‘कसैले एक डोज पनि नपाउँदा अन्यलाई बुस्टर डोज दिनु न्यायोचित होइन’
कोभिड-१९ ले रूप परिवर्तन (म्युटेशन) गर्दा नयाँ नयाँ भेरियन्ट देखापर्न थालेपछि यो महामारी लामो समयसम्म समुदायमा रहने निश्चित जस्तै छ। ओमिक्रोन नामक नयाँ भेरियन्टको केस भारतमा बढिरहेको छ। त्यसको असर नेपालमा देखिने जनस्वास्थ्यविद् बताउँछन्। यसअघि देखिएको डेल्टा भेरियन्टको हकमा सो कुरा पुष्टि भइसकेको छ।
ओमिक्रोन भेरियन्ट, बुस्टर डोज र कोभिड-१९ महामारीका बारेमा अमेरिकाको मायो क्लिनिकमा अनुसन्धानरत जीवाणु वैज्ञानिक डा. सुदीप खड्कासँग हिमालखबरका सागर बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंश:
नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिन्छ भन्ने अपेक्षित नै थियो। नेपालमा पनि ओमिक्रोन भेरियन्टका केस भेटिएका छन्। अबको हाम्रो सतर्कता कस्तो हुनुपर्छ?
अहिलेको परिवेशमा एउटा भेरियन्ट संसारको एक कुनाबाट अर्कोमा पुग्न सात-दश दिन पनि लाग्दैन भन्ने विगतका भेरियन्टहरूको विस्तारबाट पुष्टि भएको छ। ओमिक्रोन भेरियन्ट पहिचान हुनुअघि नै विभिन्न मुलुकमा फैलिन थालिसकेको थियो भन्ने पनि पुष्टि भएकै हो।
ओमिक्रोन भेरियन्ट नयाँ भए पनि हामीले अपनाउनुपर्ने सावधानी भने पुरानै हुन्। यसका कारण हुने सङ्क्रमण पनि उस्तै हो। त्यसैले हामीले विगतमा जस्तै सङ्क्रमणबाट जोगिन मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, खोप लगाउने कुरामा हेलचेक्र्याइँ गर्नु हुँदैन। यति हुदाँहुँदै पनि यसमा केही थोरै फरक भएकाले अलि बढी सतर्क हुनुपर्छ।
हालसम्मको अध्ययनमा डेल्टाभन्दा ओमिक्रोन भेरियन्ट के अर्थमा फरक छ?
भाइरसको जिनमा प्राकृतिक रूपमा नै विभिन्न परिवर्तन हुन्छन्। अधिकांश त्यस्ता परिवर्तन भाइरसका निम्ति हानिकारक हुँदा परिवर्तित भाइरस स्वतः लुप्त हुन्छन्। केही परिवर्तनले भाइरसको गुणमा खासै फरक पार्दैन भने केहीले भाइरसका गुणमा भिन्नता ल्याउँछ।
हाम्रा लागि जोखिम बढाउने भनेको त्यस्तै परिवर्तन हुन् जसले भाइरसलाई छिटो बढ्न मद्दत गर्छन्, एकबाट अर्कोमा सर्ने दर उच्च र प्रभावकारी बनाइदिन्छन् र सङ्क्रमणका कारण हुने रोगलाई जटिल बनाइदिन्छन्।
अर्को खतरा भनेको पूर्ववत् सङ्क्रमण भएर वा खोप लगाएर बनेको एन्टिबडीले पहिचान गर्न नसक्ने गरी भाइरस परिवर्तित हुँदा हाल उपलब्ध खोप प्रभावहीन हुन सक्छन्।
ओमिक्रोनको ‘स्पाइक प्रोटिन’ मा थुप्रै परिवर्तन देखिएका छन् जुन पहिले देखिएका भेरियन्टहरूभन्दा अत्यधिक छ। यी परिवर्तनमध्ये केही परिवर्तन खोप वा पूर्ववत् सङ्क्रमणका कारण सिर्जित एन्टिबडीले पहिचान गर्ने भागमा देखिंदा यो भाइरसले केही हदसम्म पुरानो एन्टिबडीलाई छल्न सक्छ।
प्रारम्भिक आँकडा अनुसार, यो भेरियन्ट पुराना भेरियन्टभन्दा तीव्र गतिमा फैलिन सक्ने हो कि भन्ने देखिएको छ। साथै, खोप लगाइसकेका र सङ्क्रमण भएर निको भएका व्यक्तिमा पनि पुनःसङ्क्रमणको खतरा अलिक धेरै देखिएको छ।
ओमिक्रोनका बारेमा हालसम्म भएका अनुसन्धानमा के नतीजा आएका छन्?
