गाईपालनसँग जोडिएका तीन सम्भावना
गाईपालनबाट अरू तीन विषयलाई पनि अवसरका रूपमा जोड्न सकिन्छ– पहिलो दूध, दोस्रो घाँस र तेस्रो अर्गानिक मल उत्पादन।
धनकुटा, सिंधुवाका भरत गुरुङको गाई फार्मले मध्यपहाडी क्षेत्र व्यावसायिक गाईपालनका लागि उत्तिकै उपयोगी छ भन्ने सन्देश दिएको छ।
धनकुटाको जोरपाटी गाउँपालिका–६, नामजङमा एउटा निकै व्यवस्थित गाई फार्म छ। यसका सञ्चालक हुन्, भरत गुरुङ। पहाडी क्षेत्रमा पशुपालनका लागि मुख्य समस्या हो– बाटो र यसको कारण उत्पादित वस्तु बजारसम्म पुर्याउने कठिनाइ।
यी समस्यालाई व्यवस्थापन गर्दै गुरुङले व्यावसायिक गाईपालनलाई सफलताका साथ सञ्चालन गरिरहेका छन्। हाल उनको फार्ममा ७० वटा गाई छन्। ती गाईलाई खुवाउन १५० रोपनीमा लगाइएको घाँस खेती पनि फार्म नजिकै छ। फार्मबाट दैनिक सात सय लिटर दूध र तीन लाख केजी मल उत्पादन गर्ने लक्ष्य छ।
गाईपालन नेपालमा सम्भावना बोकेको व्यवसाय हो। यसबाट अरू तीन विषयलाई पनि अवसरका रूपमा जोड्न सकिन्छ– पहिलो दूध, दोस्रो घाँस र तेस्रो अर्गानिक मल उत्पादन।
दूध उत्पादन
दूधका लागि गाईपालन राम्रो विकल्प हो। होलिस्टिन जातका गाईले एकै दिन ३० देखि ६० लिटरसम्म दूध दिने सामर्थ्य राख्छन्। भैंसीले भन्दा उन्नत जातको गाईले निकै बढी दूध दिने गर्छ। अनि दानापानीमा चाहिं भैंसीले भन्दा आधा मात्रै खपत गर्छ। यही फाइदाका कारण गाईपालन दूधका लागि संसारमै प्रख्यात मानिन्छ।
उत्पादित दूधमध्ये ताजा दूधलाई बजारीकरण गरी बाँकी दूधलाई प्रशोधन उद्योगमा पठाउन सकिन्छ। जसबाट घ्यू, पनिर, चिज, मक्खन, छुर्पी, बटर, दही, मही, धूलो पाउडर र क्रिम समेत बन्ने भएकाले यसको बजार अभाव भन्ने हुँदैन।
घाँस उत्पादन
गाईपालनसँगै अनिवार्य रूपमा जोडिएको विषय हो, घाँस उत्पादन। पशुपालनमा अग्रणी धेरैजसो मुलुकले गाई पाल्नुअघि घाँसको व्यावसायिक खेती गर्ने गरेका छन्। अर्को शब्दमा भन्नुपर्दा, सबभन्दा पहिला घाँस खेती त्यसपछि मात्र गाईपालन गर्नु उपयुक्त मानिन्छ।
पशुपालनले व्यापकता पाएका कतिपय देशमा घाँस खेतीको क्रान्ति नै भएको छ। गाईपालक किसानहरूले व्यावसायिक घाँस खेती गरिरहेका व्यक्ति वा फार्मबाट घाँस किनेर गाईलाई खुवाउने गर्छन्।
नेपालमा पनि घाँस खेतीका लागि उपयोगी जमीन प्रशस्तै छन्, तर अधिकांश बाँझै छन्। मुख्यतः वैदेशिक रोजगारी र तीव्र शहरीकरणको चपेटामा परी यी जमीन बाँझो रहन पुगेका हुन्। आफ्नो देशको युवा श्रम शक्तिलाई यस प्रकारका व्यवसायमा जोड्न सके एकातिर जमीन बाँझो रहने थिएन भने अर्कोतिर युवाशक्ति श्रम बेच्न विदेशिनुपर्ने बाध्यता धेरै हदसम्म टर्ने थियो। यसले देश विकासमा पनि टेवा नै पुग्ने थियो।
