कोभ्याक्स सुविधा मार्फत आयो ७७ लाख डोज खोप
कोभ्याक्स सुविधा अन्तर्गत कोभिड-१९ विरुद्धको ७७ लाख २५ हजार खोप आएको छ।
पछिल्लो एक महीनामा कोभ्याक्स सुविधा मार्फत ६० लाख ३९ हजार डोज कोभिशिल्ड र १६ लाख ८६ हजार डोज मोडर्ना खोप आएको हो। यससँगै ३० लाख सिरिन्ज, ८३ हजार सिरिन्ज सेफ्टीबक्स र १० विशिष्टीकृत वाक इन कुलर नेपाललाई हस्तान्तरण गरिएको छ। यी सामग्री प्रदेश तथा स्थानीय तहमा वितरण गरिने भएको छ।
कोभ्याक्सले बिहीबार प्रेस विज्ञप्ति जारी गरी खोपको पछिल्लो आपूर्तिले नेपाली जनताको जीवन सुरक्षा गर्ने नेपाल सरकारको प्रयासलाई थप बल पुर्याउने जनाएको छ। सीईपीआई, गाभी, युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनको सहकार्यका रूपमा रहेको कोभ्याक्स सुविधा साझेदार सरकारहरू, अन्तर्राष्ट्रिय संस्थाहरू, प्रतिष्ठानहरू र निजी क्षेत्रहरूको ठूलो परिमाणको सहायताबाट सम्भव भएको कोभ्याक्सले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
कोभ्याक्सका अनुसार, नेपालमा रहेका कोभ्याक्स सुविधा साझेदार राष्ट्रहरू (अस्ट्रेलिया, चीन, यूरोपियन युनियन, फिनल्यान्ड, फ्रान्स, जर्मनी, जापान, कोरिया, नर्वे, कतार, साउदी अरेबिया, स्वीट्जरल्यान्ड, बेलायत र अमेरिका) र विभिन्न साझेदारहरू, प्रतिष्ठानहरू र निगमहरूले आर्थिक सहायता पुर्याएका छन्।