संसारमा लम्केका र छुटेका नेपाली
विदेशमा हुर्केका सन्ततिले हाम्रो सेखपछि छुट्टी मनाउन यूरोप, अमेरिका वा मध्यअमेरिका ताक्लान्, तर नेपाल ताक्दैनन्। हाम्रो पो नेपालमा बाआमा छन्, साथीसँगी छन्। जन्मेको घर र हुर्केको आँगन छ।
‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ’ भन्ने स्वदेश गान रेडियो नेपालमा खूब बज्ने गरेको थियो। लाग्छ, सो गीतले हामी नेपालीलाई संसारको जुनसुकै ठाउँमा गएर बस्न, प्रगति गर्न र रमाउन उत्प्रेरित गरेको छ।
अहिलेको आधुनिक युगमा विश्वका कुनाकाप्चामा लम्केका, चम्केका नेपालीको सङ्ख्या अथाह छ। आफ्नो पुरातन थातथलो छोडेर विश्वका अनेक गाउँशहरमा बसेका हामीलाई कसैले ‘को हौ?’ भनेर सोधे ‘हामी नेपाली’ भनेर फ्याट्ट उत्तर दिन सजिलो छ। तर, सोध्नेले ‘खोइ नेपाल?’ भनेर प्रतिप्रश्न गरे प्रत्युत्तरमा ‘छुट्यो’ भन्नुपर्ने हुन्छ। यो उत्तरले भने हाम्रो मन भारी हुन्छ।
आखिर नेपाल छुट्नुपर्ने गरी नेपालीलाई केले देशदेशावर पुर्याइरहेको छ त? कामले? शिक्षाले? अवसरले? विदेशमा घरबार गरेर बस्ने नेपालीले आफूलाई ‘पलायनवादी’ ठानेको मैले पाएको छु। विशेषतः लेखपढ गरेको जमात आफूलाई ‘पलायनवादी’ भन्दै गफिने गर्छ।
नेपाल बाहिर पनि हामीलाई नेपाली नै बनाइराख्न भाषा, वेशभूषा, चाडपर्व, कला-संस्कृतिले भूमिका निर्वाह गरेका छन्। त्यस्तै, हाम्रा पितापुर्खा मार्फत हामीमा सरेको व्यक्त-अव्यक्त मनोभाव र दृश्य-अदृश्य सांस्कृतिक छिटाहरूको पनि भूमिका छ नै। आपसी सरसहयोग, भलाकुसारी, पर्मपैंचो, भोजभतेर पनि हामीलाई बाँध्ने विषय हुन्।
हाम्रा पितापुर्खा मार्फत हामीमा सरेको व्यक्त-अव्यक्त मनोभाव र दृश्य-अदृश्य सांस्कृतिक छिटाहरूको पनि भूमिका छ नै। आपसी सरसहयोग, भलाकुसारी, पर्मपैंचो, भोजभतेर पनि हामीलाई बाँध्ने विषय हुन्।
हाम्रो नेपाली पहिचानका आधार यिनै हुन्। तर, मुगलाने जीवनमा यो कुरा भन्न जति सजिलो छ, व्यवहारमा उर्तान उति नै गाह्रो।
हँसिया-हथौडा मार्का राजनीतिक कथ्य र भाष्य दह्रो गरी गडेको हाम्रो समाजमा ‘पश्चिमा संस्कृति’ अपहेलित प्रचार र सङ्कथनको तारो बनेको देखिएकै थियो। अस्तिसम्म अङ्ग्रेजी भाषालाई गाईखाने भाषा भनिएको थियो भने आज अधिकांश हामी जीवनको उत्तरार्धमा ‘पश्चिमा संस्कृति’ का थलोमा कर्म गर्दै त्यही भाषा अँगाल्न घोटिइरहेका छौं।
