बदलिंदो श्रम सम्बन्ध
सेवाग्राहीबाट सीधै मजदूरले पैसा लिने अनि उसले नै मालिक वा कम्पनीको हिस्सा दिने पद्धति नेपाली श्रम बजारका लागि चानचुने रूपान्तरण होइन।
श्रम सम्बन्धको परम्परागत स्वरूपमा व्यापक परिवर्तन आएको छ। त्यसको मुख्य कारण विज्ञान र प्रविधिमा आएका नयाँ नयाँ आविष्कार र नवप्रवर्तन नै हुन्।
श्रम सम्बन्ध र श्रम बजारमा देखिएका नयाँ परिस्थिति र भौतिक आधारहरूले गर्दा सिर्जित भिन्न प्रकारका श्रमका क्षेत्रले अहिले श्रम सम्बन्धका अनन्य मानिने मालिक र मजदूरको विद्यमान सम्बन्धमा रूपान्तरण ल्याएको छ।
यस लेखमा पछिल्लो समय द्रुत गतिमा बजारमा भिन्न उपस्थिति देखाउँदै आएका पठाओ, टुटल र इनड्राइभ सेवाको बारेमा चर्चा गर्ने जमर्को गरिएको छ।
एक नयाँ प्रयोग
नेपाल लगायत विश्वमा प्रविधिको विकास तथा नवीनतम आविष्कारले गर्दा यातायातका क्षेत्रमा छोटो समयमै लोकप्रियता हासिल गर्न सकेका सेवामा पठाओ, टुटल, इनड्राइभ, सारथि लगायतलाई मान्न सकिन्छ। नेपालमा प्रारम्भमा गैरकानूनी मानेर पठाओ सेवालाई कारबाही समेत गरियो। पछि व्यापक विरोध र जनदबाब पश्चात् चल्न दिइयो।
यसले विज्ञान र प्रविधिमा राज्य वा समाज अद्यावधिक हुन नसकेमा असान्दर्भिक हुने सन्देश दियो। यो सेवा आफैंमा विज्ञान र प्रविधिमा आधारित भएकाले थोत्रा नीति र कानूनलाई चुनौती दिएर सञ्चालनमा आइरहेको छ।
काठमाडौंमा पठाओ जस्ता ‘राइड’ सेवाले लाखौं मानिसलाई सेवा दिइरहेका छन्। प्रविधिमा आधारित यी सेवाहरूले लाखौं बेरोजगार युवालाई स्वरोजगारको व्यवस्था गरेका छन्। विभिन्न नाममा खुलेका यी कम्पनीहरूले दिने सेवा भरपर्दो छ। तुलनात्मक रूपमा ट्याक्सीभन्दा सस्तो र सहज आवागमन हुने भएकाले यसका प्रयोगकर्ता बढ्दै छन्।
सेवा विस्तार
विभिन्न नाममा खुलेका यी ‘राइड’ कम्पनीहरूले अहिले काठमाडौं उपत्यकामा मात्र सेवा दिइरहेका छन्। यसलाई क्रमशः काठमाडौं बाहिर पनि विस्तार गर्न आवश्यक छ।
केही समय अगाडि यस पङ्क्तिकार पोखरा जाँदा विमानस्थलबाट गन्तव्यसम्म पुग्न ट्याक्सीले झण्डै काठमाडौं–पोखराका लागि लिइने हवाई भाडाकै हाराहारीमा पैसा लियो। त्यस्तै, केही महीना अगाडि काठमाडौंबाट सिमरा जाँदा तीन हजार जति हवाई टिकटको पर्यो भने त्यहाँबाट दुई घण्टाको दूरीमा पर्ने हरिवन, सर्लाही जान ट्याक्सीले पैंतीस सय माग्यो। मिटरमा जान नमान्ने र यात्रीको हतारको फाइदा उठाउने प्रवृत्ति भोगियो।
काम गरेर पनि मजदूरले आफ्नो वेतन नपाएका उदाहरण नेपालमा थुप्रै छन्। उनीहरूले आफ्नो श्रमको मूल्य लिनका लागि हडताल, आन्दोलन र धर्ना बस्नुपरेका प्रशस्त घटना सुनिए/पढिएकै हुन्। यस्तो परिस्थितिबाट गुज्रिएका हामीलाई मजदूरले पहिला रकम असुल्ने र उसले नै मालिक वा कम्पनीको हिस्सा दिने पद्धति चानचुने रूपान्तरण होइन।
