कांग्रेसको प्रदेश २ नेतृत्वका चयनका लागि तीन सातापछि मतदान
नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि अधिवेशन उद्घाटन भएको तीन सातापछि मतदान शुरू भएको छ।
बिहीबार बिहान ९ बजेदेखि मतदान शुरू भएको हो। मतदान सकिए लगत्तै आजै मतगणना हुने जनाइएको छ।
कांग्रेसको प्रदेश अधिवेशन १६ मंसीरमा उद्घाटन गरिएको थियो। प्रतिनिधि छनोटमा विवाद भएपछि अधिवेशन स्थगित भएको थियो।
बुधबार विवाद भएका कारण आज मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रदेश सभापतिका उम्मेदवार रामसरोज यादव र कृष्ण यादव उम्मेदवार बनेका छन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट कृष्ण उम्मेदवार बनेका हुन्।
त्यस्तै, विमलेन्द्र निधि र डा. शेखर कोइरालाको पक्षबाट रामसरोज उम्मेदवार बनेका छन्। उनी कांग्रेस प्रदेश २ को संसदीय दलका नेता हुन्।
प्रदेश समितिका ७२ पदका लागि १७४ जनाको उम्मेदवारी परेको छ। त्यस्तै, दुई उपसभापतिका लागि पाँच जना उम्मेदवार छन्। देउवा समूहबाट वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखरकुमार यादव तथा निधि-कोइराला समूहबाट धनलाल ठोकर र विनोदकुमार खनाल उम्मेदवार छन्। उपसभापतिमा रामाधारप्रसाद यादवले पनि उम्मेदवारी दिएका छन्।
दुई महामन्त्रीका लागि पनि पाँच जनाको उम्मेदवारी परेको छ। निधि–कोइराला समूहबाट नरेश यादव र हरेश महतो तथा देउवा समूहबाट बृहस्पतिकृष्ण श्रेष्ठ र उपेन्द्रकुमार यादव उम्मेदवार बनेका छन्। महामन्त्रीमा विनोद चौधरीले पनि उम्मेदवारी दिएका छन्।
दुई सहमहामन्त्रीका लागि देउवा समूहबाट जयनारायण यादव र परशुराम चौधरी तथा निधि-कोइराला समूहबाट अरविन्द अमात्य र विनोद यादव उम्मेदवार छन।
महिलातर्फ सहमहामन्त्रीमा देउवा समूहबाट रीता यादव तथा निधि–कोइराला समूहबाट निर्मला सुवेदी उम्मेदवार बनेका छन्।