एशियामा बाघभन्दा ध्वाँसे चितुवा दुर्लभ
सन् २०२१ मा गरिएको अध्ययनमा शिकार र अन्य खतराका कारण नेपालदेखि दक्षिणपूर्वी एशियासम्म पाइने ध्वाँसे चितुवाको भविष्य सङ्कटग्रस्त देखिएको वैज्ञानिकहरूले बताएका छन्।
संरक्षण अवस्थाबारे गरिएको एउटा नयाँ अध्ययनमा विश्वभर ३७ सयदेखि ५५ सय ८० वटा परिपक्व अवस्थाका ध्वाँसे चितुवा रहेको अनुमान गरिएको छ। यस आकलनको तल्लो बिन्दुलाई आधार मान्ने हो भने बाघभन्दा ध्वाँसे चितुवा दुर्लभ देखिन्छ किनभने अनुमानित तथ्याङ्क अनुसार अहिले विश्वभर ४ हजार बाघ जीवित रहेको मानिन्छ।
नेपालका हिमाली शृङ्खलाका फेदीदेखि दक्षिण चीन र मलेशियाको दक्षिणसम्म पाइने यो चितुवा विरलै देखिने मांसाहारी हो जसले आफ्नो अधिकांश समय रूखमै बिताउँछ। सुमात्रा र बर्निओमा पाइने सुन्डा ध्वाँसे चितुवा र यो बाघ समूहमा सबैभन्दा सानो आकारका हुन्छन्। सुन्डालाई सन् २००६ मा एउटा छुट्टै प्रजातिको रूपमा पनि ठहर गरिएको थियो।
इन्टरनेशनल युनियन फर कन्जर्भेशन अफ नेचर (आईयूसीएन)ले जोखिममा रहेका प्रजातिको ‘रेड लिस्ट’ तयार गर्दा कुनै प्रजातिको संरक्षणमा तीन पुस्ताको अवस्थामा भएको परिवर्तनलाई अध्ययन गर्छ। सन् २०२१ को ध्वाँसे चितुवामा गरिएको पहिलो अध्ययन थियो जुन सन् २०१६ बाट शुरू गरिएको हो। यो अध्ययनले पछिल्ला तीन पुस्तामा (बाघको आयु करीब २० देखि २१ वर्ष मान्दा) ध्वाँसे चितुवाको सङ्ख्या ३० प्रतिशतभन्दा बढीले घटेको निष्कर्ष निकालेको छ।
“ध्वाँसे चितुवा एउटा जोखिमपूर्ण प्रजातिका रूपमा रहेको र यो हुनुपर्ने कैयौं वनजङ्गलमा अहिले नभेटिने गरेको अध्ययनमा खुलासा गरिएको छ,” वन्यजन्तु संरक्षण कोष (डब्लूडब्लूएफ) काे बाघ फिर्ती कार्यक्रममा कार्यरत अध्ययनका मुख्य लेखक टम ग्रेले भने, “राम्रो वासस्थान भएका म्यानमार, क्याम्बोडिया, भियतनाम र लाओसका विभिन्न ठाउँ जहाँ यो प्रजाति भेटिनुपर्थ्यो, त्यहाँ पनि अहिले पाइँदैन।”
यस प्रजातिको वासस्थान र खतराबारे हालै गरिएको एक विश्लेषणमा उत्तरपूर्वी भारत, भुटान, म्यानमार, थाइल्यान्ड र मलेशियामा तुलनात्मक रूपमा यो ध्वाँसे चितुवा अहिलेसम्म बाक्लै भेटिए पनि भियतनाममा भने पूर्ण रूपमा लोप भइसकेको र चीन र बाङ्लादेशमा लोपोन्मुख हुन सक्ने निष्कर्ष निकालिएको छ।
गणना गर्न चुनौती
ध्वाँसे चितुवाको अनुमानित सङ्ख्या आकलन गर्दा भारत र नेपाल लगायत देशमा बाघको गणना गरे जस्तो एक-एक गरेर गरिएको होइन। एशियाका ठूला क्षेत्रमा ध्वाँसे चितुवाको घनत्व सम्बन्धी गरिएका अध्ययनका तथ्याङ्कलाई नै विस्तार गरी त्यसका आधारमा अनुमानित सङ्ख्या निकालिएको हो। यस सम्बन्धी निकै कम तथ्याङ्क मात्र प्रकाशित भएको र यसको क्षेत्रमा रहेका वासस्थान र खतराका सन्दर्भमा ठूलो भिन्नता रहने गरेको हुँदा यसको समग्र अनुमानित सङ्ख्या र प्रवृत्ति (ट्रेन्ड) बारे निष्कर्षमा पुग्न निकै चुनौतीपूर्ण छ। “यी धेरै कुरा हस्तक्षेपका कारण भएको हो,” ग्रेले भने, “वासस्थानको क्षति, शिकार गर्ने प्रवृत्ति, वन्यजन्तु व्यापार सम्बन्धी तथ्याङ्क र जङ्गलमा थापिएका पासोहरूको सङ्ख्याका आधारमा हामीले यस्तो भइरहेको छ भन्ने विश्वास गरेका हौं।”
