१४ वैशाखमा स्थानीय तहको निर्वाचन गर्न आयोगको प्रस्ताव
निर्वाचन आयोगले १४ वैशाखमा स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन आयोगका पदाधिकारीको टोलीले १४ वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सुझाएको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहित आयोगका पदाधिकारी स्थानीय तहको निर्वाचन सम्बन्धी छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
प्रधानमन्त्री देउवासँगको भेटपछि आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्पूर्ण सुरक्षा व्यवस्था मिलाई सबै स्थानीय तहको निर्वाचन एकै दिन गर्नु उपयुक्त हुने हुँदा २०७९ वैशाख १४ गते बुधबारका दिन निर्वाचनको मिति तोक्न उपयुक्त हुने र यदि कुनै कारण एकै दिन निर्वाचन गर्न संभव नभएमा पहिलो चरणको वैशाख १४ गते बुधबार र दोस्रो चरणको वैशाख २२ गते बिहीबार गर्न सकिने व्यहोरा प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी गराउनुभएको थियो।”
५ जेठमा स्थानीय तहको अवधि सकिँदै छ। त्यसको दुई महीनाअघि निर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था छ। २०७४ मा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो।
आयोगको सुझावका आधारमा सरकारले निर्वाचनको मिति घोषणा गर्नेछ।