भाइरसको सङ्क्रमण शुरू भएको केही समय पश्चात् मात्र समुदायस्तरमा विस्तार हुने भएकाले त्यो विस्तारको अध्ययन र विश्लेषण गर्न केही समय लाग्छ नै। त्यसैले हामी अझै सङ्क्रमणको वास्तविक खाकामा स्पष्ट हुन सकेको अवस्था होइन।
हालसम्म उपलब्ध नतीजाबाट केही सङ्केत भने मिलेको छ। पहिलो, यसको सङ्क्रमणदर उच्च छ, जसले गर्दा समुदायमा चाँडो फैलिनसक्ने डर छ। पुरानो एन्टिबडी कम प्रभावकारी भएको देखिएको छ। यद्यपि, एन्टिबडी मात्रै प्रतिरोध क्षमताको पूर्ण चित्र होइन। शरीरका अन्य थुप्रै कुराको समायोजनले सङ्क्रमण रोक्ने हो। त्यसैले नयाँ सङ्क्रमण रोक्न पूर्ववर्ती क्षमताले कत्तिको काम गर्छ भन्ने पुष्टि हुन केही समय लाग्छ।
सङ्क्रमणलाई रोकिएन भने ठूलो सङ्ख्यामा सङ्क्रमित हुन्छन्। त्यसो भयो भने गम्भीर लक्षण देखिनेको सङ्ख्या पनि ठूलै हुन जान्छ। त्यस्तो अवस्था आयो भने हाम्रो स्वास्थ्य संस्थालाई धान्न गाह्रो पर्छ। अहिले केही अफ्रिकी र युरोपेली देशमा यही परिदृश्य देखिंदै छ।
खोप लगाएका व्यक्तिमा सङ्क्रमण हुन सक्ने भए पनि तेस्रो डोज अर्थात् बुस्टर लगाएका व्यक्तिमा भने सङ्क्रमणको सम्भावना कम देखिएको छ। त्यस्तै, खोप लगाएका व्यक्ति सङ्क्रमित भए पनि तिनको मृत्युदर भने कम छ।
‘हरेक बादलमा चाँदीको घेरो हुन्छ’ भने जस्तै अनुसन्धानहरूले ओमिक्रोन सङ्क्रमित व्यक्तिमा डेल्टा वा अन्य भेरियन्टभन्दा केही मत्थर लक्षण हुने देखाएको छ। अर्थात्, सङ्क्रमण दर उच्च भए पनि सङ्क्रमितको गम्भीरता घटेको हो। त्यस्तै, केही अनुसन्धानले ओमिक्रोनले घाँटीमा सङ्क्रमण गर्न सक्ने भए पनि फोक्सोमा सङ्क्रमण गर्न सक्ने क्षमता भने कम भएको देखाएका छन्। यसलाई सुखद सङ्केत मान्नुपर्छ।
डेल्टा भेरियन्ट फैलिएको दोस्रो लहरलाई नेपालको स्वास्थ्य प्रणालीले थेग्न सकेन। अस्पताल, बेड र जनशक्तिको अभावमा बचाउन सकिने खालका सङ्क्रमितको पनि मृत्यु भयो। ओमिक्रोन भेरियन्ट समुदायमा फैलियो भने हाम्रो स्वास्थ्य प्रणालीले धान्न सक्ला त?
