दुई वर्षदेखि रसुवागढी नाकाबाट पर्यटकको आगमन शून्य
उत्तरी व्यापारिक नाका रसुवागढीबाट करीब दुई वर्षदेखि पर्यटकको आगमन ठप्प छ।
कोभिड–१९ महामारीका कारण आवतजावत रोकिएका कारण पर्यटकको आगमन शून्यमा झरेको हो।
२०१५ अप्रिलदेखि नाकाबाट चिनियाँ तथा विदेशी पर्यटक आउने क्रम शुरू भएको थियो। त्यो महीना २९१ पर्यटक आएका थिए।
रसुवागढी अध्यागमन कार्यालयको तथ्याङ्क अनुसार, सन् २०१५ मा १० हजार ६४९, २०१६ मा १७ हजार ८२, २०१७ मा १९ हजार ४७८ पर्यटक नेपाल प्रवेश गरेका थिए।
त्यस्तै, सन् २०१८ मा २९ हजार १५४ र २०१९ मा ३१ हजार १३५ पर्यटक नेपाल आएका थिए। यसमा करीब ७० प्रतिशत हिस्सा चिनियाँ पर्यटकको हुन्थ्यो।
२०२० को शुरूआतसँगै पर्यटक आउन छाडेको अध्यागमन अधिकृत एकनारायण भण्डारीले जानकारी दिए। “चीनमा कोरोना शुरू भएपछि नाकामा कडाइ गरिएको थियो,” उनले भने, “त्यसको केही समयमा त आवतजावत बन्द भयो।”
सन् २०१५ मा रसुवागढीबाट चिनियाँ पर्यटक मात्र आएका थिए। रसुवागढीलाई २०१६ मा चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो मुलुकका पर्यटक पनि आउन थालेका थिए। अमेरिका, बेलायत, नेदरल्यान्ड्स, जर्मनी, इटाली, फ्रान्स, अस्ट्रेलिया लगायत देशका नागरिकले समेत नेपाल प्रवेशका लागि रसुवागढी नाका प्रयोग गरेका थिए।
नाकाबाट आवतजावत खुला हुँदा नेपाल तथा चीनका व्यवसायीलाई फाइदा थियो। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष दावा डिन्डुप लामाले भने, “नाका बन्द भएसँगै व्यवसाय खस्किएको छ।”