ध्वाँसे चितुवा सम्बन्धी जानकारी सङ्कलन गर्न ग्रेले सो प्रजाति पाइने सबै देशका (चीन बाहेक) अनुसन्धान टोलीहरूसँग काम गरेका छन्। यो प्रजातिको सङ्ख्या र प्रवृत्तिहरूबारे आकलन गर्न यसको क्षेत्रलाई नक्साङ्कन गरिएको थियो र त्यसो गर्दा जङ्गल फँडानीको दर, अवैध शिकार र वन्यजन्तु व्यापार जस्ता जोखिमलाई ध्यान दिइएको थियो।
वन्यजन्तु संरक्षण समाज लाओसका संरक्षण विज्ञान निर्देशक एकोसान रेसफोनले समयक्रममा ध्वाँसे चितुवाको उपलब्धताबारे अनुगमन गर्न एउटा अनुसन्धान तयार पारिन्। उनले सम्पन्न गरेको सो अनुसन्धान लामो समय लगाएर गरिएको (लङ्गिच्युडिनल) निकै कम अनुसन्धानमध्ये पर्छ। रेसफोनको अनुसन्धानका क्रममा लाओसको एउटा संरक्षित क्षेत्रमा सो वन्यजन्तुको सङ्ख्या पत्ता लगाउन क्यामरा जडान गरिएको थियो।
सन् २०१३ देखि २०१७ सम्मको अवधिमा गरिएको साे अनुगमनबाट ध्वाँसे चितुवाको सङ्ख्या घटेको देखियो। “दुःखको कुरा, यसमा यति धेरै काम गर्नुपर्छ र यति महँगो काम छ कि यही काम लाओसभर पनि गर्न सकिंदैन,” रेसफोनले भनिन्। आईयूसीएनका लेखकहरूले चाहिं ध्वाँसे चितुवाको घनत्व आकलन गर्न तथ्याङ्क सङ्कलन गर्दा बढी समय नलगाई गरिने (नन-लङ्गिच्युडिनल) विधिबाटै गरे।
यस्तो तथ्याङ्क पनि कम मात्र उपलब्ध हुन्छ। गैरसरकारी संस्था आरान्याकको कानूनी तथा पैरवी शाखाका वरिष्ठ प्रबन्धक समेत रहेका अध्ययनका सहलेखक जिम्मी बोराहले भारतमा त्यस्तो तथ्याङ्क कसरी सङ्कलन गरिन्छ भन्नेबारे व्याख्या गरेका छन्। उनका अनुसार, ध्वाँसे चितुवाबारे उपलब्ध अधिकांश तथ्याङ्क बाघ वा अन्य प्रजातिलाई लक्षित गरी क्यामरा जडान गरेर तथ्याङ्क सङ्कलन गरेका वेला लिइएको हो। “घनत्वको आकलन गर्न त (रेकर्ड गरिएको) राम्रो सङ्ख्या हुनुपर्छ, तर ध्वाँसे चितुवा सम्बन्धी त्यस्तो आँकडा त निकै दुर्लभ छ,” बोराहले भने।
ध्वाँसे चितुवाले सामना गर्ने अनगन्ती खतरा
आईयूसीएनको एक अध्ययनले कुनै प्रजातिले उसको आफ्नो धेरैजसो क्षेत्र र मुख्यतः दक्षिणपूर्वी एशियामा ज्यान जोगाउन सामना गर्ने खतरा सम्बन्धी एउटा तस्वीर प्रस्तुत गरेको छ। “ध्वाँसे चितुवाका लागि सबैभन्दा ठूलो खतरा त पक्कै पनि पासोमा पारेर गरिने शिकार नै हो जसमा सीधै उनीहरूलाई नै लक्षित गरिएको र अन्य जन्तुलाई थापेको पासोमा झुक्किएर ध्वाँसे चितुवा परेको समेत गरी दुवै हुन सक्छ,” ग्रेले द थर्डपोलसँग भने।
पासो थाप्ने अर्थात् जङ्गलमा सामान्य रूपमा तार बिछ्याएर छाड्ने र त्यहाँबाट हिंड्ने जनावरलाई सहजै नियन्त्रणमा लिने तरीका नै दक्षिणपूर्वी एशियाभर वन्यजन्तुको सङ्ख्यामा ठूलो गिरावट आउनुको एउटा प्रमुख कारण बनेको छ। “समग्र दक्षिणपूर्वी एशियामा नै पासो थाप्ने काम एउटा ठूलो खतरा बनेको छ,” रेसफोनले भनिन्, “यो निकै सजिलो उपाय भयो, उत्तिकै सस्तो र यसले कुनै प्रजातिबीच विभेद पनि गर्दैन।”
