अमेरिकाले दियो थप ६ लाख ६४ हजार फाइजर खोप
कोभिड-१९ विरुद्ध लड्न अमेरिकाले नेपाललाई थप ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप प्रदान गरेको छ।
यो खोप १२ वर्षभन्दा माथिका बालबालिकालाई लगाइनेछ। यसअघि अमेरिकाले एक लाख ६२० डोज फाइजर र १५ लाख ३५ हजार जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको थियो। जोन्सन एन्ड जोन्सन खोप एक डोज लगाए पुग्छ।
अहिलेसम्म खोप बाहेक अमेरिकाले १२ करोड २० लाख डलरभन्दा बढीको चिकित्सा सामाग्री, तालीम र प्राविधिक सहयोग गरिसकेको छ। साथै, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) र युनिसेफले यी खोपहरू तत्काल आवश्यक भएका क्षेत्रहरूमा सुरक्षित र न्यायोचित ढङ्गले वितरण गर्न र खोप लगाउन प्रोत्साहित गर्ने कार्यमा नेपालसँग साझेदारी गर्दै आएका छन्।
यूएसएआईडीले अति कम तापक्रमयुक्त फ्रिजर, वाक-इन फ्रिजर, वाक-इन कोल्ड रुम, फ्रिजर भ्यान, क्रायोजेनिक पन्जा र चस्माहरू तथा देशभर खोपको ढुवानी गर्दा प्रयोगयोग्य राख्न कोल्ड चेन कायम राख्ने प्राविधिक सहयोग उपलब्ध गराइसकेको छ।
महामारीको शुरूआतदेखि नै अमेरिकी सरकारले कोभिड-१९ महामारीसँग लड्न, महत्त्वपूर्ण स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न र महामारीका कारण परेको प्रभाव न्यूनीकरण गर्न सहयोग गर्दै आएको यूएसएआइडीले जनाएको छ।