जलविद्युत्काे ‘हब’ बन्दै रसुवा
रसुवामा १३ जलविद्युत् आयोजना निर्माणाधीन छन् भने नौ आयोजनाले अध्ययनको अनुमति पाएका छन्।
नेपाल विद्युत् प्राधिकरणको एउटा अनुसन्धान समूहले २०५० सालमा रसुवाको स्याफ्रु तथा चिलिमेमा स्थलगत भ्रमण गर्यो।
भ्रमण पश्चात् टोलीले यस क्षेत्रमा विद्युत् उत्पादनको सम्भावना देख्यो र अध्ययनका लागि अनुमति दियो। सोही वर्ष आयोजनाको प्राविधिक, सामाजिक, आर्थिक, वित्तीय, वातावरणीय लगायत अध्ययन शुरू भयो। एक वर्षभित्रै २०५१ सालमा अध्ययन सकियो।
प्रारम्भिक अध्ययनपछि आयोजना निर्माणका लागि स्याफ्रुबेसीमा भूमिगत विद्युत्गृह निर्माण गर्ने निष्कर्ष निस्क्यो। २०५२ सालमा प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनी लिमिटेड स्थापना गरेर २० मेगावाट क्षमताको आयोजना निर्माण गर्ने तयारी थाल्यो।
२८ चैत २०५३ मा चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी)सँग निर्माणका लागि सम्झौता गर्यो। तर, तोकिएको समयमा कम्पनीले काम गर्न नसकेपछि सम्झौता रद्द गरियो। २०५५ पुसको पहिलो सातादेखि नेपाली कामदार संलग्न हुने गरी पुनः सीजीजीसँग सम्झौता गरी भूमिगत सिभिल निर्माण कार्यलाई अघि बढाइयो।
वर्षमा तीन महीना आयोजना प्रवेश मार्ग पुग्ने बाटो अवरुद्ध हुने, सुरक्षाका कारणबाट अत्यावश्यक विस्फोटक पदार्थको प्रयोगमा नियन्त्रण र हेडरेस टनेलभित्र अतिरिक्त काम गर्नुपर्दा यसको निर्माण समय लम्बियो। २०५९ जेठमा मात्र भूमिगत संरचनाको निर्माण सम्पन्न भयो। यो आयोजना ‘रन अफ दी रिभर’ प्रणालीमा आधारित छ।
चिलिमे खोला र हिउँद याममा बेमदाङ खोलाको पानी समेत प्रयोग गरेर ३५१ मिटर अग्लो उचाइबाट ७.५ घनमिटर पानी स्याफ्रुबेसीस्थित विद्युत्गृहमा खसालिएको छ। यसमा ८९ प्रतिशत भूमिगत संरचना छ। स्वदेशी प्रविधि, लगानी र श्रमबाट निर्माण भएको चिलिमे जलविद्युत् आयोजनाले ८ भदौ २०६० बाट उत्पादन शुरू गर्यो।
चिलिमेसँगै रसुवामा विद्युत् उत्पादनको सम्भाव्यता अध्ययनले व्यापकता पायो। चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले नै अन्य सम्भावित आयोजनाको अध्ययन कार्य अघि बढायो। त्यसपछि सान्जेन, माथिल्लो सान्जेन र रसुवागढी आयोजनाको अध्ययन भयो। अहिले ती आयोजना निर्माण भइरहेका छन्।
रसुवामा पहिलो विद्युत् उत्पादन शुरू भएको १० वर्षपछि ५ मेगावाट क्षमताको मैलुङ जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन शुरू गरेको थियो। हाल चिलिमे र मैलुङ दुवैले व्यावसायिक उत्पादन गरिरहेका छन्।
१३ आयोजना निर्माण हुँदै
रसुवामा अहिले १३ वटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन्।
२१६ मेगावाटको माथिल्लो त्रिशूली १, १२० मेगावाटको रसुवा भोटेकोशी, १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सुपर सान्जेन, ४२.५ मेगावाटको सान्जेन र २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजना निर्माणाधीन छन्।
त्यस्तै, १४.८ मेगावाटको माथिल्लो सान्जेन, १४.७ मेगावाटको फलाखु खोला, १४.३ मेगावाटको माथिल्लो मैलुङ खोला, ६.४२ मेगावाटको माथिल्लो मैलुङ ‘ए’, ६ मेगावाटको न्यामन्याम र ५ मेगावाटको फलाखु खोला पनि निर्माण भइरहेका छन्।
रसुवामा निर्माण भइरहेका आयोजनामध्ये अधिकांशमा चिनियाँ लगानी छ। चिनियाँ लगानी नभएका आयोजनामा चिनियाँ ठेकेदारले निर्माणको जिम्मेवारी पाएका छन्।
१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले २०७९ असारदेखि विद्युत् उत्पादन शुरू गर्ने जनाइएको छ। आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छवि गैरेले आयोजनाको ८३ प्रतिशत भौतिक प्रगति भएको बताए।
आमाछोदिङ्मो गाउँपालिका–५, चिलिमेमा निर्माणाधीन माथिल्लो सान्जेन जलविद्युत् आयोजनाले पनि अबको नौ महीनामा विद्युत् उत्पादन शुरू गर्ने जनाएको छ। आयोजनाको सिभिल तथा हाइड्रो मेकानिकलतर्फको काम अन्तिम चरणमा पुगिसकेको आयोजना प्रमुख सुदनसिंह महतले बताए। उनका अनुसार, हालसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको छ।
यस्तै, रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाको ९८ प्रतिशत काम सकिएको छ। आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेकोे छ। अब करीब ६ महीनामा निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ ।
नौ आयोजनाको सर्भे हुँदै
विद्युत् विकास विभागको तथ्याङ्क अनुसार, ३१० मेगावाटको लाङटाङ खोला, १३ मेगावाटको मध्य मैलुङ, २४.३५ मेगावाटको माथिल्लो लाङटाङ, २४.६ मेगावाटको माथिल्लो त्रिशूली १ (क्यासकेड), ३५.५ मेगावाटको भोटेकोशी खोलाले सर्भेको अनुमति पाइसकेका छन्।
४.८ मेगावाटको घट्टे खोला, ४.३ मेगावाटको माथिल्लो त्रिशूली खोला, ८ मेगावाटको त्रिशूली खोला ‘स्मल’ र ७.८ मेगावाटको गुप्चे खोलाले पनि सर्भेका लागि अनुमति लिएका छन्।
अधिकांशमा चिनियाँ लगानी
रसुवामा निर्माण भइरहेका आयोजनामध्ये अधिकांशमा चिनियाँ लगानी छ। चिनियाँ लगानी नभएका आयोजनामा चिनियाँ ठेकेदारले निर्माणको जिम्मेवारी पाएका छन्।
रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लोे त्रिशूली १ मा कोरियन लगानी छ। बाँकी केहीमा नेपाली र अन्यमा चिनियाँ लगानी देखिन्छ।
माथिल्लो त्रिशूली ३ ‘बी’ मा सिचुआन एएनएचई हाइड्रो इलेक्ट्रिक इन्जिनियरिङ, सुपर सान्जेनमा चोङचिङ वाटर टर्बाइन बक्स कम्पनी, रसुवागढीमा चाइना वाटर एन्ड इलेक्ट्रेसिटी कर्पोरेशन र फलाखु खोलामा चिनियाँ ठेकेदार चोङचिङ वाटर टर्बाइन बक्स लगायतले काम गरिरहेका छन्।