हामीपछिको पालुवा पुस्ता त ‘पश्चिमा संस्कृति’ मा यसरी डुबिसक्यो जसरी चास्नीमा रसवरी डुबेको हुन्छ। सन्ततिलाई आफ्नो जरो बिर्सिएर देशान्तरी चास्नीमा डुबेको मौरी हुन दिने कि नदिने भन्ने चुनौती हामी मुगलानेलाई छ।
‘देशै छोडेर हिंडेकाले संस्कृति र मौलिकताको कुरा गरेर धेर स्वाङ नपारेकै जाति’ भन्ने अर्ती सामाजिक सञ्जालमा बरोबर आइरहन्छ। तर, सोची ल्याउँदा मान्छेले देश छोड्दा जमीन मात्र छोड्ने रहेनछ। हुर्कंदा-बढ्दा आर्जित ज्ञान, मूल्य, भावना मान्छेसँगै बसाइँ जाँदो रहेछ।
मुगलाने थलोमा सुस्ताउनका लागि नेपाली माटोको वास आउने चौतारी र सास छुटेपछि सेलाउने घाट छैनन्। यहाँ पनि चौतारी र घाटै नभएको त होइन। तर, यो मन-मुटु गाडिएको नेपालीपनको घाट र चौतारी भने पाइँदो रहेनछ। यहाँको चौतारीका सुसेली र घाटका रोदनले नेपालीपन दिन सक्दो रहेनछ।
मान्छेले देश छोड्दा जमीन मात्र छोड्ने रहेनछ। हुर्कंदा-बढ्दा आर्जित ज्ञान, मूल्य, भावना मान्छेसँगै बसाइँ जाँदो रहेछ।
छन त यहाँ पनि चियापसल छन्। सुकिला, चिल्ला र चिटिक्क चिया पसलले आधा जोवन नेपालमा बिताएका हामीलाई तानेको छैन। काठको बेन्ची गाडिएको चोकको पसलमा आँखै अघिल्तिर उमालेको चियामा स्वाद परेको जिब्रो र आँखालाई गाडीबाट भुइँमा खुट्टो नझारी हातैमा आउने ‘ड्राइभ थ्रु’ का चियाले धीत मर्दो रहेनछ।
‘यहाँ त बसिंदैन, बुढेसकालमा त उतै गइन्छ’ भन्ने थेगो चलाए पनि पाखुरीको पौरख यतै सेलाएपछि रुग्ण मन र शरीर लिएर जानु कहाँ? रोगले घुँडा फुकाल्दै लान थालेपछि ऐया-आत्था भन्ने वेलामा चाहिने स्याहारसुसार, औषधिमूलो, एक्सरे र रगत जाँचको सुविधा त यतै छ।
गाह्रो परे ९११ फोन गर्दा काललाई उछिनुँला झैं गरी एम्बुलेन्स ढोकैमा आउँछ। परे दमकल पनि सप्तकोशी नै बोके झैं गरी वायुवेगमा आइपुग्छ। उर्वर कालमा राज्यलाई हड्डी घोटेर बुझाएको करको तर खाने वेलामा शान्तिसँग थान्को लागेर एक ठाउँमा बसिएला कि बूढो शरीर बोकेर नेपाल र अन्तरमहादेशीय यात्रा गरिएला? प्रश्नहरू छन्। उत्तरहरू छन् पनि र छैनन् पनि।
त्यो वेला ती सन्तान जसका लागि परदेशिइएको थियो, तिनले के भन्लान्? तिनलाई छोडेर यसो मेसो मिलेका वेला भेट्न आउँला भन्दा मान्लान् कि नाइँ? वा, दुई थान कुम उचालेर, ‘ओके, ह्वाट एभर यु लाइक। हियर अर नेपाल, योर चोइस’ भन्दै पश्चिमा संस्कृतिको परिचायक बन्लान्? वा, ‘ज्येष्ठ गृह’ मा राखिदिएर सप्ताहान्तमा ‘ग्य्रान्डपा एन्ड ग्य्रान्डमा’ भेट्न उनका दौंतरी ज्याक वा राइली जस्तै कहिलेकाहीं झुल्केलान् कि?