त्यति वेला पङ्क्तिकारलाई पठाओ, टुटल र इनड्राइभ जस्ता काठमाडौंमा पाइने सेवाको झलझली याद आयो। यी सेवाको अर्को सुविधा के पनि छ भने आफ्नो गन्तव्य थिचेपछि कति रकम तिर्नुपर्छ भन्ने पहिल्यै जानकारी हुने भएकाले ट्याक्सीसितको मोलमोलाइको झन्झट हुँदैन।
यस्ता सेवामा यात्रा गर्न यात्रुलाई सुरक्षित महसूस हुन्छ। जस्तै, वेलावेलामा कैयन् घटना सार्वजनिक भएका छन्– ‘ट्याक्सी चालकद्वारा यात्रु लुटिए’ खालका। विशेष गरी चाडबाडको समयमा यस्ता घटना सुनिन्छन्। काठमाडौंमा यी सेवा चौबीसै घण्टा उपलब्ध हुन्छन्। सेवाग्राहीको मोबाइलमा चालकको फोन नम्बर, गाडी नम्बर र सबै विवरण देखिने भएकाले चालकले बदमासी गर्ने सम्भावना न्यून हुन्छ।
रातको समयमा पनि ढुक्कसँग यात्रा गर्न सकिन्छ। यी सेवालाई देशव्यापी बनाउन आवश्यक छ। धेरै युवाले स्वदेशमै यसबाट राम्रै आम्दानी गर्न सक्छन्। पङ्क्तिकारले सोध्दा, दैनिक न्यूनतम दुई हजार जति कमाउने चालकहरू बताउँछन्।
प्रविधिले बदलेकाे श्रम सम्बन्ध
औद्योगिक क्रान्तिपछि कलकारखानाहरू खुल्न थालेका हुन्। त्यसपछि मजदूरहरू आपूर्ति गरेर श्रमको व्यवस्थापन गर्न थालिएको हो। अचेल पनि मूलभूत रूपमा कम्पनीका कामदारहरूको आपूर्ति त्यसै गरी हुँदै आएको छ। कुनै पनि कार्यालयमा जनशक्ति आपूर्ति गर्दा पहिले विज्ञापन गर्ने, निश्चित प्रक्रिया पुर्याएर निवेदन दिनुपर्ने, कतिपय परीक्षाहरू लिने र अन्तर्वार्ता जस्ता कार्यहरू गरेर बल्ल निश्चित कर्मचारी छान्ने विधि अद्यापि छन्।
आपूर्ति गरेका जनशक्तिले गरेका श्रमको मूल्य (पारिश्रमिक) पहिले मालिकको हातमा जाने र महीना पुगेपछि बल्ल नियुक्तिका क्रममा मालिकसित भएको सम्झौता बमोजिम कर्मचारीले पाउँछन्। यस्तो परिपाटीलाई अहिले पठाओ जस्ता सेवाले उल्ट्याइदिएका छन्।
यो कामका चालकलाई यति घण्टा काम गर्नुपर्ने, निश्चित ठाउँमा काम गर्नुपर्ने, सीमित सङ्ख्यामा कर्मचारी हुने लगायत कुनै पनि प्रकारको परम्परागत बन्देज हुँदैन। जति पनि सङ्ख्यामा चालकहरू दर्ता हुन पाउँछन्। पठाओमा मात्रै तीन लाख जति चालक दर्ता भएका छन्। त्यो सङ्ख्या अझ वृद्धि हुने क्रममा छ।
टुटल, सारथि र इनड्राइभमा पनि लाखौंको सङ्ख्यामा चालकहरू दर्ता भएका छन्। दर्ता हुनलाई यातायातको साधन र सवारी चालक अनुमतिपत्र आवश्यक हुनुका साथै पठाओ र टुटलले क्रमशः पच्चीस सय र दुई हजार तथा इनड्राइभले निःशुल्क गर्ने गरेको चालकहरू बताउँछन्।
पठाओले बीस र टुटलले दश प्रतिशत कमाएको रकमबाट कमिशन लिंदा रहेछन्। पाँच सय शुल्क पुगेपछि जम्मा गर्नुपर्ने अन्यथा कम्पनीले सेवा सञ्जालबाट निष्क्रिय बनाउँदा रहेछन्। तर, इनड्राइभले भने जति कमायो उति नै चालकले लिन पाउने सुविधा दिएको रहेछ। त्यसैले ग्राहकलाई अन्य सेवाभन्दा इनड्राइभ सस्तो पनि पर्दाे रहेछ।
