‘तानाशाहहरू संसार बदल्न चाहन्छन्, तर आफैं बदलिन चाहँदैनन्’
‘सामाजिक अन्यायको विरोध गर्नै पर्छ। तर, द्वेष-हिंसा होइन, प्रज्ञा र करुणाका बलले। आफैंभित्रको हिंसाभावसँग जुझ्न नसके बाहिरको हिंसासँग पनि जुझ्नै सकिंदैन।’
आफ्नै अनित्यताको बोध नहुँदा मान्छे सबै कुरा आफैंले भने जस्तो हुनुपर्छ भन्ने ठान्छ। आफूलाई पूर्ण, सग्लो देख्दा मेरो प्राथमिकता नै सर्वश्रेष्ठ हो भन्ने भान पर्छ।
गोरखा जिल्लाको नुब्रीमा जन्मिएका योङ्गे मिङ्ग्युर रिम्पोछे बौद्ध धर्मको तिब्बती परम्पराका व्यावहारिक तथा दार्शनिक आयामलाई आधुनिक मनोविज्ञानसँग समन्वय एवं संयोजन गर्छन्। तीन गुम्बाका सर्वोच्च गुरु उनी संसारभर छरिएका सयभन्दा बढी टेर्गार केन्द्रलाई दिशानिर्देश गर्दै आएका छन्। चार पुस्तकका लेखक रिम्पोछेको मुख्य जोड ध्यानसाधना तथा सहज जीवनमा रहने गरेको छ।
शल्यचिकित्सक सरोज धिताल बौद्ध धर्म दर्शनका अध्येता तथा अभ्यासकर्ता हुन्। समसामयिक विषय एवं साहित्यमा कलम चलाउँदै आएका डा. धिताल पछिल्लो केही वर्षदेखि ध्यानसाधनामा मग्न छन्। योङ्गे मिङ्ग्युर रिम्पोछेको न्यूयोर्क टाइम्स बेस्ट सेलर जोय अफ लिभिङलाई नेपालीमा जिउनुको मज्जा शीर्षकमा अनुवाद गरेका डा. धितालले मंसीरको एउटा पारिलो बिहान काठमाडौं सीतापाइलास्थित टेर्गार गुम्बामा आफ्ना गुरु मिङ्ग्युर रिम्पोछेसँग बौद्ध धर्म दर्शन विषयमा गहन संवाद गरे।
मसँग यसअघिको कुराकानीमा यहाँले आफैंभित्रको बुद्धको शरणमा जानु नै शरणागमन रहेको बताउनुभएको थियो। यसबारे थप प्रस्ट पारिदिनुस् न?
बुद्धले आफ्नो स्वामी आफैं हो भन्नेमा जोड दिनुहुन्थ्यो। हामी सबैमा एउटा अद्भुत गुण छ- सुगतगर्भ अर्थात् बुद्धस्वभाव। बाहिरबाट जे देखिए पनि मूल स्वभाव वा ‘निसर्ग’ सबैको उही हो। शाक्यमुनि लगायत बुद्ध हुन् वा षड्गतिमा रहेका मानव वा मानवेतर अन्य अस्तित्व, सबैमा बुद्ध-बीज-सुगत गर्भको नैसर्गिक गुण लुकेको हुन्छ।
फरक के भने बुद्धहरूले त्यो देख्नुभयो, हामीले देख्न सकेका छैनौं। बौद्ध शिक्षामा यो सत्यलाई प्रस्ट्याउने परम्परागत भनाइ छ- कसैसँग बहुमूल्य हीरा रहेछ, तर उसले त्यसको महत्त्व बुझेको छैन भने के उपयोगिता? तर, जब त्यो रत्नलाई उसले चिन्छ, जीवनमा ठूलो परिवर्तन आउन सक्छ। हामीभित्रको बुद्ध स्वभावको कुरा पनि त्यस्तै हो।
हामी सबै बुद्ध हुन सक्छौं, साधनाको माध्यमबाट। धर्मको बाटोबाट। बुद्ध भन्नुहुन्थ्यो, ‘म तिमीहरूलाई बाटो देखाउन मात्र सक्छु। बुद्धत्व प्राप्त गर्ने/नगर्ने त तिमीहरूकै हातमा छ।’ बुद्ध स्वयंले त्यो शक्ति हामीलाई दिने होइन। त्यसरी शक्ति हस्तान्तरण हुने भए त अहिले यो महाव्याधि आउँथ्यो र? संसारमा यति धेरै समस्या रहन्थे र?
