कालापानी-लिम्पियाधुरा क्षेत्रलाई आफ्नो तिर पार्न भारतले महाकाली नदीको नामै फेरेर निकाल्यो नक्शा
लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत नेपाली भूभाग आफ्नो तिर पार्न भारतले महाकाली नदीको नामै फेरेर नयाँ नक्शा जारी गरेको छ।
भारतीय सर्वेक्षण विभागले काली (महाकाली) नदीको नामै फेरेर नयाँ नक्शा जारी गरेको छ।
हालै जारी गरिएको भारतको राजनीतिक नक्शाको दशौं संस्करणमा काली नदीलाई ‘कुटी याङ्ती’ भनेर देखाइएको छ। अंग्रेजी भाषामा प्रकाशित यो नक्शामा भारतले कालापानी क्षेत्रको नेपाली भूभागलाई आफ्नो तिर पार्ने गरी महाकाली नदीको नाम फेरेको देखिन्छ।
भारतले निकालेकाे नयाँ नक्शामा लिम्पियाधुरा मुहान भएको काली (कुटी याङ्ती) र लिपुखोलाको दोभानदेखि तल (दक्षिणलाई) काे भागलाई मात्र काली भनिएको छ।
जबकि यसअघि निकालेको नक्शामा लिम्पियाधुरा मुहान भएको नदीलाई काली भनेर उल्लेख थियो। यसअघिका सबै नक्शामा लिम्पियाधुराबाट निस्कने नदीलाई नै काली (महाकाली) भनिएको छ।
भूगोलका प्राध्यापक डा. नरेन्द्रराज खनाल भारतले नेपाली भूमि आफ्नोमा पार्न यस्तो प्रपञ्च रचेको बताउँछन्। उनी भन्छन्, “दशौं संस्करणको नक्शामा देखाइएका कुटी याङ्ती भन्दा ठूला नदीहरू जस्तै धौली वा गार्मा नदीको नाम नलेखिनु र सानो नदी (कुटी याङ्ती) को नाम लेखिनुले काली नदी (लिम्पियाधुराबाट बग्ने) देखि पूर्वको नेपालको भूभाग हडप्ने प्रयासको रूपमा हेर्न सकिन्छ।”
भारतले निकालेको हिन्दी भाषाको नक्शाको सातौं संस्करणमा पनि काली (महाकाली) नदीको नाम फेरेको छ। अंग्रेजी भाषामा प्रकाशित नक्शालाई नै हिन्दी भाषामा पनि राखेको छ। यही नक्शालाई भारतले यसै वर्ष संस्कृत भाषामा पनि प्रकाशित गरेको छ। त्यसमा पनि काली नदीको नाम फेरेको छ।
४ मार्च, १८१६ मा हस्ताक्षर भएको सुगौली सन्धिको पाँचौं बुँदा अनुसार काली नदी पूर्वको सम्पूर्ण भूभाग नेपालको हो। यो सन्धिले अन्तर्राष्ट्रिय सिमाना निर्धारण गरेको काली नदीको नामलाई अहिले ‘कुटी याङ्ती’ राखेर भारतले नयाँ नक्शा सार्वजनिक गरेको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले सार्वजनिक गरेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक अनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले नेपालको ४६०.२८ वर्ग किलोमिटर भूभाग अतिक्रमण गरेको छ।
२ नोभेम्बर, २०१९ मा नेपाली भूभाग समेत आफ्नो तिर पारेर भारतले आठौं संस्करणको नक्शा सार्वजनिक गरेपछि नेपालमा त्यसको चर्को विरोध भएको थियो। यद्यपि त्यो नक्शामा काली नदी स्पष्ट रूपमा भारततर्फ पारिएको थियो।
नेपालमा त्यसको विरोध भएपछि फेरि अर्को नक्शा जारी गरेको थियो। ८ नोभेम्बर, २०१९ मा निकालेको दोस्रो नक्शामा भारतले काली नदी गायब पारेको थियो।
नेपाली भूभागलाई भारतले आफ्नो नक्शामा राखेपछि नेपालले संवाद मार्फत समस्याको निकास चाहेको थियो। भारतले बेवास्ता गरेपछि नेपालले लिम्पियाधुरा सहितको चुच्चे नक्शा ७ जेठ २०७७ मा जारी गर्यो।
