परीक्षण घट्दा पनि कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि
कोभिड-१९ को परीक्षण घट्दा पनि आज भने सङ्क्रमितको सङ्ख्या बढेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, सोमबार ४ हजार १४१ स्वाब परीक्षण गर्दा २२० जनामा सङ्क्रमण पुष्टि भएको छ। आइतबार ९ हजार ८७२ स्वाब परीक्षण गर्दा १८१ जनामा कोरोना देखिएको थियो।
सोमबार सङ्क्रमण पुष्टि भएकामध्ये २ हजार ७२५ जनाको पीसीआर परीक्षण गर्दा २१८ जनामा कोरोना देखिएको थियो। त्यस्तै, १ हजार ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आज कोरोनाबाट एक जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७४ पुगेको छ।
पछिल्लो २४ घण्टामा २६३ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या पनि आठ लाख ९ हजार १५५ पुगेको छ। अझै ५ हजार २२५ जना सक्रिय सङ्क्रमित छन्।
कोभिड–१९ विरुद्ध खोप लगाउनको सङ्ख्यामा भने कमी आएको छ। आज देशभर ८६ हजार ५९३ जनालाई खोप लगाइएको छ।
योसँगै पहिलो डोज लगाउनेको सङ्ख्या १ करोड २० लाख ९३ हजार ९८२ पुगेको छ। त्यस्तै, ९६ लाख ४६ हजार ७२० जनाले पूर्ण खोप लगाइसकेका छन्।