मान्छे किन आफूभित्रका असल पक्षलाई काममा लगाउनेभन्दा अरूका कमजोरी खोज्नमा लागेको होला? बौद्ध धर्ममा चासो राखेका केही बुद्धिजीवीले व्यवहारमा वज्रयान अभिजात वर्गको धर्म जस्तो देखिन गएको भनी गरेको टिप्पणीसँग यो प्रवृत्तिको केही सम्बन्ध छ?
वज्रयान नेपाल र भारतबाटै गएको भए पनि झाँगिएको भोटमा हो। तिब्बतबाट बाहिर आएपछि यसमा विभिन्न सांस्कृतिक मिश्रण भयो। प्रायः सबैजसो संस्कृतिमा प्राधिकार खोज्ने चलन हुन्छ। त्यो प्राधिकार विभिन्न संस्कृतिमा विभिन्न किसिमले प्रकट हुन्छ। परिवारमा बाबु वा आमा, कम्पनीमा त्यसका प्रमुख कार्यकारीको सर्वोच्च भूमिका भए जस्तै धर्मको अभ्यासमा पनि कुनै व्यक्ति प्रमुख भइदिन्छ। यसै क्रममा गुरुलाई सर्वोच्च प्राधिकार मान्ने मात्र होइन, बुद्धलाई समेत यस्तै मर्यादाक्रमभित्र हेर्ने प्रवृत्ति विकास भयो। तर, बौद्ध शिक्षा अलि फरक छ।
वज्रयान नेपाल र भारतबाटै गएको भए पनि झाँगिएको भोटमा हो। तिब्बतबाट बाहिर आएपछि यसमा विभिन्न सांस्कृतिक मिश्रण भयो। प्रायः सबैजसो संस्कृतिमा प्राधिकार खोज्ने चलन हुन्छ।
फेरि पनि हीराको टुक्राकै विम्ब समातेर कुरा गरौं न! पत्र-पत्रले छोपिएको बहुमूल्य हीराको कल्पना गर्ने हो भने त्यो आवरण नहटाई त्यसलाई देखिंदैन। हाम्रो निसर्ग त बुद्धस्वभाव नै हो नि ! तर, त्यसलाई छोपेर बसेको आवरणले गर्दा त्यो देख्न सकिन्न। त्यो आवरणको सबभन्दा बाहिरी पत्र सबभन्दा अस्वस्थ ‘म’ भाव हो। भित्री आवरण पनि ‘अहं भाव’ नै हुन्छ, तर बाहिरी तहको तुलनामा त्यो स्वस्थ हुन्छ। सबभन्दा भित्र रहेको बुद्धस्वभाव भने यस्तो ‘म’ भावभन्दा पर हुन्छ।
हामीले भन्ने गरेको अविद्या त्यही सबैभन्दा बाहिरी आवरण हो जसले निसर्गलाई बुझ्न दिंदैन। निसर्ग अर्थात् बुद्धस्वभावका तीन विशेषता हुन्छन्- शून्यता अर्थात् संस्कारित अवधारणाभन्दा, ‘स्व-पर’ भावभन्दा पर। तर, शून्यता भनेको रिक्तता होइन। प्रभास्वर (प्राञ्जलता), मैत्री-करुणा र सम्यक् स्मृति शून्यतामा एकाकार हुन्छन्।
त्यही त हो हाम्रो निसर्ग, हाम्रो वास्तविक स्वभाव ! पत्र-पत्र आवरणका कारण हामी यसलाई देख्न सक्दैनौं। आवरणका ती पत्रहरूमध्ये सबभन्दा बाहिरी तह हो- अहङ्कार। यही अहङ्कारले गर्दा हामी अरूमा मात्र कमी कमजोरी खोज्छौं। वैज्ञानिकहरू भन्छन्- कसैका नौ वटा सद्गुण र एउटा मात्र दुर्गुण छ भने दुर्गुणमै आँखा पुग्छ। अनि त्यही दुर्गुणलाई अझ बढाइचढाइ गर्न थालिन्छ।
गुरुयोग लगायत वज्रयानका पारम्परिक अभ्यासहरूलाई सुगतगर्भ या सत्य बुझ्न अपनाइने उच्चतम कोटिको कलासाधना भन्न मिल्ला?