सरकारले पठाओ जस्ता सेवालाई थप राम्रो र व्यवस्थित बनाउन नीतिगत तथा कानूनी व्यवस्था गर्न जरुरी छ। यो पेशालाई मर्यादित र चालक एवं सेवाग्राहीलाई सुरक्षित बनाउन बीमा लगायत भरपर्दो अन्य नीतिगत व्यवस्थाहरू गर्न विलम्ब भइसकेको छ।
यी कम्पनीका सेवाले विश्वको श्रम सम्बन्धको चरित्रमा मौलिक परिवर्तन ल्याएको छ। यी कम्पनी आउनु अगाडि कम्पनी वा मालिक मार्फत कामदारलाई आफ्नो वेतन प्राप्त हुन्थ्यो भने यसमा चाहिं कमाइ सीधै कामदारको हातमा जाने र उसले आफ्नो हिस्सा राखेर मात्र कम्पनीलाई भुक्तानी गर्छन्।
अझ इनड्राइभले त कम्पनीलाई भुक्तानी नै गर्नु नपर्ने व्यवस्था गरेको छ। यद्यपि, यो कम्पनी नेपालमा भर्खरै प्रवेश गरेकाले प्रतिस्पर्धाको बजारमा आफूलाई दर्याउन यस्तो नीति लिएको अनुमान लगाउन सकिन्छ।
काम गरेर पनि मजदूरले आफ्नो वेतन नपाएका उदाहरण नेपालमा थुप्रै छन्। उनीहरूले आफ्नो श्रमको मूल्य लिन हडताल, आन्दोलन र धर्ना बस्नुपरेका प्रशस्त घटना सुनिए/पढिएकै हुन्। यस्तो परिस्थितिबाट गुज्रिएका हामीलाई मजदूरले पहिला रकम असुल्ने र उसले नै मालिक वा कम्पनीको हिस्सा दिने पद्धति चानचुने रूपान्तरण होइन।
सार
यातायातमा आएको यो नौलो सेवाले यात्रुलाई राहत दिलाएको छ। नेपाल जस्तो सार्वजनिक यातायातको अवस्था दयनीय भएको देशमा यसको उपयोगिता धेरै छ।
लाखौं युवा बेरोजगार भएर खाडी लगायत बाहिरी मुलुकमा आफ्नो श्रम बेच्न बाध्य रहेको परिवेशलाई यसले केही हदसम्म आफ्नै देशमा टिकाउन मद्दत पुर्याउँछ।
कोभिड–१९ ले अर्थतन्त्र थिलोथिलो बनाएका कारण विगतमा गरिरहेको काम गुमाउँदा यो रोजगारीले काठमाडौंमा टिक्न धेरैलाई मद्दत गरेको छ। शायद, विश्वका अरू देश र शहरका कथाहरू पनि यस्तै होलान्।
यो काममा चालकहरूले अधिक स्वतन्त्रताको उपयोग गर्न पाउँछन्। आफ्नो फुर्सदको वेला काम गर्ने अन्यथा अदृश्य बस्ने। आफ्नो निजी काम पर्दा कसैसँग बिदा मागिरहनु नपर्ने। बिदा स्वीकृत गराउन पापड बेल्नु नपर्ने। यसैले यसप्रति युवाहरूको आकर्षण बढ्दो छ।
यो सेवा काठमाडौंमा मात्रै सीमित हुँदा भने रोजगारी सीमित घेराभित्र मात्र साँघुरिएको छ। यसलाई देशका अन्य भागमा पनि विस्तार गर्ने हो भने काठमाडौं बाहिर पनि रोजगारी सिर्जना हुन्थ्यो भने अरू शहरका सेवाग्राहीले पनि यो सेवा परख गर्न पाउँथे।
सरकारले यो सेवालाई थप राम्रो र व्यवस्थित बनाउन नीतिगत तथा कानूनी व्यवस्था गर्न जरुरी छ। यो पेशालाई मर्यादित र चालक एवं सेवाग्राहीलाई सुरक्षित बनाउन बीमा लगायत भरपर्दो अन्य नीतिगत व्यवस्थाहरू गर्न विलम्ब भइसकेको छ।
समाजका अन्य क्षेत्रमा पनि यस्ता नवप्रवर्तन र सम्भावनालाई विस्तार गर्न सरकार अग्रसर हुनैपर्छ। यसतर्फ सोच्न ढिलाइ नगरियोस्।