तलब नपाएपछि अपरेटरले गरे विद्युत् सेवा बन्द
तलब नपाएको भन्दै अपरेटरले काम बन्द गरेपछि हुम्लाको छुइपुग जलविद्युत् आयोजनाको विद्युत् आपूर्ति रोकिएको छ।
हुम्लाको सिमकोट गाउँपालिका-८ खोल्सी र नाम्खा गाउँपालिका-४ लामा खोल्सीमा रहेको छुइपुग जलविद्युत् आयोजना दुई दिनदेखि बन्द गरिएको हो। एक वर्षदेखि तलब नपाएको भन्दै अपरेटर ग्याल्जन लामा र भारती सिंहले काम रोकेका हुन्।
गत माघदेखि काम गर्दै आएको भए पनि तलब र सेवा सुविधा नपाएपछि विद्युत् सेवा बन्द गर्न बाध्य भएको अपरेटर लामाले बताए। विद्युत् बन्द गरिएपछि दुई वडाका २२० घरमा आपूर्ति रोकिएको छ।
खोल्सी गाउँका ९० परिवार, लामा खोल्सी र खगाँल गाउँका १३० परिवारले उठाएको रकमबाट अपरेटरलाई तलब खुवाउने निर्णय थियो। तर, अहिलेसम्म तलब नदिएको अपरेटर लामाले बताए।
तलबका लागि प्रत्येक घरपरिवारले रु.१०० सङ्कलन गर्नुपर्ने नियम बनाइएको छ। त्यो रकम सङ्कलन नगरिएको उनले बताए। तलब नपाउँदासम्म विद्युत् सेवा सञ्चालन नगर्ने उनीहरूको भनाइ छ। (रासस)