अवश्य। वज्रयानमा मार्गका रूपमा दुई कुरा हुन्छन्। प्रज्ञा र उपायकौशल। प्रज्ञा भनेको शून्यताबोध हो। शून्यता बुद्धस्वभाव हो। उपायकौशलमा गुरुयोग पनि पर्छ। मैत्री, करुणा, बोधिचित्त सबै उपायकौशल हुन्। शमथ- सम्यक् स्मृति वा यथास्थितिको होश- पनि उपायकौशलमै पर्छ। त्यस्तै, अनेक देवीदेवता, धर्मरक्षकहरूको कल्पना वा स्मरण एक किसिमले कलासाधनाकै रूप हुन्।
हाम्रो नैसर्गिक गुणसँग साक्षात्कार हुन सिर्जनात्मक काल्पनिकीको ठूलो महत्त्व छ। कर्मकाण्ड त अनेक हुन्छन्, तर तिनको अर्थ बुझ्नुपर्छ। भनौं न, कुनै देवीदेवताको कल्पना गरिरहेका छौं भने त्यो वेला एकाग्रता चाहिन्छ। मनलाई कल्पनाका देवी-देवता, धर्मरक्षकमा अड्याउँदा ‘शमथ’ को अभ्यास भइरहेको हुन्छ।
शमथको अभ्यासमा रहँदा त्यो ‘यथाभूत ज्ञानदर्शन’ बाट करुणा र प्रज्ञाप्राप्तिको सम्भावना हुन्छ कि हुँदैन?
शमथ एक्लैले त प्रज्ञासम्म पुर्याउँदैन। तर, अन्य उपायकौशलका साथ शमथको अभ्यास गर्दा विपश्यना वा अन्तर्दृष्टिसम्म पुर्याउँछ। शमथ अभ्यासमध्येकै एउटा हो- आनापान। अर्थात्, श्वासप्रश्वासलाई आलम्बका रूपमा लिएर त्यसैलाई एकाग्रता साथ हेर्नु। त्यो गहिरो-हल्का, लामो-छोटो, नियमित-अनियमित जस्तो छ, आफ्ना तर्फबाट कुनै मूल्याङ्कन नगरी हेरिरहने। प्राणायाममा जस्तो सक्रिय यत्न गर्ने होइन। यसो गर्नु यथार्थलाई स्विकार्नु हो।
त्यो यथार्थमा अनित्य देखिन्छ। खण्डहरूबाट संरचित अस्तित्व र अन्तरनिर्भरताका अनेक सञ्जाल देखिन्छन्। यसरी त्यो प्रज्ञातर्फको पहिलो पाइला बन्न सक्छ। तर, यो सजिलो चाहिं हुँदैन! किनकि, उपद्र्याहा बाँदर जस्तो हुन्छ हाम्रो मन, अनेक विचार सिर्जना गरिरहन्छ। परिवार, जागीर, जिन्दगीको चिन्ता गर्न थाल्ला। यस्तो स्थितिमा हामी कि मनसँगै बग्न थाल्छौं (यस्तो वेला सासको एकाग्रता कता जान्छ, कता!) कि त ध्यान खलबलियो भन्दै त्यो ‘बाँदर’ लाई लखेट्न खोज्छौं।
यसरी लखेट्दा विचारहरू झन् अटेरी भएर आउँछन्। ‘चाहिंदैन’ भन्यो भने मनले झन् उल्टो काम गर्छ। बरु, ‘आउँछ भने आओस्’ भनेर छोडिदिने हो भने त्यो त्यति अटेरी हुँदैन। यस्तोमा आफूले लिंदै-छोड्दै गरिरहेको सासलाई हेरिरहेको छ कि छैन भनेर जाँचिरहन पनि पर्छ। ‘चाहिंदैन’ भनेर निषेध गरिरहनुले द्वेष जन्माउँछ। द्वेषले पनि रागले जस्तै तृष्णालाई नै मलजल गरिरहेको हुन्छ। तृष्णाको त्याग गर्न सक्नु नै प्रज्ञा हो।
हामी प्रायः यथार्थलाई स्पष्ट नदेखीकनै भावावेगका भरमा, लागेका बानीका भरमा वा विगतका आघातले जन्माएका पूर्वाग्रहका भरमा अरूका भनाइमा प्रतिक्रिया जनाउँछौं।
शमथबाट अनित्य, अनात्म र अपूर्णताका लक्षण पार गर्दा बोध हुने क्षणभङ्गुरताले आफूभित्र करुणा हुर्किने र त्यसको उदयसँगै प्रज्ञाको दिशामा अघि बढ्ने क्रम शुरू हुने हो?