‘ट्रान्जिसन जेनेरेशन’ मा परेका हामीलाई यही तयारीमा बस्नुपरेको छ। आफूले जन्माएको भए पनि उनीहरूमा हाम्रो कति हक लाग्ने कति नलाग्ने हो? यहाँको शिक्षा, संस्कार र संस्कृतिमा भिजेका तिनले न त हाम्ले जस्तो ‘नेपाल, नेपाल’ भन्नेछन्।
हाम्रो सेखपछि छुट्टी मनाउन ती यूरोप, अमेरिका, वा मध्यअमेरिका ताक्लान्, तर नेपाल ताक्दैनन्। हाम्रो पो नेपालमा बाआमा छन्, साथीसँगी छन्। जन्मेको घर र हुर्केको आँगन छ।
हाम्रो सेखपछि छुट्टी मनाउन ती यूरोप, अमेरिका, वा मध्यअमेरिका ताक्लान्, तर नेपाल ताक्दैनन्। हाम्रो पो नेपालमा बाआमा छन्, साथीसँगी छन्। जन्मेको घर र हुर्केको आँगन छ। हाम्रो माइती, मावली र सम्बन्धको लहरो छ, जो तिनको छैन। हुन त तिनका पनि काका, बडाउ, मामा, फुपूका सन्तान नेपालमा होलान्, तर सँगै हुर्कीखेली नगरेपछि भएका नातागोता पनि बिराना हुँदै जान्छन्।
काका-बडाउका छोराछोरी दाजुभाइ-दिदीबहिनी हुने र मामा-फूपूका छोराछोरी भान्दाइ वा भाइ हुने तथा दिदीबहिनी, मावली दाइभाइ, दिदीबहिनी हुने हाम्रो बुझाइभन्दा फरक तिनीहरूले सबैलाई ‘कजन’ भनेर एउटै टोकरीमा हाल्न सिकेका छन्। सात समुद्रपारिका ‘कजन’ सँग ती कति जोडिएलान्, कति नजोडिएलान् भन्न सकिन्न।
यहाँ पढाइ, करियर, वैयक्तिक स्वतन्त्रता, भौतिक सुखसुविधा र चिन्तन, तटीय बिदा उत्सव, खहरे प्रेमको घनचक्कर बाहिर मानव सम्बन्धका आयाम हुन्छन् भन्ने ठानिंदैन।
यहाँका मूलधारका मान्छेले दौरासुरुवाल, टोपी, सारी, चौबन्दी, ढुंग्री, बुलाकी पहिलो चोटि देख्दा फर्कीफर्की हेर्ने हाम्रा पहिरन र परिधानमा भाइ-भतिजा, छोरी-बुहारी प्रकट होलान्? तीज, दशैं, तिहार बिर्सिएर क्रिसमस, ‘थ्याङ्क्स गिभिङ’ को टर्कीमै रत्तिने त होइनन्। यही संगतबाट उठेका हाम्रा सन्तानलाई, हामीपछिको पुस्तालाई नेपाली बनाइराख्न पुस्तान्तरण गर्न हामीले गर्नुपर्ने काम धेरै छ, तर समय थोरै छ।
नेपालबाट हामी मुग्लान पसेका छौं। गाउँघरका बूढापाका भन्थे, ‘सोमलाल सुवेडीका तीन भाइ छोरामा माइलो चाहिं बिहे गरेर आसाम गएको रे। उतै छोराछोरी जन्माइहुर्काई उतै बिहेदान गरेर हजुरबा भइसकेको छ रे! अब त्यो उतै भासियो। के आउँथ्यो फर्केर, आए पनि के गर्नु? पितृ भएर! न साथीभाइ, न इष्टमित्र, न त नातागोतासँगको हित्तचित्त! जेठो र कान्छो भाइ चैं यतै केचनामा कता छन् अरे!’
हाम्रो सन्तान पुस्तालाई यहाँको राजनीति, नागरिक समाज, पेशागत सङ्घ सङ्गठन, सामुदायिक नागरिकको क्षेत्रमा उपस्थित गराउन सकिएन भने गुमनाम ‘अल्पसङ्ख्यक’ भएर बाँच्नेछन्। ती नेपाली सयौं वर्षको बसाइँमा पनि सीमान्तीकृत भएर बसेका क्यानेडियन’, फिलिपिनो र भियतनामी समुदाय जस्तै अदृश्य हुनेछन्।
गाउँका आमैहरू भन्थे, ‘रंगपति अर्जेलका ६ बहिनी छोरीमा अन्तरी चैं सिम्खोला गोतामेलाई दिएको। गोतामेले उहिले मणिपुर लगेर उतै घरजम गरेर बसेकी छ, त्यो अन्तरी। पोरपरार ३० बर्खमा एकपल्ट आकिथी। न बोली राम्रो बुझियो, न लुगाफाटो हाम्रा जस्तो, न माखामुन्द्रा हाम्रा पाराका। हेर्दै कैंयाकी जाहान जस्ती भइछ त्यो अन्तरी।’
हामी तिनै सोमलाल सुवेडी र रंगपति अर्जेलका सन्तान हुन आफ्नै रोजाइले हिंडेका मनुवा हौं। नेपालका चिनेजानेकाले हामीलाई त्यसै भन्छन्। हामीपछिका पुस्तालाई त नेपालकाले चिन्ने कुरै भएन। अनि बिस्तारै बिर्संदै जान्छन्।
अङ्ग्रेजीमा एउटा भनाइ छ ‘आउट अफ साइट, आउट अफ माइन्ड’ जुन हाम्रो ‘देखेपछि मायामोह, नदेखेपछि कोहो कोहो’ कै समभावार्थक छ । नदेखिइरहँदा विस्मृतिमा जाने भइन्छ नै।
उताबाट खुट्टो उचालेर यता खुट्टो टेक्न आएका हामीले यहाँको समाजमा सुनिने गरी ‘लौ हामी पनि छौं’ भनेर झ्याली, झ्याम्टा ठोकेर हुन्छ कि लाखे नाचेर हुन्छ दिउँसै फलाक्दै नहिंड्ने हो भने उताबाट छुटेका हामी यता पनि बिलाउनेछौं। यो पीर यता आएका हामी सबैको मनमा गडेकै छ।
भोलि हाम्रा सन्तान यहाँ रहँदाबस्दा ‘म नेपाली सम्पदाको, नेपाली उत्पत्तिको, र नेपाली गुण पहिचानको’ भन्न सक्ने होऊन् भन्नेमा हामी सबैको चिन्ता र चासो हुनुपर्छ। गर्विलो नेपाली सामूहिकताको निर्माण गर्ने बाटोमा पनि उनीहरूलाई अग्रसर गराउनु आवश्यक छ।
यहाँ ९११ ले भैपरी आउने धेरै थोक टारिदिए पनि, क्रेडिट कार्डले व्यवहारको सारोगारो फुकाइदिए पनि मर्दापर्दा बलेंसीको छिमेकी पनि नआउने रहेछन्।
यहाँ ९११ ले भैपरी आउने धेरै थोक टारिदिए पनि, क्रेडिट कार्डले व्यवहारको सारोगारो फुकाइदिए पनि मर्दापर्दा बलेंसीको छिमेकी पनि नआउने रहेछन्। यो त हाम्रो जीवन पद्धति होइन। मर्दापर्दाको सहयोग नेपाली सामूहिकताको आधार हो। यही काम यहाँ पनि नेपाली भएर गर्ने र गराउने वातावरण भयो भने मात्र हामी नेपाली रहन सक्छौं।
सात समुद्रपारि बसे पनि हाम्रो पुस्ता प्रचण्ड, देउवा र ओलीका देश बनाउने मन्त्रका ‘पन्चलाइन’ कथामै रत्तिएर बित्ने भयो। तर, हामीपछिका पुस्ताले नेपालको राजनीति, गीत, सङ्गीत, साहित्य, सिनेमालाई ‘भर्चुअल्ली कन्ज्युम’ कति गर्छ? झण्डैझण्डै फिटिक्क नगर्न बेर लाउँदैन।
अमेरिका वा क्यानाडा बसेर नेपालका तत्तत् कुरामा समय गुजारेर उनको रोजीरोटी पनि चल्दैन। विदेशिएको वातावरणमा ती कुरामा उनको रुचि पनि बल्दैन होला। तर, त्यही कुरा उनीहरूमा हुल्नु छ हामीले।
हाम्रो सन्तान पुस्तालाई यहाँको राजनीति, नागरिक समाज, पेशागत सङ्घ सङ्गठन, सामुदायिक नागरिकको क्षेत्रमा उपस्थित गराउन सकिएन भने गुमनाम ‘अल्पसङ्ख्यक’ भएर बाँच्नेछन्। ती नेपाली सयौं वर्षको बसाइँमा पनि सीमान्तीकृत भएर बसेका क्यानेडियन’, फिलिपिनो र भियतनामी समुदाय जस्तै अदृश्य हुनेछन्। काम, इलम र पैसा भए पनि राष्ट्रिय परिदृश्यमा भने अदृश्य छन्।
यता, भारतबाहिरका भारतीय सबैजसो विकसित मुलुकमा राज्यको स्थानीयदेखि केन्द्रीय तहसम्म उपस्थित छन् र नीति निर्माणमा हस्तक्षेप गर्न सक्छन्। आर्थिक पाटोमा त उनीहरू चाणक्य र कौटिल्यको फेटको प्रतिनिधि जस्तै भए।
हामीले भने हाम्रा पालुवा पुस्तालाई यहाँको रोजगार बजार र जीवनशैलीमा मात्र बाजी मार्न होइन, सदासर्वदा नेपाली नै भइरहन सिकाउनु पर्नेछ। हाम्रा रोधी र दोहोरी, हुड्केली र चर्खा, देउडा र कौडा, भजन र कीर्तन छन्। मेलापात, अर्म, पर्मका आफ्नै परम्परा र महत्त्व छन्। खान्कीका अनेक बान्की र तिनलाई प्रेमपूर्वक पस्कने समूहभाव छ। यो सबैमा हाम्रा नानीहरूको लगाव भर्न सकियो भने मात्रै उनले नेपालीपनलाई हाम्रो मान्नेछन्।