सञ्जीव पोखरेलको ‘एक अनि शून्य’ सार्वजनिक
सञ्जीव पोखरेलको पुस्तक ‘एक अनि शून्य’ सार्वजनिक भएको छ। पश्चिमी दर्शनमा आधारित पुस्तक कालिकास्थानस्थित पब्लिकेसन नेपालयको कार्यालयमा आयोजित कार्यक्रममा लेखक पोखरेलले आफ्नै छोरी खुसी पोखरेललाई उपहार दिएर लोकार्पित गरेका हुन्।
पोखरेलले छोरीको पुस्ताले यो पुस्तक पढून, पढ्ने प्रयास गरून् र यसको अन्तरवस्तुलाई मनन गरून् भन्ने आकांक्षा अनुसार आफ्नो पहिलो पुस्तक छोरीलाई उपहार दिएर सार्वजनिक गरेको बताए।
‘एक अनि शून्य’ पश्चिमी दर्शनका आधार मानिने दशवटा प्रमुख दार्शनिक प्रवृत्तिमा केन्द्रित छ। पुस्तकमा आफूले पाश्चात्य ज्ञान परम्पराका केही आधारभूत प्रश्नलाई सरल नेपाली भाषामा बुझाउने प्रयास गरेको लेखक पोखरेलले बताए।
नेपाली समाजमा पाश्चात्य दर्शनको प्रभावबारे पोखरेलले भने, "हाम्रो समाजमा कतिपय राजनीतिक संरचना र तिनका आधारस्तम्भ पश्चिमी समाजबाट आएका छन्। राज्य संरचना, राज्य र नागरिकबीचका अन्तरसम्बन्ध र तिनका राजनीतिक साथै आर्थिक कर्महरू पाश्चात्य सिद्धान्तमा आधारित छन्। त्यसैले मलाई लाग्छ हामीले आफैंलाई बुझ्न पनि पश्चिमलाई बुझ्नु अपरिहार्य हुन्छ।"
पुस्तकको बारेमा टिप्पणी गर्दै विश्लेषक विष्णु सापकोटाले पाश्चात्य दर्शनशास्त्रका बारेमा प्रशस्त पुस्तक लेखिए पनि सरल नेपालीमा लेखिएको यो सीमित पुस्तकमध्ये पर्ने बताए। "यो पुस्तकको विशेषता के पनि हो भने यसले दर्शनलाई राजनीति, साहित्य र सौन्दर्यशास्त्रसँग पनि जोडेको छ," उनले भने।
पुस्तकको शीर्षक 'एक अनि शून्य' ले जन्म, क्षय र विचारहरूको पुनर्जन्मको चक्रलाई सङ्केत गर्छ।
यो पुस्तक पब्लिकेसन्स नेपालयको सन् २०२१ को अन्तिम प्रकाशन रहेको प्रकाशन गृहले जनाएको छ। पब्लिकेसन नेपालयकी प्रकाशकीय सम्पादक भूषिता वशिष्ठले प्रतिकूलताका बावजूद 'एक अनि शून्य' लाई प्रकाशन गर्नैपर्ने पुस्तकका रूपमा बजारमा ल्याउनु एउटा सचेत निर्णय रहेको बताइन्।
"आजको युगमा हरेक सूचना र समाचारको आयु केही निमेषको मात्र छ, हामी अर्को महामारीको दोसाँधमा छौं- विस्मृतिको महामारी। अहिलेको संसारको कोलाहलमा हराएका हामीलाई अल्झाउने कतिपय प्रश्नहरू पहिले नै चर्चा र विघटन भइसकेका छन् भन्ने तथ्यलाई सम्झन गाह्रो छ। त्यसैले, यो पुस्तकले हामीलाई राजनीति र दर्शनमा समसामयिक प्रवचनबाट अनावश्यक आवाजहरू विघटित गर्न मद्दत गर्दछ," वशिष्ठले भनिन्।
पुस्तकको मूल्य रु.४९५ राखिएको छ। यसको ईबुक भर्सन थुप्रै डटकमबाट किन्न सकिने र पुस्तक विश्वव्यापी रूपमा अमेजन मार्फत उपलब्ध हुने पब्लिकेसन नेपालयले जनाएको छ।