हो। यसरी आनापान अभ्यासबाट श्वासप्रश्वासमा एकाग्र रहँदा हामी वास्तवमा जिउने कला सिकिरहेका हुन्छौं। कसरी जीवनलाई सार्थक र सफल बनाउने भन्ने सीप सिकिरहेका हुन्छौं। हामी प्रायः यथार्थलाई स्पष्ट नदेखीकनै भावावेगका भरमा, लागेका बानीका भरमा वा विगतका आघातले जन्माएका पूर्वाग्रहका भरमा अरूका भनाइमा प्रतिक्रिया जनाउँछौं।
यसले असमझदारी जन्माउँछ, संवाद झन् असहज हुन थाल्छ। आफ्नो हाकिम, सहकर्मी, मातहतका कर्मचारी, परिवार सदस्य, साथीसँगको सम्बन्धमा समस्या देखा पर्न थाल्छ। यी सबै समस्याको जड पूर्वाग्रहजन्य असमझदारी हुन्छ। शुरूमै यथार्थ नदेखेपछि सबैभन्दा ठूलो गल्ती त्यहीं भइहाल्यो नि !
तर, यथार्थ जान्ने नाममा जबर्जस्ती गर्दा फेरि उही ध्यान गर्ने वेला बाँदर लखेटे जस्तो स्थिति हुन सक्छ। यथार्थलाई जस्ताको त्यस्तै देख्न चाहिने सीप विकासमा आनापान स्मृति जस्ता शमथको अभ्यासले मद्दत गर्छ। अरू कुरालाई आलम्बन बनाउन गाह्रो हुन्छ, आफ्ना परिवारका बीचमा सम्यक् श्रवण (सही ढङ्गले सुन्ने कला)को अभ्यास गर्न गाह्रो भए जस्तै। तर, आफ्नै श्वासप्रश्वासलाई ‘सुन्न’ अलि सजिलो हुन्छ।
हिजोआज धेरै मानिस तनावमा हुन्छन्- खास गरी युवा। ‘डिप्रेशन’, सन्त्रास जस्ता समस्या द्वेषभावबाटै जन्मिने हुन्। कुनै चीजप्रति जति बढी द्वेषभाव भयो त्यसबाट जन्मिने सन्त्रास उति नै चर्को हुन्छ। रागले पनि त्यस्तै गर्छ। आफ्नै तृष्णाभित्र जे–जे अपेक्षा लुकेका हुन्छन्, तिनका कारण अरूका समस्या, अपेक्षाहरूको बेवास्ता हुन पुग्छ।
हामीभित्र ठूल्ठूला सद्गुण छन्। स्मृति, करुणा, प्रज्ञा, अनेक सीप, सम्भाव्यता र क्षमता यी सब छन् हामीमा। यिनको सदुपयोग गर्ने प्रयत्न गर्नुपर्छ। आफ्नै विवेकको उपयोग गर्नुपर्छ। प्रज्ञा, मैत्री–करुणा, सम्यक् स्मृति जस्ता शक्ति हुनु चानचुने कुरा होइन।
भोटमा प्रचलित एउटा पुरानो कथा छ– एक दयालु राजाले प्रजा भोकै नपरून् भनेर राज्यको ढुकुटीमा भए जति जौ बाँडिदिएछन्। ढुकुटी रित्तियो। केही महीनापछि जनता फेरि अन्न माग्न आइहाले। अनि एक मन्त्रीले उपाय झिकेछन्, “सरकार ! प्रजालाई जौको खेती गर्न सिकाइयो भने उनीहरू आफैंले उत्पादन गर्न सकिहाल्छन् नि।” प्रजालाई दिएको यही ज्ञानले सिङ्गै राष्ट्रलाई जोगायो।
इन्डोनेशियामा मेरा एक शिष्य थिए। उनको ठूलो जुत्ता कारखाना थियो। एक हजार कामदार रहेको कम्पनीको स्थिति अनेक प्रयत्न गर्दा पनि झन् झन् बिग्रन थालेपछि उनी ‘के गरौं’ भन्दै मसँग आए। मैले भनें, “पहिले आफ्नै श्वासप्रश्वासलाई नियाल। सास फेर्ने क्रियाभित्र कति स-साना अंश छन् र ती कसरी एकापसमा निर्भर छन्? श्वासप्रश्वासको प्रक्रियामा समयको कस्तो भूमिका छ? सबै बुझ्ने कोशिश गर।” उनी हुन्छ भन्दै कारखाना गए। जब त्यहाँभित्रका अनेक परिस्थितिलाई एक-एक गरी हेरे, असफलताको कारण पनि पत्ता लगाए।