अर्गानिक मल उत्पादन
कृषि बाली उत्पादनका लागि अर्गानिक मललाई अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। यसमा पनि गाईको मल अझ रोजाइमा पर्छ, किनकि बाख्रा, कुखुराको मलले कतिपय बालीलाई बिगार समेत गरिदिने र यसको सही प्रयोगमा ध्यान दिइएन भने नोक्सान समेत गर्छ। तर, गाईको मल प्रयोग गर्दा मात्रा घटबढले बालीनालीलाई नोक्सान गर्दैन।
गाईको मललाई दुई प्रकारले प्रयोगमा ल्याउन सकिन्छ। पहिलो, अर्गानिक झोल मलका रूपमा ठूला कारखाना मार्फत मल उत्पादन गर्न सकिन्छ। दोस्रो चाहिं, धूलो मलका रूपमा प्याकिङ गरी बजारमा पठाउन सकिन्छ।
नेपालमा रासायनिक मलको बढ्दो प्रयोगलाई न्यूनीकरण गर्न समेत गाईको मलको प्रवर्द्धन आवश्यक छ। नेपालमा रासायनिक मलको अभावबारे बर्सेनि समाचार बन्ने गरेका छन्, तर आफैंसँग भएको सम्भावनाबारे थाहा नहुनु ठूलो विडम्बना हो। गाईपालनबाट रासायनिक मलकाे प्रयाेगलाई् न्यूनीकरण गर्न सकिन्छ।
निष्कर्ष
गाईपालनका फाइदै फाइदा भए पनि यसको एउटा बेफाइदा पनि छ। त्यो हाम्रो धर्म–संस्कृतिसँग जोडिएको छ। दूध उत्पादनका लागि पालिएका उन्नत जातका गाईबाट बाच्छाको जन्म भएमा हाम्रो समाजमा निकै बोझका रूपमा लिने गरिन्छ।
भलै, पहाडतिर पालिने स्थानीय गाईबाट जन्मने बाच्छा हुर्केपछि खेतबारी जोत्न प्रयोग गरिन्छ। पहाडमा स–साना बारी–कान्लामा हलगोरुबाट खेतबारी जोत्ने गरिन्छ। यद्यपि, हिजोआज कतिपय ठाउँमा हाते ट्याक्टरको पनि प्रयोग हुन थालेको छ।
कृषि बाली उत्पादनका लागि अर्गानिक मललाई अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। यसमा पनि गाईको मल अझ रोजाइमा पर्छ, किनकि बाख्रा, कुखुराको मलले कतिपय बालीलाई बिगार समेत गरिदिने र यसको सही प्रयोगमा ध्यान दिइएन भने नोक्सान समेत गर्छ। तर, गाईको मल प्रयोग गर्दा मात्रा घटबढले बालीनालीलाई नोक्सान गर्दैन।
यहाँ प्रसङ्ग जोड्न खोजिएको उन्नत जातका गाईबाट जन्मने बाच्छाको हो। जसलाई खेतबारी जोत्ने काममा प्रयोग गर्न सकिंदैन र यिनीहरूलाई मलका रूपमा मात्र पाल्न पनि व्यावहारिक हुँदैन।
नेपालबाट गोरुको निर्यात गर्न सकिने गरी नेपाल सरकारले नीतिगत निर्णय गरिदिने हो भने गाईपालक किसानहरूका लागि खुशीको कुरा हुनेछ।
समग्रमा हेर्दा गाईपालन व्यवसाय फाइदाजनक नै छ। धनकुटा, सिंधुवाका भरत गुरुङको व्यावसायिक गाईपालनले मध्यपहाडी क्षेत्र गाईपालनका लागि उत्तिकै उपयोगी छ भन्ने सन्देश दिएको छ। साथै, माथि उल्लेखित तीन सम्भावनालाई पनि उजागर गरेको छ।