एमसीसी छिटै संसद्बाट पारित हुन्छ : गृहमन्त्री खाँण
नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना एमसीसी छिटै संसद्बाट पारित हुने बताएका छन्।
जनकपुरमा मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले यसलाई अघि बढाउनु सरकारको दायित्व भएको बताए। “एमसीसी अघिल्ला सरकारहरूका पालामा अघि बढेको हो। नेपालको विकासका लागि अघिल्ला सरकारहरूले सम्झौता गरेकाले एमसीसी अगाडि बढाउनु सरकारको दायित्व हो,” खाँणले भने।
सबै दलको सहमतिमै यो संसद्बाट पारित हुने उनको भनाइ थियो। “एमसीसीका विषयमा केही भ्रम फैलाइएको छ, ती सबै भ्रम हटाएर पारित गर्छौं,” उनले भने।
एमसीसीलाई लिएर सत्तारूढ दलबीच कुनै विवाद नरहेको उनको भनाइ थियो। एमसीसीलाई लिएर गठबन्धन टुट्ने भन्ने कुरा निराधार भएको उनको जिकिर थियो।
गृहमन्त्री खाँणले भने, “एमसीसी कुनै ऋण होइन, यो निशर्त अनुदान हो, गठबन्धनका दलहरूको सहमतिका आधारमा यो पारित हुन्छ।”
यस विषयमा छलफल चलिरहेको उनले बताए। तर, कहिलेसम्म पारित हुन्छ भन्ने प्रश्नमा उनले छिटै पारित हुने प्रतिक्रिया दिए।