सामान्यतया हामी कारण र परिस्थिति (हेतुप्रत्यय) बुझ्न चाहँदैनौं। हामीलाई तत्कालै प्रतिफल चाहिन्छ। स्याउको रूख रोप्दा पनि त मल, जल, घाम सबै कुरा चाहिन्छ नि होइन? यो वास्तविकता बुझ्न सघाउँछ, श्वासप्रश्वासमा केन्द्रित भएर गरिने ‘आनापानसति’ अभ्यासले। त्यसैले शमथ र विपश्यनाको अभ्यास भनेको जिउने सीप सिक्नु पनि हो।
रिम्पोछे, स-साना कुरामा पनि सत्यदर्शन गर्न सक्ने कला ‘जिउने सीप’ हो कि होइन? स-साना घटना-प्रवृत्तिबाटै प्रज्ञातिर उन्मुख हुने कला प्राप्त गर्न सके मानिसमा अलि सजिलै करुणाको उदय हुन्थ्यो कि? अनि मैत्री-करुणा पुष्ट गर्ने कुरामा सन्तुलनको सवाल आउँछ कि आउँदैन?
काठमाडौं नजिकैको नमोबुद्धमा भगवान् बुद्धको पूर्वजन्मसँग जोडिएको एउटा कथा प्रचलित छ। त्यो जन्ममा भोकले मर्न लागेकी एउटी सुत्केरी बघिनी र उसका डमरुलाई बचाउन बोधिसत्त्व राजकुमारका रूपमा रहेका उहाँले आफ्नै शरीर दान गर्नुभयो रे। बुद्धले पछि भन्नुभयो- “हो, मैले अघिल्लो जन्ममा त्यसो गरेको हो। तर, बोधिचित्तका नयाँ अभ्यासीहरूले कदापि यसो नगर्नू। यस्तो चाहना नै मार्गमा बाधा बन्न सक्छ।”
हामीले मैत्री, करुणा र बोधिचित्त अवश्य विकास गर्नुपर्छ। तर, यसका लागि व्यवहारमा सन्तुलन गुमाउन हुँदैन। कतिसम्म गर्न सक्छौं भन्ने कुरा आफ्नो क्षमता, संसाधन र इच्छाशक्ति हेरेर निर्धारण गर्नुपर्छ। आफ्नो सीमा नाघेर मद्दत गर्न खोज्नु एक किसिमको अतिवाद हुन्छ। गर्न सक्ने जति नगर्नु पनि अर्को ठूलो गल्ती हो। करुणा र प्रज्ञा साथसाथै जानुपर्छ, तर संसारलाई बचाउन यसमा प्रज्ञासँगको योग पनि चाहिन्छ।
प्रज्ञा मूल साधना हो, करुणा साधन। प्रज्ञा शून्यता जस्तै पूर्णतया स्वतन्त्र हुन्छ, स्व-परबाट मुक्त हुन्छ। तर ‘कर्म’ त यही सापेक्षिक सत्य वा ‘संवृत्तिसत्य’ को आयामको कुरा हो। व्यवहारमा असल मानिस बन्नै पर्छ। परोपकार, दानशीलता, शील पालन, मिहिनेत, धैर्य जस्ता सद्गुण अति आवश्यक छन्। त्यसैले व्यवहारमा सकेसम्म असल कर्म गरौं। तर, गहिराइमा भने आफ्नै कर्ममा पनि टाँस्सिइरहन आवश्यक छैन।
विभिन्न धर्म-सम्प्रदायका ‘यसो गर, त्यसो नगर’ भन्ने अनेक नियम हुन्छन्, कर्मकाण्ड हुन्छन्। प्रज्ञाको मतलब नराखीकन ती कर्मकाण्डमै टपक्क टाँस्सिने हो भने आफ्नो स्वतन्त्रता गुम्छ। तर, ‘म त स्वतन्त्र छु, केहीको पनि वास्ता नगरे हुन्छ, मलाई धर्मको के मतलब, संस्कृति-परम्पराको के मतलब, सबै शून्यता त हो नि !’ भन्नु पनि नास्तिवाद, विनाशवाद हुन्छ। त्यसैले भित्रैदेखि निर्भय, स्वतन्त्र, प्रज्ञायुक्त भएर व्यवहारमा अत्यन्त दयालु, शिष्ट, परिष्कृत हुन आवश्यक छ।
आफूभित्रका क्लेशलाई त तिनको बोध गरेर शिथिल पार्न सकिन्छ। तर, बाहिर समाजमा पनि त्यस्ता क्लेश छन्- हत्या, बलात्कार, शोषण, अत्याचारका रूपमा। आफूले बोध गर्दैमा ती हट्दैनन्। बाहिरका यस्ता दुष्टतासँग चाहिं कसरी व्यवहार गर्ने त?
हामीले जहिले पनि पीडितलाई सघाउनुपर्छ। त्यो कसरी गर्ने भन्नेमा भने ध्यान पुर्याउनुपर्छ। यसमा साँच्चैको करुणा र प्रज्ञा चाहिन्छ। कुनै वेला हामी आफैंभित्रको मारबाट निर्दिष्ट हुन पुग्छौं। फलस्वरूप– हिंसाको बाटो लिन पुग्छौं। त्यसो भयो भने त्यो करुणा र प्रज्ञाको बाटो भएन। संसारका धेरै तानाशाह शुरूमा राम्रै गर्छु भनी लागेका हुन्छन्– आफ्नो संस्कृतिको रक्षा गर्न, जनताको रक्षा गर्न। तर, आफूभित्रको ‘मार’ लाई आधार बनाएर ती काम गरिरहेका हुन्छन्। संसार बदल्न चाहन्छन्, तर आफैं बदलिन चाहंदैनन्। यसो गर्दा संसार झनै अराजक हुन पुग्छ।
‘स्व’ वा ‘आत्म’ को अस्तित्व नित्य छ, पूर्ण छ र केहीसँग पनि निर्भर छैन भन्ने तीन धारणाको योग नै ‘मार’ हो। यसले अरूको वास्ता गर्दैन। यथार्थमा यस्तो तीन गुण भएको ‘आत्म’ त केवल अवधारणामा हुने हो, सत्यको सापेक्षिक तह- संवृत्ति सत्यसम्ममा पनि यो हुँदैन। एउटा आँखालाई अलिकति थिचेर हेर्दा आकाशमा दुई वटा चन्द्रमा देखे जस्तो हो बुद्धको बाटो भने पहिले आफैंभित्रको मारसँग जुझ्नु हो। अनि मात्र साँच्चैको रूपान्तरणकारी प्रभाव सिर्जना हुन्छ।
त्यो प्रभावले परिवारजन, मित्र, सहकर्मी सबैको रूपान्तरण हुन सक्छ। मकहाँ ध्यान सिक्न आउनेहरू वेलावेला भन्छन्, ‘तपाईंबाट ध्यानसाधना सिकेपछि म त पूरै बदलिएँ। तर, मेरा श्रीमान् (वा श्रीमती), सन्तानलाई कसरी बदल्ने होला?’ म भन्छु, ‘कसैलाई बदल्न नखोज्नोस्। केही सिकाउने प्रयत्न नगर्नोस् ! बरु, आफैं रूपान्तरित भएर देखाउनोस्। त्यसैबाट उनीहरूले केही सिक्नेछन्।’
वैज्ञानिकहरू भन्छन्, ‘हाम्रो सिकाइको ९२ प्रतिशत निःशब्द हुन्छ। सात-आठ प्रतिशत मात्र सशब्द हुन्छ।’ आफू रूपान्तरित भइरहँदा यथार्थमा तत्क्षण अरूको रूपान्तरणमा पनि सहयोग पुगिरहेको हुन्छ। तपाईंभित्रको शान्ति, प्रज्ञा स्वतः प्रसारित भइरहेको हुन्छ। आफू रूपान्तरित नहुँदासम्म तपाईंका जतिसुकै राम्रा सामाजिक काम पनि आफैंभित्रको मारबाट निर्दिष्ट हुन्छन्। त्यसैको उत्थानका साधन बन्न पुग्छन्। अनि अनेक विरोधाभास, लडाइँ–झगडा र समस्या उत्पन्न हुन थाल्छन्।
सामाजिक अन्यायको विरोध गर्नै पर्छ। तर, द्वेष-हिंसा होइन, प्रज्ञा र करुणाका बलले। आफैंभित्रको हिंसाभावसँग जुझ्न नसके बाहिरको हिंसासँग पनि जुझ्नै सकिंदैन।
मान्छे आफूलाई ब्रह्माण्डकै शासक ठान्छ। तर, हाम्रै लोभका कारण सुन्दर पृथ्वी ध्वस्त हुँदै छ। पृथ्वीप्रति नै करुणा हराएको स्थितिमा के गर्ने होला?
फेरि पनि सन्तुलनसँगै जोडिन आवश्यक छ। संसार त व्यक्तिबाटै बनेको छ नि! आफ्नो व्यवहारलाई परिवर्तन गर्न, आफैंलाई रूपान्तरित गर्न आवश्यक छ। आफ्नो सीमा-क्षमता अनुसार जे जे सकिन्छ, त्यही गर्न थाले संसार बदलिन्छ। तर, शुरूमै हामीले चाहे जस्तो हुँदैन अनि हातखुट्टा छोडिदिन्छौं।
एक्लैले सिङ्गो संसारलाई कसरी प्रभावित पार्न सकिएला र भन्ने सोच राखियो भने केही उपलब्धि हात लाग्दैन। अर्कातिर सबै हिंसात्मक उपाय अपनाएर संसार बदल्न खोज्नु पनि ध्वंसको बाटो हो। त्यसैले बुद्धको शिक्षा पछ्याउँदै, आफ्नो क्षमता अनुसार जे सकिन्छ, त्यसै मार्फत पर्यावरणको रक्षा गर्ने हो।
सामाजिक कार्यमा लागेका धेरै मान्छे मैले भेटेको छु जो संसार परिवर्तन नहुने रहेछ भनेर निराशा, तनाव, विषाद र सन्त्रासमा डुबेका हुन्छन्। उनीहरू पनि बुद्धको शिक्षा पछ्याउँदै सम्यक् स्मृति, करुणा, प्रज्ञाको बाटोमा हिंडे ऊर्जा र शक्तिले सम्पन्न भएर धेरैको उपकार गर्न सक्थे होलान्।
जब अहङ्कार वा ‘म’ भावसँग जोडिएर कुनै व्यक्तिको पहिचानको कुरा आउँछ, त्यसलाई कसरी बुझ्ने? बुद्धकै वा रिम्पोछेकै पूर्व जन्मका कुरा गर्दा आउने ‘पहिचान’ को निरन्तरतालाई कसरी बुझ्ने?
मैले पहिले पनि भनें- हामी सबैको नैसर्गिक स्वभाव त बुद्धस्वभाव नै हो जो शाश्वत हुन्छ। तर, आवरणका दुई पत्रले यसलाई छोपेका हुन्छन्- ‘अहं’ को अस्वस्थभाव र स्वस्थभाव। ती दुईभन्दा भित्र ‘म’ पारिको ‘म’ हुन्छ- बुद्धस्वभाव। त्यो अस्वस्थ ‘म’ भाव भनेको आफूलाई अपरिवर्तनीय, सग्लो, स्वतन्त्र अस्तित्व भएको ठानेर त्यसैमा झुन्डिनु हो।
हिजोको ‘म’ र आजको ‘म’ लाई एउटै सम्झनु हो। यही अस्वस्थ ‘म’ भाव, यही अहङ्कार वेलावेला अरूको अवस्था बुझदै नबुझी विस्फोट हुन्छ, मान्छे रिसाउँछ। आफ्नै अनित्यताको बोध नहुँदा मान्छे सबै कुरा आफैंले भने जस्तो हुनुपर्छ भन्ने ठान्छ। आफूलाई पूर्ण, सग्लो देख्दा मेरो प्राथमिकता नै सर्वश्रेष्ठ हो भन्ने भान पर्छ।
ट्याक्सी ड्राइभरहरूको अन्तर्वार्तामा आधारित एउटा अनुसन्धान भएको थियो। त्यसले के देखायो भने ७० प्रतिशतभन्दा बढी चालकहरू आफ्नो सीपलाई औसतभन्दा माथि ठान्दा रहेछन्। तर, त्यो सम्भव हुन्छ र? साथीले चलाएको गाडीमा बस्दा पनि असजिलो ठाउँमा उफ्रिंदा ‘मैले चलाएको भए राम्रो हुन्थ्यो’ भन्ने लाग्न सक्छ।