त्यो नक्शालाई नेपालले ३१ जेठ २०७७ मा संसद्बाट पारित गरिसकेको छ। नक्शामा उल्लेख भए अनुसार काली नदी पूर्वको कुटी, गुन्जी, गर्ब्याङ लगायतका भूभाग नेपालका हुन्।
नेपाल-अङ्ग्रेज युद्ध रोक्न सन् १८१६ मा सुगौली सन्धि भएको दश वर्षपछि सन् १८२७ मा इस्ट इन्डिया कम्पनीले निकालेको नक्शामा पनि लिम्पियाधुरा मुहान भएकै नदीलाई स्पष्ट रूपमा काली नदी भनिएको छ।
प्राध्यापक खनाल पछिल्लो नक्शा मार्फत भारतले नेपालले संविधान संशोधन गरेर राखेको चुच्चे नक्शालाई चुनौती दिएको बताउँछन्। उनी भन्छन्, “नेपालतर्फको सिमानालाई उसले कति महत्त्व दिएको छ भन्ने भारतको दशौं संस्करणको नक्शाले जनाउँछ।”
भारतले लिपुलेक सहित तिब्बत प्रवेश गर्ने तीन वटै नाका आफ्नोमा पार्न खोजेको देखिन्छ। यो विषयमा नेपाल सरकारले तुरुन्तै भारतसँग कूटनीतिक संवाद गर्नुपर्ने खनालको सुझाव छ।
‘नेपालको भूभाग हडप्ने प्रयास’
भारतले हालसालै प्रकाशन गरेको दशौं संस्करण सन् २०२० को राजनीतिक नक्शामा काली नदीको नाम पुनः संशोधन गरेको छ। सुगौली सन्धिको समयतिर ब्रिटिश सर्भेयर क्याप्टेन डब्लूएस ओबले १८१५ देखि १८१९ सम्म उक्त क्षेत्रको सर्भेक्षण गरी निर्माण गरेको नक्शामा काली नदी भनेर लेखिएकोमा भारतले अहिले निकालेको नक्शामा कुटी याङ्ती नाम दिएको छ। काली भनेर लिम्पियाधुराबाट बग्ने काली नदी र लिपु खोलाको दोभानभन्दा तल नाम राखिएको छ।
सन् २०१७ र २ नोभेम्बर २०१९ मा प्रकाशित नक्शामा धौली वा दर्मा खोलालाई काली नदी भनी लेखिएको थियो। त्यो नक्शालाई लिएर नेपालमा विरोध भएपछि भारतले आफ्नो नक्शाबाट काली भन्ने शब्द हटाएर ८ नोभेम्बर, २०१९ मा पुनः नक्शा निकालेको थियो। अहिले सन् २०२० को दशौं संस्करणमा काली भनी अर्कै ठाउँमा देखाइएको छ।
भारतले कहिले कुन, कहिले कुन नदीलाई काली नदी भनेर नक्शा निकाल्नुलाई दुई किसिमबाट हेर्न सकिन्छ। पहिलो, भारत नक्शा निर्माण/प्रकाशन गर्ने कार्यमा संवेदनशील छैन र जथाभावी नक्शा प्रकाशन गर्दछ। दोस्रो, विभिन्न नदीलाई विभिन्न नक्शामा काली नदी नाम दिएर मानिसलाई भ्रमित पारी नेपाल-भारत सीमा निर्धारण गर्ने कार्यमा बाधा पुर्याउन चाहन्छ।
भारतलाई थाहा हुनुपर्ने कुरा हो कि कुटी याङ्ती भन्नाले स्थानीय भाषामा काली नदी हो, जुन लिम्पियाधुराबाट बग्दछ। भारतले लिम्पियाधुराबाट बगी आउने काली (कुटी याङ्ती) र लिपुखोलाको दोभानदेखि तल (दक्षिणलाई) मात्र काली भनी उल्लेख गरेको छ। उक्त नक्शामा देखाइएका काली (कुटी याङ्ती) भन्दा ठूला नदीहरू जस्तै धौली वा गार्मा नदीको नाम नलेखिनु र सानो नदी (कुटी याङ्ती) को नाम लेखिनुले काली नदी (लिम्पियाधुराबाट बग्ने) देखि पूर्वको नेपालको भूभाग हडप्ने प्रयासका रूपमा हेर्न सकिन्छ।
नेपालले उक्त क्षेत्र आफ्नो संशोधित राजनीतिक तथा प्रशासनिक नक्शाभित्र राखिसकेको छ। नेपालले आफ्नो नक्शामा राखेको उक्त क्षेत्रलाई नेपालमा पर्ने गरी दुई देशबीचको सीमा निर्धारण गर्नेतर्फ विशेष पहल गर्नुपर्दछ। भारतले पनि सुगौली सन्धिताका निकालिएका नक्शाहरूलाई मान्यता दिई लिम्पियाधुराबाट बग्ने काली नदीलाई दुई देशबीचको सीमा निर्धारण गर्न मञ्जुर हुनुपर्दछ।