अध्ययनहरूका आधारमा के भन्न सकिन्छ भने, डेल्टाको विस्तार र हालको सङ्क्रमण चरित्रमा भिन्नता छ। पहिलो कुरा, विगतको तुलनामा खोपको वितरणको अवस्था फरक छ। शहरी क्षेत्रका अधिकांश जोखिम समूहमा रहेका व्यक्तिले खोप पाइसकेका छन्। त्यसले सङ्क्रमण विस्तारलाई रोक्छ भने सङ्क्रमण भइहाले पनि अपवाद बाहेक लक्षण गम्भीर नहुने देखिन्छ।
शुरूआती दिनमा हाम्रो तयारी न्यून थियो। अक्सिजन नै नपाएर पनि अधिकांशले ज्यान गुमाए। अहिले त्यो स्थितिमा सुधार आएको छ भने स्वास्थ्यकर्मीहरू पनि थप प्रशिक्षित छन्। यी सकारात्मक पक्ष हुन्।
ढुक्क हुन सक्ने अवस्था कत्तिको छ?
के बुझौं भने लापरवाही त गर्नु नै भएन। सामान्य ज्वरो आउँदा लापरवाही गरियो भने त गम्भीर खतरा निम्तिन्छ भने यो त सङ्क्रमण दर उच्च भएको रोग पर्यो। तुलनात्मक रूपमा कम जनसङ्ख्या जोखिममा पर्ने भए पनि निश्चित प्रतिशतमा गम्भीर लक्षण देखिने सम्भावना उच्च छ।
सङ्क्रमणलाई रोकिएन भने ठूलो सङ्ख्यामा सङ्क्रमित हुन्छन्। त्यसो भयो भने गम्भीर लक्षण देखिनेको सङ्ख्या पनि ठूलै हुन जान्छ। त्यस्तो अवस्था आयो भने हाम्रो स्वास्थ्य संयन्त्रलाई धान्न गाह्रो पर्छ। अहिले केही अफ्रिकी र युरोपेली देशमा यही परिदृश्य देखिंदै छ। तसर्थ नेपालले पनि त्यस्तो अवस्था नआओस् भन्न ओमिक्रोनको फैलावटलाई कसै गरी रोक्नु नै उत्तम विकल्प हो।
नेपालमा हालसम्म खोपको पहुँच राम्रो छैन। स्वास्थ्य मन्त्रालय भने बुस्टर डोजको तयारीमा छ। हालको अवस्थामा स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने चाहिं के हो?
पहिलो, खोप लगाउँदै नलगाएका भन्दा एक डोज मात्र लगाएका व्यक्ति बढी सुरक्षित हुन्छन् भन्ने कुरा पुष्टि भइसकेको छ। एकै डोजले पनि मृत्युबाट जोगाउन ठूलो काम गर्छ। नेपालको कोरोना मृत्युदरमा डेल्टा भेरियन्ट प्रमुख रहेको छ, जसलाई रोक्न एकै डोज खोप पनि प्रभावकारी हुन्छ।
त्यसैले खोप वितरणलाई सकेसम्म बढाउनुको विकल्प छैन। राज्यले प्रत्येक नागरिकले कम्तीमा पनि एक डोज खोप पाऊन् भन्नेमा ध्यान दिनु जरुरी छ। जसले नागरिकलाई अधिकतम सुरक्षित बनाउँछ र गम्भीर बिरामी हुन र मृत्युबाट जोगाउँछ।
ओमिक्रोन भेरियन्ट विदेशबाटै आउने भएकाले सीमानाकामा निगरानी गर्नुपर्यो। सङ्ख्यात्मक वृद्धि भएमा ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न गाह्रो हुन्छ। त्यसैले अहिलेदेखि नै यी विषयमा गम्भीर हुनुपर्यो।
दोस्रो, एक डोज खोप लिएका व्यक्तिलाई दोस्रो डोज दिनुपर्छ। त्यसो गर्दा खोप अधिकतम प्रभावकारी हुन्छ। साथै, जोखिम समूहमा रहेका व्यक्तिलाई तेस्रो डोज (बुस्टर) पनि लगाउनुपर्छ। जोखिम समूह भन्नाले रोग प्रतिरोध क्षमता कमजोर भएका, दीर्घरोघी वृद्धवृद्धा, कोभिड वार्डमा काम गर्ने स्वास्थ्यकर्मी पर्छन्।
अमेरिका लगायत केही देशमा अधिकांशले दुवै खोप लगाइसकेका छन् र खोपको सहज उपलब्धता पनि छ। त्यस्ता ठाउँमा सबैलाई बुस्टर डोज दिनु स्वाभाविक हो। तर, नेपालमा कसैले एक डोज पनि नपाउँदै अन्यले बुस्टर पाउनुलाई न्यायोचित वितरण मान्न सकिन्न।
तत्काल ओमिक्रोनले गर्न सक्ने क्षति रोक्न चाल्नुपर्ने कदम के के हुन्?