यही कुरा सामाजिक मामिलामा पनि लागू हुन्छ। ‘मेरै तरीका ठीक,’ ‘मेरै दल राम्रो’, ‘मेरै गुरु महान्’ भन्ने लाग्छ। खेल हेर्न गएका मानिस आफ्नै टीमले जित्दा सब ठीक छ भन्छन्, अर्काले जित्यो भने ‘त्यहाँ पक्कै केही बदमासी गरे’ भन्न थाल्छन्। अन्तरनिर्भरतालाई नबुझ्दा सबै कुरालाई नियन्त्रण गर्न खोजिन्छ।
‘स्व’ को अर्को स्वस्थभाव पनि हुन्छ। सदा परिवर्तनशील ‘म’ देख्दा घरमा परिवारको सदस्य भइन्छ, काममा सहकर्मी, हाकिम वा कर्मचारी। बाल्यकालको ‘म’ र अहिलेको ‘म’ लाई फरक देख्न थालिन्छ।
आफूलाई अविभाज्य सग्लो रूपमा होइन, विभिन्न अंशको योगका रूपमा देख्नु पनि स्वस्थ ‘म’ भाव हो। ‘मलाई मेरो शिक्षा, परिवार, साथी, कम्पनी, मन, अनुभव, आवश्यकता आदि धेरै कुराले बनाएका हुन्। धेरै अंश मिलेर ‘म’ बनेको छु’ भन्ने बोधबाट आएको ‘म’ स्वस्थ हो।
अन्तरनिर्भरतालाई स्विकार्दा या सबै कुरा आफ्नो हातमा हुँदैन भन्ने बुझ्दा करुणाको उदय हुन्छ। तब सम्यक् स्मृतिमा रहिन्छ, प्रज्ञा झुल्किन्छ। यो बुझाइ सहितको ‘म’ भाव पनि स्वस्थ हुन्छ।
सबभन्दा भित्री तहमा हुने ‘म’ पारिको ‘म’ चाहिं शून्यता हो। शून्यताको अर्थ रिक्तता होइन। यो त अपरिमित सम्भावना हो जहाँ जे पनि उत्पन्न हुन सक्छ। यो तहको ‘म’ का दुई स्वभाव हुन्छन्। एक- समय, पञ्चभूत, स्व-पर भावभन्दा पारिको। दुई- जहाँ जे पनि उत्पन्न, परिवर्तित र विलय हुने सम्भावना हुन्छ। अब कुरा आउँछ- त्यो निरन्तरता चाहिं केको हो त? अस्वस्थ ‘म’ त छँदै छैन, अवधारणामा मात्र रहने कुरा हो त्यो। त्यसको त निरन्तरता हुने कुरै भएन।
स्वस्थ ‘म’ भने निरन्तर परिवर्तित भइरहेको हुन्छ। चेतनाको त्यो प्रवाह र शरीर संरचित गर्ने भौतिक सूक्ष्म कणहरूको परिवर्तनशीलता पनि जारी रहन्छ। जसरी खोलामा सधैं उही पानी नरहे पनि हामी त्यही खोला हो भन्छौं, चेतना र भौतिक सूक्ष्माणुहरूको निरन्तरता पनि त्यसरी नै कायम रहने हो।
त्यो चाहिं स्वस्थ ‘म’ हो, होइन त रिम्पोछे?
हो, त्यो स्वस्थ ‘म’ हो। तर, यो पनि सापेक्षिक तहकै कुरा हो। साँच्चै सत्यको तहमा जुन ‘म’ हुन्छ, त्यो त शून्यता हो। जहाँ जेको पनि उद्भव, परिवर्तन र विलय सम्भव छ।
(हिमाल मासिकको पुस अङ्कमा प्रकाशित।)