लक्षित नै होस् वा झुक्किएर जे भए पनि एक चोटि पासोमा परेपछि ध्वाँसे चितुवाको छाला र अन्य अंगहरू अवैध वन्यजन्तु व्यापारको सञ्जालमा पुगिहाल्छन्। दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार नियन्त्रण महासन्धि (साइटिस)ले ध्वाँसे चितुवाका अङ्गको अन्तर्राष्ट्रिय व्यापारमा प्रतिबन्ध लगाएको छ। तर, म्यानमार-चीन र म्यानमार-थाइल्यान्ड सीमामा हुने अवैध वन्यजन्तु बजारको अध्ययन गर्दा त्यहाँ यो प्रजातिका अङ्ग पनि सबैभन्दा धेरै बिक्रीमा राखिने प्रजातिमध्येमा रहेको पाइएको छ।
म्यानमारको वाइल्डलाइफ एन्ड इकोसिस्टम कन्जर्भेशन एक्सन नेशनवाइड (विक्यान) गैरसरकारी संस्थाकी संस्थापक सपाई मिनले द थर्ड पोललाई इमेल मार्फत दिएको जानकारी अनुसार कोभिड-१९ महामारीभन्दा केही समयअघि गरिएका सर्वेक्षणमा ती सीमाबजारमा त्यस्तो व्यापार सक्रिय रूपमा भइरहेकै पाइएको थियो। “ध्वाँसे चितुवाको छाला सबैभन्दा बढी व्यापार हुने अङ्गमा पर्छ, त्यसपछि क्रमशः तिनीहरूका खप्पर र तिखा दाँतको व्यापार हुन्छ जुन मुख्यतः सजावटका लागि प्रयोग गरिन्छ,” उनले भनिन्।
ध्वाँसे चितुवाको छाला त प्रष्टै छुट्टिन्छ, तर त्यसका हड्डी र दाँतहरू भने बाघको भनेर झुक्याउन सकिन्छ। गहना बनाउन र परम्परागत चिनियाँ औषधिका लागि बाघका हड्डी र दाँतहरूको ठूलो माग हुने गरेको छ। वन्यजन्तुको अवैध व्यापारबारे सन् २०१८ मा आसामको मानसमा अध्ययन गर्दा त्यस्तै घटनाहरू भेटिएको बोराहले स्मरण गरे। “बाघका दाँत र हड्डी भनेर एक जनाले बेच्न लागिरहेका वेला सरकारी अधिकारीहरूले साे व्यक्तिलाई घटनास्थलमै पक्राउ गरेका थिए,” उनले भने।
वासस्थान गुम्ने र स्थानीय रूपमा लोप हुने क्रम जारी रहँदा यो प्रजातिको सङ्ख्या बढ्दो रूपमा छिन्नभिन्न भइरहेको छ भने आनुवंशिक विविधता (जेनेटिक डाइभर्सिटी)को कमीले पनि यसको दीर्घकालीन अस्तित्वमा खतरा उत्पन्न गरेको छ। “चोरी शिकार जत्तिकै गम्भीर त नहोला, तर प्रजननको कुरा पनि यस क्षेत्रको संरक्षण समुदायले सम्बोधन गर्नुपर्ने विषय हो,” अध्ययनका अर्का सहलेखक व्येट पिटरसनले भने।
थाइल्यान्डको खाओ याई राष्ट्रिय निकुञ्जमा एउटा ध्वाँसे चितुवाको फोटो खिचिएको छ जसको पुच्छर अस्वाभाविक रूपमा बाङ्गो देखिन्छ। फ्लोरिडा प्यान्थर जस्तै अन्य प्रजातिमा प्रजनन गराउँदा यस्तो विशेषता देखिने गरेको छ।
“फ्लोरिडा प्यान्थरमा, बाङ्गो पुच्छर भएकामा मुटुमा पनि कमजोरी देखियो, रोग प्रतिरोधात्मक शक्ति कमजोर र बच्चा जन्माउने क्षमतामा समस्या देखियो जसले गर्दा समग्रमा प्रजनन दर र बाँच्ने सम्भावना घटेको पाइयो। ध्वाँसे चितुवामा पनि त्यस्तै अवस्था छ कि छैन भन्ने चाहिं हेर्नुपर्छ,” पिटरसनको भनाइ छ।
झन् बढी खतरामा रहेको प्रजाति?
