कांग्रेस प्रदेश २ को सभापतिमा देउवा र निधि पक्षबीच प्रतिस्पर्धा
नेपाली कांग्रेसको प्रदेश २ को नेतृत्वका लागि सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधि पक्ष प्रतिस्पर्धामा उत्रिएका छन्।
मंगलबार प्रदेश सभापतिका लागि देउवा पक्षबाट कृष्ण यादव र निधि पक्षबाट रामसरोज यादवले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेशमा सहमति नजुटेपछि दुवै पक्षले उम्मेदवारी दिएका हुन्।
दिनभर सहमतिको प्रयास भए पनि अन्तिममा दुवै पक्षले सभापतिमा उम्मेदवारी दिएका छन्। जनकपुरस्थित गोपाल धर्मशालामा रहेको निर्वाचन समितिको कार्यालयमा पुगेर कृष्ण र रामसरोजले मनोनयन दर्ता गराएका हुन्।
रामसरोज कांग्रेस २ संसदीय दलका नेता हुन्। उनी अहिले प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री छन्।
उम्मेदवार दर्तापछि सञ्चारकर्मीसँग बोल्दै रामसरोजले आफूले कुनै गुटबाट उम्मेदवारी नदिएको बताए। गुट समाप्त गर्ने उद्देश्यले नै सभापतिमा उम्मेदवारी दिएको उनको भनाइ थियो।
कृष्णले भने प्यानल बनाएरै उम्मेदवारी दर्ता गराएका छन्। उनको समूहबाट महिला बालबालिका युवा तथा खेलकूद मन्त्री वीरेन्द्र सिंह र उपेन्द्र यादवले उपसभापति पदमा उम्मेदवारी दिएका छन्।
प्रदेश २ मा चुनाव हुने भएपछि कांग्रेसका नेताहरू जनकपुर पुगेका छन्। केही दिनदेखि निधि जनकपुरमै छन्। त्यस्तै, गृहमन्त्री बालकृष्ण खाँण, उदयशमशेर राणा र महेन्द्र यादव जनकपुर पुगेका छन्।
कांग्रेस प्रदेश समितिका सभापति, दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्री र सदस्यका लागि बुधबार मतदान हुनेछ।