आठ जिल्लाका बालबालिकालाई अर्को साता फाइजर खोप लगाइँदै
कोभिड-१९ विरुद्धको फाइजर खोप अर्को सातादेखि आठ जिल्लाका बालबालिकालाई लगाइने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर खोप लगाइने भएको हो। बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुलीमा खोप लगाइनेछ।
त्यस्तै, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको डडेल्धुरामा पनि फाइजर खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यी जिल्लामा १३ देखि २२ पुससम्म पहिलो डोज र ४ देखि १३ माघसम्म दोस्रो डोज लगाइने भएको छ।
यसअघि फाइजर खोप लगाइएका २० जिल्लामध्ये बाँकी १२ जिल्ला (झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, दाङ, बाँके र कैलाली)मा भने केही दिनमै मिति तय हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अहिले ५७ जिल्लामा मोडर्ना खोप लगाइँदै छ। ४ पुसदेखि शुरू गरिएको खोप अभियान अन्तर्गत १४ पुससम्म पहिलो डोज लगाइँदै छ। त्यसपछि २ देखि १२ माघसम्म मोडर्नाको दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मोडर्ना खोप लगाइरहेका जिल्ला:
प्रदेश १ : ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर।
प्रदेश २ : सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा।
बागमती प्रदेश : दोलखा, सिन्धुपाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर।
गण्डकी प्रदेश : गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत।
लुम्बनी प्रदेश : रुकुम पूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया।
कर्णाली प्रदेश : डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यान।
सुदूरपश्चिम प्रदेश : बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर।