नेपाल चियाउने फरक चश्मा
बाह्मण-छेत्री बाहेकका समुदायमा मात्र अध्ययन केन्द्रित गर्ने अन्य मानवशास्त्रीको भन्दा फरक सापेक्षता दृष्टि देखाएका फिसरले यहाँका समुदायलाई बन्धुत्वको अवधारणाबाट पनि व्याख्या गरिनुपर्ने मान्यता राखे।
द क्षिणएशियामा विभिन्न साम्राज्यको उदय र पतनसँगै इतिहासको एउटा सेतुमा बेलायती उपनिवेशले आफ्नो प्रभुत्वको इतिहास रच्यो। त्यसैलाई उनीहरूले ‘आधुनिक इतिहासको’ वैधता दिंदै प्रचारप्रसार गरे। पछि यस भेगका इतिहासकारहरूले आफ्नो इतिहासको वर्गीकरण गर्दा यो शब्दावली प्रमुख पारिभाषिकी बन्न पुग्यो।
त्यसपछि विकसित विश्व राजनीतिले एउटा अर्को आयाम लियो। ती देश एउटा अङ्ग्रेजको हैकमबाट स्वतन्त्र त भए, तर अर्को अङ्ग्रेज (संयुक्त राज्य अमेरिका)को राजनीतिक, आर्थिक, सांस्कृतिक र सामरिक वर्चस्वको हिस्सा बन्न पुगे। रूसी र अमेरिकी खेमाबीचको खिचातानी र प्रतिकूल अवस्थिति जसलाई ‘शीतयुद्ध’ भनी परिचित गराइयो। परिणामतः यसै परिवेशमा यी देशले आफूलाई समायोजन गराउनुपर्ने बाध्यता रह्यो। यसै पारिस्थितिक कालक्रमको प्रत्यक्ष भागीदार नेपाल पनि बन्न पुग्यो।
अमेरिकी प्रवेश
सन् १९५० उपरान्त अमेरिकी मूल्य-मान्यता, आर्थिक सहयोग, योजना नीति, विकास कार्यक्रम, संरचनात्मक कार्यक्रम, शिक्षा, उच्च शिक्षा, लोक प्रशासन र स्वयंसेवीको समूहले नेपालमा औपचारिक प्रवेश पायो। राज्यसँगको साझेदारीमा ती योजनालाई मूर्त रूप दिन सबै विधाका अमेरिकी विशेषज्ञ खटिए। मानव संसाधन र संस्थागत विकासमा टेवा दिन नेपालका कुनाकाप्चामा अमेरिकी ‘पिस कोर’ का स्वयंसेवक पुगे।
‘पिस कोर’ अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको तात्कालिक राजनीतिक परिस्थितिको कूटरचना थियो। यसबाट नेपाल आएका स्वयंसेवक र केही नेपालीबीच एक प्रकारको सांस्कृतिक अन्तर्घुलन हुन पुग्यो।
‘पिस कोर’ अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको तात्कालिक राजनीतिक परिस्थितिको कूटरचना थियो। यसको परिचालन लोकोपकारी वा राजनीतिक उद्देश्य केका लागि थियो भन्नेबारे आ-आफ्नै व्याख्यान हुन सक्ला। तर, यसबाट यहाँ आएका स्वयंसेवक र केही नेपालीबीच एक प्रकारको सांस्कृतिक अन्तर्घुलन हुन पुग्यो।
एकातिर यी स्वयंसेवक मार्फत विश्व परिदृश्यमा नेपाल सुपरिचित हुन पुग्दा उनीहरूको व्यक्तिगत-व्यावसायिक उद्यममा समेत नेपाली उपस्थिति फाइदाजनक रह्यो। अर्कातिर यस्तो हेलमेल बढ्दा अमेरिकी संस्कृति र उच्च शिक्षाप्रतिको आकर्षणले धेरै लेखपढ गरेका नेपालीलाई आकर्षित गर्यो जसको निरन्तरता अहिलेसम्म देखिन्छ। यसै सन्दर्भलाई सचित्र बहुग्राही दृष्टान्तमा ल्याउन सकिने एक अमेरिकी पात्र हुन्, जेम्स एफ. फिसर। सन् १९६० को दशक र त्यस उपरान्त नेपाली समाजमा देखिएको परिवर्तन उनले एक अनुभवी मानवशास्त्रीका रूपमा नजिकबाट नियाले।
नेपालमोह
सन् १९६२ मा प्रथम पटक ७० जना अमेरिकी ‘पिस कर’ स्वयंसेवी नेपाल प्रवेश गरे। तिनैमध्येका हुन्, फिसर। उनले सधैं नेपाललाई आफ्नो दोस्रो घर ठाने। उनी आफ्ना समकक्षीबीच ‘नेपाल बौलाहा’ भनेर पनि चिनिन्छन्। अङ्ग्रेजी शिक्षकका रूपमा आएका फिसरले दुई वर्ष भक्तपुरको श्रीपद्म हाइस्कूल र त्रिभुवन आदर्श विद्यालय (जुन पछि फर्पिङ बोर्डिङ स्कूलले चिनियो)मा पढाए।
साथै, हिमाल आरोही एडमन्ड हिलारीले सोलुखुम्बुमा शेर्पा समुदायका लागि बनाएको स्कूलमा पनि केही समय योगदान गरे। नेपालप्रतिको यही आबद्धता उनको स्नातकोत्तरको शोधकार्य बन्न पुग्यो।
नेपालमा दुईवर्षे अवधि पूरा गरेपछि उनी अमेरिका फर्किएर मानवशास्त्रमा विद्यावारिधिका लागि शिकागो विश्वविद्यालय पुगेका थिए। तर, त्यसको शोधकार्यका लागि डोल्पा जिल्लालाई रोज्दै सन् १९६८ मा फेरि नेपाल आए। यस क्रममा फिसरले नेपालको उत्तर-दक्षिणी भेगमा काइके भाषा बोल्ने मगरहरूको जनजीवन, रहनसहन र तिनको हिमालपारिको कारोबारबारे विस्तारमा अध्ययन गरे।
त्यही शोध पछि सन् १९८० को दशकमा ट्रान्स हिमालयन ट्रेडर्सः इकोनोमी, सोसाइटी एन्ड कल्चर इन नर्थवेस्ट नेपाल पुस्तकका रूपमा छापियो। यो अध्ययनमा फिसरलाई उनकी तत्कालीन पत्नीले पनि सघाएकी थिइन्। सोही क्रममा उनले नेपालमै छोरीलाई जन्म दिइन् जसको नाम माया राखियो।
फरक प्राज्ञिक योगदान
काइके र नेपाली दुवै भाषा राम्रोसँग बोल्न सक्ने फिसरले सन् १९६० र ७० को दशकमा दुवै भाषाका शब्दकोश नै प्रकाशित गरे। नेपालका विभिन्न भूभागमा छरिएका नेपालीलाई एउटै मालामा बुन्ने वा एउटै नेपाली पहिचानमा बाँध्ने पञ्चायतको परिकल्पनाबाट उनी पनि प्रभावित देखिन्छन्।
सन् १९७० को दशकमा पञ्चायती सरकारले चार खण्डमा निकालेको मेचीदेखि महाकाली पुस्तकमा नेपालको उत्तर-दक्षिणी भेगमा बसोबास गर्ने तराली मगरहरूबारेको उनको आलेख समेटिएको छ। ७० दशकको अन्त्यतिर उनले शास्त्रीय बहसमा ‘हिमालय’ को अवधारणालाई यस भेगको खोज अनुसन्धानमा उपयोगी पद्धति बनाउन भूमिका खेलेको देखिन्छ। यस अर्थमा हिमालयन एन्थ्रोपोलोजीः द इन्डो-टिबेटन इन्टरफेस उनको महत्त्वपूर्ण पुस्तक हो।