सन् २०२१ को आकलनमा ध्वाँसे चितुवाको समग्र उपलब्धता निरन्तर घटिरहेको पाइएको र केही ठाउँमा निकै तीव्र रूपमा घटेको देखिए पनि यस प्रजातिलाई आईयूसीएनको ‘सङ्कटापन्न’ सूचीमा भने राखिएन। त्यसैले यसको समग्र अवस्थालाई ‘जोखिमयुक्त’ मा राखिएको छ। यसो हुनुको आंशिक कारण चाहिं आईयूसीएनको ‘रेड लिस्ट’ सम्बन्धी मापदण्ड निकै कडा भएर पनि हो। ‘सङ्कटापन्न’ का रूपमा सूचीकृत हुन कुनै प्रजाति १० वर्षदेखि वा तीन पुस्तादेखि कम्तीमा ५० प्रतिशतले घटेको वा घट्ने आकलन गरिएको हुनुपर्छ वा विश्वमै निकै सानो क्षेत्र वा सङ्ख्यामा सीमित भएको हुनुपर्छ।
यस सम्बन्धी शुरूका मापदण्डमा ध्वाँसे चितुवा पनि पर्छ। चोरीशिकार, पासोमा पार्ने र वासस्थान गुमाएर सन् १९९९ देखि बाङ्लादेश, क्याम्बोडिया, चीन, लाओस, म्यानमार र भियतनाममा यसको सङ्ख्या ‘३० प्रतिशतभन्दा निकै बढी’ अनुपातमा घटेको हुन सक्ने आईयूसीएनकै आकलनमा देखिएको छ। कुनै प्रजातिको सङ्ख्या केही ठाउँमा व्यापक रूपमा घटे पनि अन्यत्र त्यसको सङ्ख्या स्थिर रहेको मानियो भने सो प्रजातिको समग्र अवस्थामा फरक पार्दैन।
भारत, नेपाल, भुटान र थाइल्यान्ड लगायत अन्य केही देशमा त्यसको सङ्ख्या सामान्यतया स्थिर रहेको भन्ने मान्यताका आधारमा ध्वाँसे चितुवाको आकलन गर्ने काम गरियो। प्रमाणका रूपमा ठोस तथ्याङ्क नभए पनि त्यस सम्बन्धी प्राप्त केही प्रमाणका आधारमा त्यसो गरिएको हो। “वास्तवमा यदि हाम्रो अनुमान गलत रहेछ भने र यदि उत्तरपूर्वी भारतमा यसको सङ्ख्या घटिरहेको रहेछ भने, वा जुन स्तरमा दक्षिणपूर्वी एशियामा घटिरहेको छ त्यसरी नै घट्यो भने त एउटा ठूलो सूची नै बन्नुपर्ने हुन्छ,” ग्रेले भने।
“मलाई व्यक्तिगत रूपमा त यसलाई जोखिमपूर्ण प्रजातिका रूपमा निरन्तरता दिनुभन्दा सङ्कटापन्नका रूपमा लिनुपर्छ भन्ने लाग्छ,” बोराहले भने, “त्यसले गर्दा मलेशिया र नेपाल जस्ता कम प्रभावित देशहरूमा वन्यजन्तुको अवैध व्यापार विस्तार हुने अवस्थामा परिवर्तन गर्नसक्थ्यो।”
सुरक्षा सम्बन्धी बलिया कानूनको व्यवस्था, संरक्षित क्षेत्रमा चोरीशिकार विरुद्ध गतिविधि सञ्चालन र सरकारी सहयोग प्राप्त भएका कारण भारत र नेपाल लगायत देशमा यो प्रजातिको सङ्ख्या तुलनात्मक रूपमा स्थिर राख्न सम्भव भएको हुँदा त्यसै गर्नुपर्ने बोराहको जोड छ। “लाओस, क्याम्बोडिया र भियतनाम लगायत देशमा पनि त्यस्तै सशक्त सुरक्षा प्रदान नगर्ने हो भने मलाई लाग्छ ध्वाँसे चितुवाको मात्र होइन, अन्य जीवजन्तुहरूको पनि भविष्य निकै अन्धकारमय हुनेछ।”
(द थर्ड पोलमा ‘एशियामा बाघभन्दा ध्वाँसे चितुवा दुर्लभ हुन सक्छ’ शीर्षकमा प्रकाशित।)