कांग्रेस प्रदेश २ को सभापतिमा देउवा पक्षका कृष्ण यादव निर्वाचित
नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनबाट सभापतिमा कृष्ण यादव निर्वाचित भएका छन्।
कांग्रेस प्रदेश संसदीय दलका नेता राम सरोज यादवलाई १४१ मतान्तरले पराजित गर्दै उनी सभापति बनेका हुन्। उनी कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका हुन्।
सभापतिमा निर्वाचित कृष्णले ९९६ मत पाए भने रामसरोजले ८५५ मत प्राप्त गरेका छन्। चुनावमा १८८१ मत खसेको थियो।
विमलेन्द्र निधि पक्षबाट रामसरोज उम्मेदवार बनेका थिए। उनलाई डा. शेखर कोइराला पक्षले पनि समर्थन गरेको थियो।
प्रदेश सभापतिमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै यादवले सबैलाई समेटेर अगाडि बढ्ने बताए। पार्टी बलियो बनाउने र आउने चुनावमा जित दिलाउने गरी काम गर्ने उनको भनाइ थियो।
प्रदेश कार्यसमितिका अन्य पदको मतगणना आजै शुरू हुने निर्वाचन समितिले जनाएको छ। अन्य पदमा पनि दुवै पक्षका उम्मेदवार प्रतिस्पर्धामा छन्।