हिमाली भेगमा नेपाली र अङ्ग्रेजी भाषाको प्रवेशसँगै तिब्बती मौलिकता मासिएको र यसका बावजूद शेर्पाहरूको राजनीतिक निष्ठा नेपाली राजाप्रति, धार्मिक निष्ठा तिब्बती दलाई लामाप्रति र सांस्कृतिक चाह पश्चिमा-उन्मुख रहेको फिसरले ठम्याएका थिए।
सन् १९९० मा प्रकाशित शेर्पाज्ः रिफ्लेक्सन्स अन चेन्ज इन हिमालयन नेपाल उनको अर्को महत्त्वपूर्ण कृति हो। त्यसमा शेर्पाहरूको जीवन अनुभूति, समुदायमा आधुनिक शिक्षाको आगमन, बढ्दो पश्चिमीकरण, आर्थिक छलाङ, पर्यटनले पारेको अत्यधिक प्रभाव र त्यसले देखाएको भावी मार्गदिशामाथिको पृथक् र मौलिक दृष्टान्त समेटिएको थियो। हिमाली भेगमा नेपाली र अङ्ग्रेजी भाषाको प्रवेशसँगै तिब्बती मौलिकता मासिएको र यसका बावजूद शेर्पाहरूको राजनीतिक निष्ठा नेपाली राजाप्रति, धार्मिक निष्ठा तिब्बती दलाई लामाप्रति र सांस्कृतिक चाह पश्चिमा-उन्मुख रहेको फिसरले ठम्याएका थिए।
फिसरको नेपालमाथिको अध्ययन अन्य पश्चिमा अध्येताभन्दा फरक र तुलनात्मक रूपमा निष्पक्ष पाइन्छ। सन् १९८० र ९० को दशकमा पश्चिमा अनुसन्धाताहरू, विशेषतः मानवशास्त्रीले ‘एथ्निसिटी’ शब्दावलीलाई पृष्ठपोषण गर्दै बाहुन-छेत्री इतरका समुदायलाई मात्र अध्ययनको प्राथमिकतामा पारे। तर, फिसरले त्यसो गरेनन्।
इन्साइक्लोपिडिया अफ वर्ल्ड कल्चरमा प्रकाशित नेपालका बाहुन-छेत्रीमाथिको आलेख र सन् १९९७ मा टङ्कप्रसाद आचार्य र उनकी पत्नी रेवन्तकुमारी आचार्यमाथिको कृति लिभिङ मार्टियर्सः इन्डिभिजुअल्स एन्ड रिभोलुसन इन नेपाल यसका ज्वलन्त उदाहरण हुन्। यस पुस्तकमा नेपालको राजनीतिक विकासक्रम, सङ्गठनात्मक खिचातानी, सामाजिक-राजनीतिक र महिला आन्दोलनको जागरण, शक्तिको वितरण र चलखेल, नेपालले आधुनिकीकरणका साथै विश्वव्यापीकरण प्रक्रियामा गरेको प्रवेशसँगै समयक्रममा देखिएको व्यक्ति र संस्थाको प्रतिस्थापनबारे सूक्ष्म विश्लेषण पाइन्छ।
फिसरको एउटा लेखमा पश्चिमा मानवशास्त्रीहरूले अत्यधिक प्रयोगमा ल्याएको ‘एथ्निसिटी’ अवधारणा नेपालमा व्यावहारिक नहुने भाव छ। तिनलाई बाहुन, दलित, जनजाति, मधेशीमा मात्रै वर्गीकृत नगरी समग्र दाजुभाइ तथा दिदीबहिनीको अवधारणामा हेरिनुपर्ने तर्क छ। यस अर्थमा फिसरले नेपाली समाजको अध्ययन गर्न सापेक्षताको चश्मा प्रयोग गरे जुन अन्य अमेरिकी मानवशास्त्रीले अपनाएको विधिभन्दा फरक थियो।
