नगरकोट सडक निर्माणको लिखित प्रतिबद्धता माग
भक्तपुरको नगरकोट सडक समयमै निर्माण सम्पन्न गर्न लिखित प्रतिबद्धता माग गरिएको छ।
कमलविनायक–नगरकोट सडक निर्माणमा भएको ढिलाइ तथा लापरवाहीको सन्दर्भमा बुधबार भक्तपुरमा आयोजित छलफल कार्यक्रममा सरोकारवालाले लिखित प्रतिबद्धताको माग गरेका हुन्।
कार्यक्रममा आयोजक चाँंगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले समयभित्र काम सकाउने गरी लिखित प्रतिबद्धताको माग राखे।
सांसद प्रेम सुवालले नगरकोट सडक निर्माणको ठेक्का पाएको सैलुङ कन्सट्रक्सन कम्पनीको लाइसेन्स खारेज गर्नुपर्ने माग राखेका छन्। उनले समयमै काम नसकेकामा ठेकेदार कम्पनीलाई कारबाही गरी जरिवाना असुल्नुपर्ने धारणा राखे। छलफलमा उनले ठूला दलको संरक्षणका कारण ठेकेदारले समयमै काम नगरेको बताए।
कमलविनायक–नगरकोट सडकखण्ड आगामी चैतभित्र सम्पन्न गर्ने गरी सरकारले सातौं पटक म्याद थप गरेको छ।
सैलुङ कन्सट्रक्सनका व्यवस्थापक अनुप अधिकारीले समयभित्रै सम्पन्न गरी सडक हस्तान्तरण गरिसक्ने प्रतिबद्धता जनाएका छन्। कुल १५ किलोमिटरमध्ये ९ किलोमिटर सडक कालोपत्रे भइसकेको उनको भनाइ छ।
ठेकेदार कम्पनीका प्रतिनिधिले प्रतिबद्धता जनाए पनि छलफलमा सहभागीले विश्वास गर्न नसकिने बताएका थिए।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइन्।
सडक आयोजना प्रमुख गौतम श्रेष्ठले भर्खरै जिम्मेवारी सम्हालेको बताउँदै समयमै सकाउने र नसके म्याद थप नगर्ने दाबी गरे।