ढल खन्दा राजा अंशुवर्मा पालाको शिलालेख भेटियो
५ पुसमा ललितपुरको पाटन दरबार, भीमसेन मन्दिर अगाडि ढल खन्ने क्रममा लिच्छविकालीन शिलालेख भेटिएको छ।
हाल पुरातत्त्व विभागको संरक्षणमा रहेको उक्त शिलालेखको प्रारम्भिक अध्ययनमा १५ पङ्क्तिको अभिलेख राजा अंशुवर्माकालीन भएको पाइएको छ।
शिलालेख लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा लेखिएको छ। यसको शिरोभागमा दायाँबायाँ श्रावक मृग र बीचमा गुडेको धर्मचक्र चिह्न कुँदिएको छ।
शिलालेखको लम्बाइ झण्डै ६ फिट भएको पुरातत्त्व विभागले पठाएको अनुसन्धान टोलीका लिपिविज्ञ तथा विभागका पूर्व उपसचिव श्यामसुन्दर राजवंशीले जानकारी दिए। उनले भने, “अहिले सबै शिलालेख पढ्न सकिएको छैन। तर, त्यहाँ अंशुवर्माको नाम देखिन्छ। यसमा राजा वृषदेवले बनाएको विहारको उल्लेख अहिलेसम्म पाइएको रोचक तथ्य हो।”
शिलालेखको अन्तिम पङ्क्तिमा भने दूतक कुमारामात्य चन्द्रजीवको नाम छ। ३२ वर्षअघि गोकर्णको बालुवा गाउँमा पनि संवत् ५३६ द्वितीय पुसको अभिलेख भेटिएको थियो।
यस शिलालेखमा भने संवत् ५३६ जेष्ठ उल्लेख छ। यी दुई शिलालेखलाई दाँजेर त्यस वेलाका धेरै ऐतिहासिक कुरा पत्ता लगाउन सकिने लिपिविद् राजवंशीले बताए।
यस शिलालेखलाई राम्रोसँग सफा गरी थप अनुसन्धान गर्ने बताउँदै पुरातत्त्व विभागका निर्देशक दामोदर गौतम भन्छन्, “हामी थप सुरक्षाको लागि सङ्ग्रहालयमा राखेर शिलालेखले भनेका तत्कालीन समयको सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक, वास्तुकला लगायत विषयमा अवगत गराउँछौं।”
आजसम्म २५० भन्दा बढी लिच्छिविकालीन अभिलेख सङ्कलित भइसकेका छन्। यस शिलालेखले अर्को एउटा इतिहास थप्नेमा लिपिविद् राजवंशी विश्वस्त छन्। उनी भन्छन्, “नेपालको प्राचीन इतिहासका धेरै विषय आएकै छैनन्। यस शिलालेखले नयाँ तथ्य थप्न सक्छ।”
नेपालको इतिहासमा प्राकृतिक प्रकोपले धेरै धनजन सहित पुरातात्त्विक महत्त्वका वस्तु नष्ट गरेको छ। त्यसमा पनि भूकम्पले धेरै अभिलेख पुरिने र कालान्तरमा विभिन्न प्रयोजनका लागि उत्खनन गर्दा भेटिने गरेका छन्।