फिसरले नेपालमा अरूको अध्ययन मात्र गरेनन्, यहाँको आफ्नो उपस्थितिलाई समेटेर ‘अटो-एथ्नोग्राफी’ पनि प्रकाशित गरे। सन् २०१३ मा प्रकाशित एट होम इन द वर्ल्ड: ग्लोबलाइजेसन एन्ड द पिस कर्प्स इन नेपालमा उनले आफ्नो र समग्र पिस कर स्वयंसेवीको नेपालबारेको अनुभूतिलाई सांस्कृतिक-राजनीतिक आयामबाट व्याख्या गर्ने प्रयत्न गरेका छन्। फिसरका अनुसार, यस अनुभूतिले ती स्वयंसेवकको जीवनवृत्तिमा सामाजिक र सांस्कृतिक परिवर्तन आएको थियो। सन् १९६० दशकको नेपालको रूपरेखा देखाउने प्राज्ञिक रचनाको अभाव खट्किरहँदा यस पुस्तकले एउटा झाँकी पक्कै दिन्छ।
फिसरको आगमन, व्यक्तिगत जीवनी र योगदानलाई ऐतिहासिक विशिष्टतामा नियाल्दा धेरै उतारचढाव पाइन्छ। तर, उनले आफ्ना अध्ययनहरूलाई परिवर्तनको आयामबाट हेर्न कहिल्यै रुचाएनन्।
फिसरले ४० वर्षका दौरान डोल्पाका काइके मगरहरूको दोस्रो पुस्तामा देखिएको रूपान्तरणलाई विषय बनाएको अर्को पुस्तक सन् २०१७ मा निस्कियो- ट्रान्स हिमालयन ट्रेडर्स ट्रान्सफर्म्डः रिटर्न टु तरङ्ग। पुस्तकमा काठमाडौंको राजनीतिमा उनीहरूले बनाएको पकडका साथै वैदेशिक व्यापार, खास गरी गलैंचा उद्योग र यार्सागुम्बामा उनीहरूको आधिपत्यबारे प्रकाश पारिएको छ।
परिवर्तनमाथिको टिप्पणी
सन् १९६२ देखि हालसम्मको फिसरको अध्ययनबाट नेपाली मानवशास्त्र वा ज्ञान उत्पादनका धेरै आयामलाई विवेचना गर्न सकिन्छ। यस दौरान फिसर र धेरै नेपालीबीच सम्बन्ध गाँसियो। सन् १९८० को दशकमा त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र-मानवशास्त्र विभाग स्थापना हुँदा फिसरले त्यहाँ पढाए। त्यस वेला विभागबाट एक मात्र जर्नल अकेजनल पेपर्स इन सोसिओलोजी एन्ड एन्थ्रोपोलोजी निस्कन्थ्यो जसको सूत्रधार फिसर स्वयं थिए।
फिसरको आगमन, व्यक्तिगत जीवनी र योगदानलाई ऐतिहासिक विशिष्टतामा नियाल्दा धेरै उतारचढाव पाइन्छ। तर, उनले आफ्ना अध्ययनहरूलाई परिवर्तनको आयामबाट हेर्न कहिल्यै रुचाएनन्। सन् २०१३ मा यो पंक्तिकार (गौरब)ले उनीसँग नेपालमा एट होम इन द वर्ल्ड पुस्तकको लोकार्पण हुँदा र पछिल्ला दिन गरेका संवादमा बारम्बार एउटा प्रश्न सोधिएको थियो- “नेपाल पहिलो पटक आएदेखि अहिलेसम्म तपाईंले के परिवर्तन देख्नुभयो?”
त्यो वेला ७३ वर्षमा हिंडिरहेका उनी सकेसम्म पन्छिँदै ‘परिवर्तनमा चासो राख्नेहरूलाई सोध्नू’ भन्थे। तैपनि, ठट्यौली पारामा जवाफ दिन्थे, “मेरा लागि परिवर्तन भनेको आई एम नो लङ्गर ट्वेन्टी फाइभ इयर्स ओल्ड।”
(हिमालको २०७८ पुस अंकबाट।)