ओमिक्रोन भेरियन्ट विदेशबाटै आउने भएकाले सीमानाकामा निगरानी गर्नुपर्यो। सङ्ख्यात्मक वृद्धि भएमा ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न गाह्रो हुन्छ। त्यसैले अहिलेदेखि नै यी विषयमा गम्भीर हुनुपर्यो। ओमिक्रोनलाई पीसीआर प्रणालीबाटै पहिचान गर्न सकिने हुँदा अविलम्ब यसको प्रयोग गरी ओमिक्रोन हो वा होइन भनी निर्क्योल गर्नुपर्छ।
खोपको उचित भण्डारण, वितरण र कार्यक्रम चुस्त हुनुपर्यो। कोरोना लामो समयसम्म समुदायमा रहने भएकाले दीर्घकालीन खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ। पोलियो, दादुरा जस्ता रोग विरुद्ध सञ्चालित खोप अभियान जस्तै कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्न दीर्घकालीन योजनाको खाका निर्माणमा लाग्नुपर्ने पनि देखिन्छ।
विगतमा उपचार पद्धतिमा एकरूपता भएन। त्यस्तै, औषधि र उपचार विधिको पनि दुरुपयोग भयो। त्यस्तो अभ्यास रोक्न स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिल, विश्व स्वास्थ्य सङ्गठन, अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन जस्ता संस्थाको समन्वयमा उचित निर्देशिका निर्माण गरिहाल्नुपर्ने देखिन्छ।
बन्दाबन्दीको सम्भावना देख्नुहुन्छ?
अहिले नै यो विकल्पबारे सोच्ने वेला भएको छैन। मुख्य कुरा हामीले समुदायमा निगरानी चुस्त राख्नुपर्छ। त्यसका लागि परीक्षणको दायरा फराकिलो पार्नुपर्छ। परीक्षण गर्न आएकालाई मात्र परीक्षण गरेर पुग्दैन।
कुनै स्थानमा सङ्क्रमित देखिएमा कन्ट्याक्ट ट्रेसिङ गरेर सम्भावित सङ्क्रमितको पहिचान गर्ने र उनीहरूलाई आइसोलेट गर्ने जस्ता कार्यमा विलम्ब गर्नु हुँदैन। यति गर्न सकिए बन्दाबन्दी पनि गर्नु नपर्ला, तर काम प्रभावकारी हुनुपर्यो।
तैपनि, सङ्क्रमण बढिहालेको खण्डमा पहिलेको जस्तो सम्पूर्ण क्षेत्र बन्द गरेर हुँदैन। सङ्क्रमण दर कुनै स्थान विशेषमा अत्यधिक देखिएमा विज्ञको सल्लाह अनुसार सो स्थान ‘सिज’ गर्न सकिन्छ।
फेरि पहिलेको जस्तो म्याद थपेको थप्यै गर्ने गरी अनिश्चितताको घेराबन्दीमा पार्नु भने हुँदैन। सङ्क्रमणको चक्र तोड्न सफल हुने गरी छोटो अवधिको गर्नुपर्छ। तर, आशा गरौं त्यस्तो स्थिति नआउला।