शिक्षकले नै गरे विश्वविद्यालय सेवा आयोगको कार्यालयमा तालाबन्दी
राजर्षि जनक विश्वविद्यालयको सेवा आयोगको कार्यालयमा शिक्षकले नै तालाबन्दी गरेका छन्।
विश्वविद्यालयकै शिक्षकरूले सोमबार आयोगको कार्यालयमा तालाबन्दी गरेका हुन्। उनीहरूले सेवा आयोगका अध्यक्ष प्रा.डा. शैलेन्द्र लाभको कार्यकक्ष, सदस्य र लेखाशाखामा तालाबन्दी गरेका छन्।
विश्वविद्यालयले उप-प्राध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान गरेपछि करारमा कार्यरत शिक्षकले तालाबन्दी गरेका हुन्। करार शिक्षकका माग सम्बोधन नगरी उपप्राध्यापकका लागि विज्ञापन गरिएकाले आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ।
स्थापनादेखि नै विश्वविद्यालयमा काम गर्दै आएको र कतिपय शिक्षकको उमेर समेत पार भइसकेकाले त्यसलाई ख्याल नगरी विज्ञापन आह्वान गर्नु ठीक नभएको करार शिक्षक संघका सभापति दिलीप यादवको भनाइ छ। करार शिक्षकहरू ६ महीनादेखि आन्दोलनमा छन्।
“हामी स्थापनाकालदेखि नै कार्यरत छौं। कैयौं साथीको उमेर समेत पार भइसकेको छ, सेवा आयोगले त्यसको कुनै ख्याल गरेन,” अध्यक्ष यादवले भने, “हामीले काम गरेबापत अनुभव प्राप्त गरेकोमा त्यसको कुनै मार्क नराखेपछि बाध्य भएर तालाबन्दी गरेका छौं।”
उपकुलपति, रजिस्ट्रार, सेवा आयोगका अध्यक्ष, सदस्यलाई जानकारी गराउँदा आश्वासन दिए पनि आज एक्कासि विज्ञापन आह्वान गरिएको उनको भनाइ छ। त्यसमा उमेर तथा अनुभवलाई पनि प्राथमिकता दिनुपर्ने उनीहरूको जिकिर छ।
राजर्षि विश्वविद्यालयले आज उपप्राध्यापक पदमा २१ वटा सीटका लागि विज्ञापन आह्वान गरेको छ। विश्वविद्यालयले जनस्वास्थ्य, कानून, कम्प्युटर एप्लिकेशन, अंग्रेजी, अर्थशास्त्र, तथ्याङ्कशास्त्र, गणित, व्यवस्थापन, कम्प्युटर इन्जिनियरिङ, भूगोल, हेमाटोलोजी लगायत विषयमा उपप्राध्यापक पदका लागि विज्ञापन आह्वान गरेको छ। यससँगै विश्वविद्यालयले ल्याब ब्वाईदेखि प्राविधिक अधिकृतसम्म १३ पदका लागि पनि विज्ञापन आह्वान गरेको छ।