एनएमबी ब्यांक सुपर काबेलीको मुख्य लगानीकर्ता
एनएमबी ब्यांकले १३.५ मेगावाटको सुपर काबेली खोला ‘ए’ जलविद्युत् आयोजना र १२ मेगावाटको सुपर काबेली खोला क्यासकेड जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ।
ताप्लेजुङमा पर्ने सुपर काबेली खोला ‘ए’ र सुपर काबेली खोला क्यासकेड जलविद्युत् आयोजना क्रमशः स्नो रिभर्स प्रालि र हिल्टन हाइड्रो इनर्जी प्रालिले निर्माण गरिरहेका छन्।
यी आयोजनामा एनएमबी ब्यांक मुख्य लगानीकर्ता र सहवित्तीयकरणमा राष्ट्रिय वाणिज्य ब्यांक सहभागी भएको छ।
सुपर काबेली खोला ‘ए’ जलविद्युत् आयोजनाको लागत रु.२ अर्ब ४१ करोड हुनेछ। त्यस्तै, सुपर काबेली खोला क्यासकेड जलविद्युत् आयोजनाको लागत रु.२ अर्ब १४ करोड हुने जनाइएको छ।
जसमध्ये ब्यांकहरूको लगानी क्रमशः रु.१ अर्ब ८९ करोड र रु.१ अर्ब ६७ करोड रहनेछ। यी आयोजना समेत गरेर एनएमबी ब्यांकले ४३ जलविद्युत् आयोजनामा लगानी गरेको छ।