिको ल्याउनुपर्ने उनको तर्क छ ।
बढ्दो वायु प्रदूषणलाई विद्युतीय सवारी साधनको प्रयोगले नियन्त्रण गर्न सकिने र त्यसबाट जलवायु परिवर्तनका असरका साथै स्वास्थ्य जोखिम समेत घटाउन सकिने वातावरण पत्रकार समूहका अध्यक्ष कसमस विश्वकर्मा बताउँछन् ।
उनी सन् २०३० सम्म सार्वजनिक बसहरूलाई विद्युतीय माध्यममा रूपान्तरण गरिसक्ने भारतीय लक्ष्यका कारण पनि नेपालले खनिज इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय ऊर्जामा आधारित हुने गरी रूपान्तरण गर्नुपर्नेमा जोड दिन्छन् । “त्यसो नगरिए भोलिका दिनमा फेरि पनि हाम्रो देश थोत्रा भारतीय गाडीको डम्पिङ साइट बन्नेछ”, उनी भन्छन् ।
वातावरणमैत्री सवारी तथा यातायात नीति, २०७१ ले ‘२०७७ सालसम्ममा समग्र सवारी साधनको कम्तीमा २० प्रतिशत वातावरणमैत्री संचालनमा ल्याउने’ लक्ष्य राखेको थियो । राष्ट्रिय यातायात नीति, २०५८ ले देशभर विद्युतीय यातायात सेवा विस्तार गर्ने, प्रदूषणमुक्त सवारी साधनलाई कर तथा शुल्कमा निश्चित अवधिका लागि छुट दिने व्यवस्था गरेको छ ।
संयुक्त विज्ञप्तिमा साधारण डिजल गाडीको तुलनामा बिजुली बसको मूल्य पाँच गुणा महँगो भएकाले आयात बढ्न नसकेको उल्लेख छ । यो स्थितिमा अहिले भइरहेका बस तथा सार्वजनिक सवारी साधनलाई नै सस्तो लागतमा विद्युतीयमा रूपान्तरण गर्न सकिने नेपाल विद्युतीय परिवहन संघका अध्यक्ष उमेशराज श्रेष्ठ बताउँछन् ।
उनका अनुसार, अहिले चलिरहेका ठूला बसलाई रु.६० लाखदेखि रु.७० लाखसम्मको लागतमा विद्युतीयमा रूपान्तरण गर्न सकिन्छ भने ट्याक्सी लगायतका साना गाडीका लागि रु.८–१० लाख लाग्छ । “यसका लागि लिथियम ब्याट्रीमा अहिले सरकारले लगाउँदै आएको ४० प्रतिशत भन्सार महसुललाई शून्यमा झर्नुपर्छ”, उनी भन्छन् ।
खपतका अन्य विकल्प
देशमा वार्षिक झण्डै ६ लाख टन रासायनिक मलको माग छ । तर, अर्बौं रुपैयाँ अनुदान दिंदा समेत पर्याप्त मल आपूर्ति हुन नकेर कृषि क्षेत्रको उत्पादकत्व बढ्न नसकेको अवस्थामा स्वदेशमै मल कारखाना स्थापना गर्ने योजना भने अलपत्र छ ।
सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेटमा सरकारी–निजी साझेदारी (पीपीपी) अवधारणामा रासायनिक मल कारखाना स्थापना गर्ने घोषणा गरेको थियो । त्यसपछि लगानी बोर्डले भारतीय कम्पनी ‘डेभलपमेन्ट कर्पोरेशन अफ कर्नाटका’ लाई नेपालमा रासायनिक मल उत्पादनको संभाव्यता अध्ययन गर्न लगायो ।
उक्त कम्पनीले ऊर्जा अभावमा तत्कालै कारखाना खोल्न सम्भव नभएको प्रतिवेदन बुझयो । उक्त प्रतिवेदनमा कोइला प्रयोग गरे प्रतिकिलो रु.४०.५ र बिजुलीबाट उत्पादन गरे प्रतिकिलो रु.४८.८ मा रासायनिक मल उत्पादन हुनसक्ने उल्लेख थियो ।
अब विद्युत् आपूर्ति बढ्ने भएपछि स्वदेशमै रासायनिक मल कारखाना स्थापनामा अघि बढ्न सकिने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहप्रवक्ता गोकर्णराज पन्थ बताउँछन् ।
यसका साथै अन्य औद्योगिक प्रतिष्ठानहरूलाई रातको समयमा कारखाना संचालन गर्न सस्तोमा बिजुली दिने विकल्प हुनसक्ने विद्युत् प्राधिकरणका अधिकारीहरू बताउँछन् । यस्तै, घरेलु उपयोग बढाउन इन्डक्सन चूलोमा अनुदान दिएर पनि ग्यासको उपभोग घटाउँदै बिजुलीको प्रयोगमा बढावा दिन सकिने जानकारहरू बताउँछन् ।