जनार्दन शर्मा निकट नेम्वाङ माओवादी प्रदेश १ अध्यक्षमा निर्वाचित
नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटी अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी भएका छन्।
बुधबार राति सम्पन्न निर्वाचनमा अर्थमन्त्री जनार्दन शर्मा निकट नेम्वाङ १६९ मत पाएर प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षका अर्का प्रत्याशी पूर्व अर्थमन्त्री वर्षमान पुन निकट मुक्साहाङ मेन्याङ्बोले जम्मा ६४ मत पाए।
प्रदेश कमिटी उपाध्यक्षमा मणिकुमार साम्पाङ १११ , देवान चाम्लिङ पृथ्वी १२० र शिवकुमार डाँगी ११३ मत पाएर विजयी भए। सचिवमा गणेश उप्रेती १४८, सह–सचिवमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुंगाना ९५ भोट सहित निर्वाचित भए।
यस्तै, कोषाध्यक्षमा ९३ भोट पाएका रेवतराज पुरी विजयी भए। माओवादी प्रदेश कमिटीको ९ जना पदाधिकारी चयनका क्रममा सर्वसम्मतिको लामो प्रयास असफल भएपछि चुनाव भएको हो ।
पदाधिकारीमा २९ जनाको उम्मेदवारी परेको थियो। २४० जनाले मतदान गरेका थिए भने १९ जना अनुपस्थित थिए। प्रदेश कमिटी अध्यक्षका आकाङ्क्षी इन्द्र आङ्बो, सुरेशकुमार राई (हिमाल) र हेमराज भण्डारी पछि हटेका थिए।